जुम्ला । संघियता कार्यान्वयन पछि गाउँ गाउँमा विकाससंगै स्थानीयतहमा आर्थिक अनियमितताको ग्राफ पनि बढ्दै गएको छ । आर्थिक ऐन कार्यविधि भन्दा माथि उठेर मनमर्जी रुपमा खर्च गर्ने प्रबृत्तिले स्थानीय तहमा आर्थिक अनियमितता मौलाउँदै गएको देखिन्छ ।
महालेखा परिक्षकको कार्यालयले हरेक वर्ष सार्वजनिक गर्ने प्रतिवेदनले स्थानीयतहमा आर्थिक सुशासनको पाटो निकै कमजोर रहेको औल्याउँदै समेत आएको छ । विल भन्दा बढी भुक्तानी दिने,कागजात विल भरपाई बिनै भुक्तानी दिने, नियम विपरित सेवा सुविधा दिने,असुल उपरमा चासो नदिने, जस्ता समस्याले स्थानीयतहमा आर्थिक सुशासन कमजोर हुदैँ गएको र बेरुजु रकम बढ्दै गएको छ ।
जसले गर्दा जनप्रतिनिधि र कर्मचारीको कार्यसम्पादन तथा सेवा प्रवाह माथि गम्भीर प्रश्न समेत खडा भएको स्थिती छ । आर्थिक सुशासन कायममा ध्यान नदिएकै कारण जुम्लाका एक नगरपालिका र सात गाउँपालिका सहित आठ स्थानीयतहको अद्यावधिक बेरुजु २४७ करोड भन्दा बढी नाघेको छ ।
स्थानीय सरकार संचालन भएको आठ वर्ष भयो । यो बीचमा विकास निर्माणले गाउँ गाउँ छोएको छ । सेवा प्रवाह गाउँमै पाएका छन् । तर आर्थिक पारदर्शितामा कमजोरी बढ्दा स्थानीय तह प्रतिको असन्तुष्टी पनि बढ्दै गएको अबस्था छ ।
कुन पालिकाको कति बेरुजु ?
आर्थिक वर्ष २०८०÷०८१ को महालेखा परिक्षकको प्रतिवेदन अनुसार जुम्लाका आठ स्थानीयतहको स्थानीय सरकार संचालन भएदेखी हालसम्मको अद्यावधिक बेरुजु २ अर्ब ४७ करोड ६७ लाख ७० हजार रहेको छ । जसमा सबैभन्दा बढी अद्यावधिक बेरुजु तिला गाउँपालिकाको छ । तिला गाउँपालिकाको कूल ४३ करोड ९० लाख ५१ हजार अद्यावधिक बेरुजु रहेको तथ्यांकमा प्रतिवेदनमा उल्लेख छ ।
तिलाले आर्थिक वर्ष २०८०÷०८१ मा १ अर्ब १ करोड ४६ लाख ६२ हजारको लेखा परीक्षण गर्दा ४ करोड ५२ लाख ७४ हजार बेरुजु देखिएको हो । जसमा प्रतिक्रियाबाट १९ लाख ४४ हजार फस्र्यौट हुँदा बाँकी बेरुजु ४ करोड ३३ लाख ३१ हजार बेरुजु कायमै छ ।
भने, असुल गर्नुपर्ने ३२ लाख ९५ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने २ करोड ३ लाख ५२ हजार, नियमित गर्नुपर्ने १ करोड ८९ लाख ६७ हजार र पेस्की बाँकी ७ लाख १७ हजार रहेको छ । आर्थिक वर्ष २०७९÷०८० सम्म ३९ करोड ५७ लाख २० हजार बेरुजू बाँकी रहेकोमा आर्थिक वर्ष २०८०÷०८१ सम्मको अद्यावधिक ४३ करोड ९० लाख ५१ हजार कायम छ ।
त्यसैगरी जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकामा पनि अद्यावधिक बेरुजु चुलिदै गएको छ । आर्थिक वर्ष २०८०÷०८१ म कूल एक अर्ब २६ करोड ८१ लाख २९ हजारको लेखा परीक्षण गरेको चन्दननाथको तीन करोड १४ लाख ७६ हजार बेरुजु देखिएको छ ।
जसमा सात लाख ४९ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने एक करोड ७८ लाख ५५ हजार, नियमित गर्नुपर्ने एक करोड २५ लाख ८७ हजार र पेस्की बाँकी दुई लाख ८५ हजार रहेको छ । भने अघिल्लो आ.व. २०७९÷८० सम्म चन्दननाथ नगरपालिकामा ३७ करोड १६ लाख ५५ हजार बेरुजू रहेकोमा १४ लाख १२ हजार फस्र्योट हुँदा आर्थिक वर्ष २०८०÷०८१ सम्मको अद्यावधिक बेरुजु ४० करोड १७ लाख १९ हजार पुगेको छ ।
