हियाखोला लिफ्ट सिँचाई संचालनमा, ३१ हेक्टरमा सिँचाई सुविधा विस्तार

जुम्ला । तातोपानी गाउँपालिका वडा नं. ६ स्थित हियाखोला लिफ्ट सिँचाई आयोजना संचालनमा आएको छ । २०७९ को भिषण बाढी पहिरोले क्षति ग्रष्त भएपछि बिग्रिएको उक्त लिफ्ट सिँचाई संचालनमा आएको हो । २०७९ मा संघिय सरकारको ८८ लाख बढी लगानीमा निर्माण भएको उक्त लिफ्ट सिँचाई असोजमा आएको बाढीले क्षति पुराएको थियो ।

गाउँपालिकाले आयोजना मर्मतको लागि प्रथामिकता दिएर काम गरेपछि हाल लिफ्ट सिँचाई संचालनमा आएको छ । पानी अभावले खेती योग्य जमिन बाँझिदै गएको,धान रोपेका खेतहरु चिरा परेको अबस्थामा तिलाबाट करिब दुई किलोमिटर मिटर उचाईमा रहेका हियाँखोला गाउँमा पानी पुराइएको छ ।

उक्त आयोजनाबाट हियाँखोला गाउँको करिब १४.४ हेक्टर धान खेती हुने जग्गा र करिब १६.६२ हेक्टर स्याउ खेती हुने जग्गामा सिँचाई सुविधा विस्तार हुने तातोपानी गाउँपालिकाका ईन्जिनियर डिल्ली बुढाले बताए ।

उनले भने,‘तिला नदीदेखि आर.भी.टी सम्मको उचाइ हेड २५० मिटर छ । तिला नदीदेखि हियाखोला ट्याङ्कीसम्मको दूरी जिआइ पाइप १७ सय ९५ मिटर छ । भने एचडीपिई पाईप २५० मिटर गरी कूल २ हजार ४५ मिटर लामो पाइप लाइनबाट हियाँखोलामा पानी पुराइएको छ । जसमा २० एचपीको पम्प प्रयोग भएको छ । अब हियाखोला गाउँले सिँचाई अभाव भोग्नु पर्ने छैन् ।’

दिउँसको समयमा सोलार बाट र अन्य समयमा विद्युत मार्फत लिफ्ट सिँचाई आयोजना २४ सै घण्टा संचालनमा रहने ईन्जिनियर बुढाले जानकारी दिए । २०७९ को बाढीले पम्पमा सेडिमेन्ट जम्मा भई बिग्रिएको थियो । हाल पालिकाले मर्मत गरी संचालनमा ल्याएको हो ।

खेती योग्य जमिन प्रसस्त भएपनि सिँचाई सुविधा नहुँदा त्यहाँका किसानले सास्ती पाएका थिए । लिफ्ट सिँचाई आयोजना निर्माण भएपछि उत्साहित हियाखोलाका किसानले बाढीले आयोजनामा क्षति गरेपछि निरास थिए ।

तर गाउँपालिकाले विशेष प्रथामिकता दिएर पुर्ननिर्माण गरी संचालनमा ल्याउँदा हियाखोलाबासी खुसी छन् । केही समय जुम्लामै पहिलो विद्युत मार्फत २५० मिटर उचाईमा नियमित पानी आउने गरी लिफ्ट संचालन गरेको तातोपानीले हाल तिला नदीबाट २ हजार ४५ मिटर उचाईमा अबस्थित हियाखोलामा पाईप विस्तार गरेर लिफ्ट मार्फत पानी पुराएको छ ।

तातोपानी गाउँपालिका लेखापाल शिवराज न्यौपानेले हियाखोला लिफ्ट सिँचाई आयोजनाका लागि २०७९ मा संघिय सरकार सर्शत अनुदान चालु तर्फ एक करोड विनियोजन भएको बताए । उनका अनुसार काम सम्पन्न भएपछि २०७९ असार २५ गते ८८ लाख ३३ हजार ७४० रुपैयाँ भुक्तानी भएको छ । हाल सोलार बाट संचालनमा ल्याइएको लिफ्ट सिँचाई आयोजनालाई चाडै विद्युतबाट संचालन गर्ने तयारी भईरहेको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए ।

उनले भने,‘हाम्रो उर्वर भुमि सिँचाई बिना बाँझो रहनु दुखद पक्ष हो । भौगोलिक रुपमा विकट बस्तीहरुमा पानीको अभाव छ । लिफ्ट सिँचाईको विकल्प छैन् । यस्तै समस्यालाई मध्यनजर गरी २०७९ सालमा हियाखोला लिफ्ट सिँचाई निर्माण भएको हो । बाढीले क्षति पुराएर बन्द भएपनि अहिले संचालनमा आएको छ । यसको दिगो व्यवस्थापन र संचालनमा पालिका र तथा स्थानीयले ध्यानदिनु पर्छ ।’

प्रकाशित मिति : २०८२ साउन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस