जुम्ला । उत्पादन बढाउन तथा रोजगारी सृजनाका लागि हरित उद्यमशीलता प्रर्बद्धनमा गर्नुपर्नेमा जुम्लाका सरोकारवालाले जोड दिएका छन् । प्राकृतिक स्रोतको संरक्षणसंगै उपभोग र परिचालन तथा मौसमअनुसार खेतीपाति गरेर उत्पादन बृद्धिसंगै आम्दानी बढाउन हरित उद्यमशीलता प्रर्बद्धन गर्न जरुरी रहेकोमा जोड दिएका हुन् ।
जुम्लाको तातोपानी गाउँपालिकामा शुक्रबार आयोजित हरित उद्यमशीलता प्रर्बद्धनका लागि किसान तथा उद्यमीलाई वित्तिय संस्था र बजारसंग समन्वय स्थापना कार्यक्रममा हरित उद्यमीलता प्रर्बद्धन,हरित अर्थतन्त्र विकास,रोजगारी सृजना देखी उत्पादन बृद्धिका विषयमा बृहत्त छलफल गरिएको छ ।
जसमा तातोपानी गाउँपालिका वडा नं. १ का यूवा उद्यमी परान धरालाले हावापानी अनुकूल र बजारको माग अनुसार उत्पादन गरेमा बजारको अभाव नहुने बताए । उनले एक सिजनमा टमाटर मात्रै २० लाख बराबरको विक्री गरेको सुनाए । उनले भने,‘म डेढ दशकदेखी व्यवसायीक तरकारी खेतीमा छु । म मेरो व्यवसायबाट सन्तुष्ट छु । सिप र प्रविधि पनि आफै संग छ । त्यसैले तरकारी खेतीमा दुखसंगै आम्दानी पनि राम्रो छ ।’
उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पूरिचन्द्र देवकोटाले जल,जमिन,जडिबुटि जंगलको उचित सदुपयोग तथा संरक्षण गरी हरित अर्थतन्त्रको विकास र हरित उद्यमशीलता विकासमा जोड दिनु पर्ने बताए । तातोपानी सहयात्रा तेस्रो परियाजनाले हरित उद्यमशीलता विकासमा गरेको काम उदाहरणीय भएकाले यसको निरन्तरता स्थानीय सरकारले दिनुपर्ने उनको भनाई छ ।
त्यस्तै तातोपानी गाउँपालिका कृषि शाखा प्रमुख दिपा पौडेल,जिल्ला सहकारी संघका अध्यक्ष रिसिराम पाण्डे,नागरिक समाजका अध्यक्ष प्रेम अधिकारी,पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाई लगायतले हरित अर्थतन्त्र र उद्यमशीलता समृद्धीको मुख्य आधार भएको बताए ।
तातोपानीले यूवालाई हरित उद्यमशीलता संग जोडेर गरेको काम अनुसरण योग्य रहेको पाण्डेले बताए । उनले भने,‘बजार अभावमा सामान नराख्नुहोस् । बजारको जिम्मा चन्दननाथ सहकारीले लिन्छ । ईमानदारिताका साथ वाताबरणसंगै हरित उद्यमशीलतामा जुट्नुहोस् बजारको जिम्मा हामी लिन्छौ ।’
कार्यक्रममा यूवा उद्यमी, कृष्ण नेपाली, सन्तोष कठायत,ललिता कठायत,सपना नेपाली लगायतले उत्पादनले बजार नपाउने र व्यवसाय विस्तार गरौ भनेपनि सहजै कर्जा नपाउने समस्या रहेको गुनासो पोखे । उद्यमी कृष्ण नेपालीले भने,‘हामीले उत्पादन गरेका छौ । बजार र मुल्य छैन् । २० रुपैयाँमा टमाटर विक्री गर्न बाध्य छौ । बैंक वित्तिय क्षेत्रले ऋण पत्याउँदैन् । पहुँचवालाले मात्रै सुविधा पाएका छन् । कसरी यूवा उद्यममा लाग्ने ?’
देशको अर्थतन्त्रलाई बलियो बनाउने मुख्यआधारनै हरित अर्थतन्त्र भएकोले यूवालाई हरित उद्यमशीलतामा जोड्ने कार्यक्रम ल्याएकोमा तातोपानी गाउँपालिका कार्यबाहक अध्यक्ष गोर्कण रावलले सहयात्रा परियोजनालाई धन्यबाद दिए । हरित उद्यमीलता र अर्थतन्त्र विकासका लागि तरकारी खेती मात्र नभई वन जंगल,वनपैदावार,जडिबुटि,जमिनको संरक्षण र प्रर्बद्धनमा समेत काम गर्नुपर्नेमा उनले जोड दिए ।
परियोजना संयोजक (जलवायू) दिपेश आर्चायले हरित उद्यमशीलता प्रर्बद्धनका लागि सहयात्रा तेस्रो परियोजनाले बहुआयामिक क्षेत्रमा काम गर्दै आएको बताए । उनका अनुसार जलवायू परिवर्तन सम्बन्धि क्रियाकलाप,हरित विद्यालय कार्यक्रम,जलवायू न्याय गाउँ घोषणा,हरित रोजगार प्रर्वद्वन यूवा तथा बालबालिकालाई समेत जलवायू अनुकुलनका गतिविधिमा जोड्ने लगायतका गतिविधि संचालन भईरहेको उनको भनाई छ । उनका अनुसार तातोपानी–२ को सुन्दरगाउँ चाडै जलवायू न्याय गाउँ घोषणा हुदैँ छ ।
भने परियोजनाले २९ विद्यालयमा हरित विद्यालय कार्यक्रम संचालन,एकसय किसानलाई तालिम,४० जनालाई लघुउद्यम तालिम,७४ घरपरिवालाई ग्रिन हाउस वितरण लगायतका काम गरेको उल्लेख गरे । साथै किसान र उद्यमीलाई वित्तिय संस्थासंग जोडेर हरित उद्यमशीलताका लागि सहजै कर्जा लगानीको वातारण सृजना गर्न खोजिएको बताए । नेपाल सरकारलेनै हरित अर्थतन्त्र विकासमा प्रथामिकता दिएको अबस्थामा सहयात्रा परियोजनाले तातोपानीमा निरन्रता दिएको छ ।
साथै कार्यक्रममा उपस्थित छिमेकी लघुवित्त तथा एनआईसी एसिया लघु वित्तका प्रतिनिधिले कृषि क्षेत्रमा करोडौ लगानी गरेको बताए । जसमा छिमेकी लघुवित्तले जुम्लाको कृषि क्षेत्रमा १० करोड ३३ लाख र एनआईसी एसिया लघुवित्तले १४ करोड ३८ लाख बढी रकम कृषि क्षेत्रमा लगानी गरेको छ । जनु प्रयोजनका लागि ऋण लिएको त्यसका लागि भन्द विलासिताका क्षेत्रमा खर्च गर्ने प्रबृत्तिले लगानी अनुसारको प्रतिफल आउन नसकेको बैंक तथा वित्तिय क्षेत्रले बताएका छन् ।