उता कनकासुन्दरी गाउँपालिकाले एक वर्षमा तीन करोड ९९ लाख ५४ हजार बेरुजु थपेको छ । उक्त गाउँपालिकाको ९८ करोड ६१ लाख ३० हजारको लेखा परीक्षण गर्दा झण्डै ४ करोड बेरुजू आएको हो । जसमा प्रमाण कागजात पेस गर्नुपर्ने ३७ लाख ७२ हजार, नियमित गर्नुपर्ने २ करोड ७२ लाख ३२ हजार र पेस्की बाँकी ६१ लाख ८३ हजार रहेको छ । भने आर्थिक वर्ष २०७९÷०८० सम्म २४ करोड ४० लाख ७३ हजार सहित आव.व. २०८०÷०८१ सम्म अद्यावधिक बेरुजु २८ करोड ४० लाख २७ हजार पुगेको छ ।
सिंजा गाउँपालिका जुम्लामा स्थानीय सरकार सञ्चालन यता अद्यावधिक बेरुजु ३७ करोड ७३ लाख १६ हजार रहेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा ८७ करोड ४६ लाख ९३ हजारको लेखा परीक्षण गर्दा ३ करोड ९९ लाख ९० हजार बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७९÷०८० मा उक्त गाउँपालिकाको अद्यावधिक बेरुजु ३३ करोड ७३ लाख २६ हजार रहेको थियो ।
यसैगरी, हिमा गाउँपालिका जुम्लामा हालसम्मको अद्यवधिक बेरुजु २७ करोड ८६ लाख पुगेको छ । जसमा गत आव.वमा ८९ करोड ४० लाख ८९ हजारको लेखा परीक्षण गर्दा ३ करोड ४६ लाख १५ हजार बेरुजु देखिएको छ । बेरुजुमध्ये असुल गर्नुपर्ने २५ लाख ७३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ६९ लाख ८३ हजार, नियमित गर्नुपर्ने २ करोड ४९ लाख ९ हजार र पेस्की बाँकी १ लाख ५० हजार रहेको छ । आ.व.२०७९÷०८० सम्म हिमामा २४ करोड ३९ लाख ८७ हजार सहित कूल अद्यावधि बेरुजु २७ करोड ८६ लाख २ हजार पुगेको हो ।
गुठीचौर गाउँपालिका जुम्लामा हालसम्मको अद्यावधिक बेरुजु १८ करोड ९६ लाख ७२ हजार रहेको छ । जबकी गुठिचौरले आ.व २०८०÷०८१ मा ७१ करोड १४ लाख ८५ हजारको लेखा परीक्षण गर्दा ४ करोड ३८ लाख ४३ हजार बेरुजु थपिएको छ । भने आव.२०७९÷८० सम्म गुठिचौरको १४ करोड ५८ लेख २९ हजार बेरुजू बाँकी रहेकोमा गत आ.वमा ४ करोड थपिएपछि अद्यावधिक बेरुजु १८ करोड ९६ लाख ७२ हजार पुगेको छ ।
यसैबीच तातोपानी गाउँपालिकाले कूल १ अर्ब ७ करोड १७ लाख ९७ हजारको लेखा परीक्षण गर्दा प्रतिक्रियाबाट ३ करोड ८१ हजार बेरुजु देखिएको छ । जसमा आर्थिक वर्ष २०७९÷०८० सम्म २१ करोड २५ लाख ७६ हजार बेरुजू बाँकी रहेकोमा आर्थिक वर्ष २०८०÷०८१ सम्मको सहित जोड्दा अद्यावधिक बेरुजु २४ करोड २६ लाख ५७ हजार रहेको हो । जिल्लामा तातोपानीले मात्रै बेरुजु फछ्र्यौटका लागि समिति गठन गरेर काम अघि बढाएको छ ।
पातारासी गाउँपालिकामा हालसम्मकै अद्यावधिक बेरुजु २६ करोड ३७ लाख ३४ हजार पुगेको छ । जसमा आ.व. २०७९÷०८० सम्म २२ करोड १५ लाख ५४ हजार बेरुजु बाँकी रहेको थियो । भने आ.व.२०८०÷०८१ मा ८९ करोड ९८ लाख २४ हजारको लेखा परीक्षण गर्दा ४ करोड २४ लाख १२ हजार बेरुजु थपिएपछि पातारासीको कूल अद्यावधिक बेरुजु २६ करोड बढी पुगेको हो ।



