जुम्ला । जुम्लामा साउन २ गतेदेखी स्याउ संकलन तथा निर्यात खुला गरिएको छ । विगतको निर्णयलाई उल्टाउँदै सोमबार बसेको सर्वपक्षिय बैठकले स्याउ संकलन तथा निर्यात खुला गर्ने निर्णय गरेको हो । गत साउन २ गते जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित समिक्षा कार्यक्रममा जुम्लाबाट भदौ १५ गते भन्दा अघि स्याउ टिप्न नपाईने निर्णय गरिएको थियो ।
सोही अनुसार कृषि विकास कार्यालयले साउन ९ गते जुम्लाका आठै स्थानीयतहलाई पत्राचार गरेपछि काँचो स्याउ संकलनमा समेत कडाई गरेका थिए । यति सम्मकी साउन २७ गते पातारासी गाउँपालिकाले संकलन गरी निर्यात गर्नै लागेको स्याउ समेत जफत गरेको थियो ।
कृषि विकास कार्यालय र स्थानीयतहले यस वर्ष निकै कडाई गरेपछि काँचो स्याउको निर्यात रोकिने र अर्गानिक जुम्लाकेो पहिचान कायम रहने आशा गरिएको थियो । तर सोमबार जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायको सभाध्यक्षतामा बसेको बैठकले भने साउन २ को निर्णय उल्टाउँदै भदौ २ गतेबाटै जुम्लाको स्याउ संकलन तथा निर्यात गर्न दिने निर्णय गरेको हो ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जुम्लाको तातोपानी र तिला क्षेत्रको स्याउ परिपक्क भईसकेको र गुलियोपना पनि भरिसकेकाले संकलन गर्न दिने निर्णय भएको बताए । उनले भने,‘भदौ १५ गतेअघि स्याउ टिप्न नदिने निर्णय भएपनि स्याउ पाकी सकेपछि किसान र व्यापारीको मागलाई मध्यनजर गरी संकलन सुरु गरिएको हो । अन्य क्षेत्रभन्दा तिला र तातोपानीको स्याउ टिप्न योग्य भईसकेको छ ।’
जुम्ला जिल्लाको तल्लो भौगोलिक स्थानमा उत्पादित स्याउ छिटो पाक्ने भएको हुँदा सबैको सहमतिनुसार भदौँ २ गते देखी स्याउ टिपी विक्री वितरण गर्ने प्रयोजनको लागी सम्वन्धित स्थानिय तहको कृषि विकास शाखाको सिफारिसमा स्याउ टिप्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताए ।
तल्लो क्षेत्रलाई मात्र लक्षित गरी स्याउ संकलन खुला गरिएको भनिएपनि यही मौकामा चन्दननाथ नगरपालिका,पातारासी गाउँपालिका गुठिचौर गाउँपालिका लगायत अन्य स्थानीयतहको स्याउ पनि रातारात संकलन तथा निर्यात हुने निश्चित भएको छ ।
यसैबीच गत साउन २७ गते निर्यात गर्दै गर्दा पातारासी गाउँपालिकाले जफत गरेको काँचो स्याउको निर्यात पनि फुकुवा गर्ने निर्णय भएको छ । पातारासी गाँउपालिका स्थित उर्थु प्रहरी चौकीले तीन क्वीईन्टल स्याउ जफत गरेको थियो ।
त्यस्तै किसानलाई स्याउ प्याकिङका लागि कृषि विकास कार्यालयले अनुदानमा ‘जुम्ला एप्पल’ लेखिएको कार्टुन वितरण गर्दै आएको छ । यस वर्ष पनि अनुदानका कार्टुन वितरण गर्ने कोटेशन खोल्ने तयारी भईरहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
कार्टुन खरिदका लागि ६ लाख विनियोजन भएको छ । आर्थिक वर्ष २०८०÷८१ म समयमै कार्टुन खरिद नगर्दा १० लाख बजेट फ्रिज भएको थियो । यस वर्ष समयमै खरिद गरी अनुदानको कार्टुन वितरण गर्न किसानले माग गरेका छन् ।
यता व्यापारी कालो कामीले भने स्याउ संकलन र निर्यात गर्न पाउने निर्णय गरेपनि अविरल वर्षाका कारण कर्णाली राजमार्ग ध्वष्त भएकाले गत वर्ष जस्तै करोडौका स्याउ बाटोमै कुहिने जोखिम रहेको बताए । ढुवानीमा सहुलियत लगायतका सुविधा राज्यले नदिँदा किसान व्यापारी मारमा पर्ने गरेका छन् ।



