सिंजा गाउँपालिकामा तालाबन्दी, सेवा प्रभावित

अध्यक्ष धिताल भन्छन् एउटा योजनाको बजेट बाहेक अरु सवै बजेट सहमति भएको हो । सनकका भरमा आन्दोलन गर्नुको कुनै औचित्य छैन

जुम्ला – सिंजा गाउँपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रमसहित बजेट गाउँसभा सदस्यको बहुमतले पारित भएपछि विवाद उत्पन्न भएको छ । यो विवाद लगातार एक महिनादेखि चलिरहेको छ ।
६ वटा वडा रहेको सिँजा गाउँपालिकामा ४ वटा वडाध्यक्ष बजेटको विपक्षमा छन् । पालिकामा जनप्रतिनिधि बीचको विवाद भन्दा पनि नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि एकातिर र त्यो इतरका सबै दलका जनप्रतिनिधि अर्कोतिर उभिएका छन् । बजेट पारीत गर्दा दुवै पक्षका १४÷१४ जना मात्रै उपस्थित थिए ।
गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले आफू बजेटको पक्षमा उभिएको भनेपछि बजेट पारीत भएको थियो । अध्यक्ष धिताल पनि माओवादी पार्टीबाट निर्वाचित हुन् । सिँजा गाउँपालिकाको गाउँसभामा १८ जना माओवादी केन्द्र र १६ जना अन्य पार्टीबाट निवाचित जनप्रतिनिधि छन् ।
गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को बजेट माओवादी पार्टीका कार्यकर्ता केन्द्रित हुनेगरी ल्याएको भन्दै चार जना वडाध्यक्ष सहितको टोलीले असहमति जनाएको छ । यो असहमति सहित गाउँपालिकामा विवाद चर्किदै आएको एक महिना बढी भयो । सहमति हुन सकेको छैन । गाउँपालिकामा विवाद चुलिदै जादा सार्वजनिक सेवा प्रभावित भएको छ ।
दैनिक आन्दोलन हुन थालेपछि उपाध्यक्ष सितली रोकायाको संयोजकत्वमा वार्ता समिति बनेको थियो । उनीसँगै पालिकाका प्रवक्ता तथा सिँजा २ का वडाध्यक्ष तिर्थ वड र ३ का वडाध्यक्ष सुरतबहादुर रावत सदस्य छन् ।
९ भदौँमा आन्दोलनरत पक्ष र वार्ता टोली बीच बसेको बैठकले विवाद समाधान गर्न नसकेपछि बुधबार पालिकामा ताला लागेपछि कामकाज प्रभावित बनेको छ । बिहानै १० बजेदेखि नै कार्यालयमा ताला लागेकोले नियमित काम प्रभावित भएको छ । असार ३१ गते पारित भएको बजेट संशोधन नहुँदासम्म ताला नखोल्ने आन्दोलनरत पक्षले चेतावनी दिएका छन् ।
आन्दोलनरत पक्षले बजेटमा बहुमतको दम्भ देखाएको, समान बजेटको व्यवस्थापन हुन नसकेको, कार्यकर्ता पोस्याउने बजेट ल्याएको, टोलस्तरीय बजेटको व्यवस्था नभएको र सबै तहका शिक्षक र स्वास्थ्यकर्मीको व्यवस्थापन हुन नसक्दा प्रभावकारी रुपमा सेवा प्रवाह हुन नसकेको आरोप लगाएका छन् । उत्पादनमुलक बजेटको मागसहित आफूहरु आन्दोलनमा उत्रिएको सिँजा ६ का वडाध्यक्ष लालबहादुर बुढाले बताए । ‘पहिले सहमति अनुसार नै बजेट बनेको थियो,’ वडाध्यक्ष बुढाले भने, ‘पछि माओवादी नेता कार्यकर्ता बसेर आफू अनुकुलको कार्यकर्तालाई फाइदा पुग्ने बजेट ल्याए । अनि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको हो ।’
‘बजेट बनाउनुअघि नयाँ सडक खन्दा पालिकाकै डोजर प्रयोग गर्ने, डोजरमा चाहिने तेलको प्रबन्ध गर्ने गरी बजेट ल्याउने सहमति थियो,’ वडाध्यक्ष बुढाले, भने । आन्दोलनरत पक्षले नेपाली कांग्रेस गाउँपालिका समितिका सभापति गोविन्द शर्माको नेतृत्वमा ५ सदस्यीय संघर्ष समिति गठन गरेको छ ।
गाउँपालिका अध्यक्ष धितालले भने, जनपक्षिय नीति तथा कार्यक्रम र बजेट गाउँ सभाबाट पारित भएको छ । पारित भइसकेको बजेट संशोधन हुदैन । सवै टुंगिएको विषयमा विवादमा ल्याउन आवश्यक छैन । उनले भने, १५ लाख बजेटको सडकको विषयमा मात्रै उनीहरुको असहमति थियो । उनीहरुले अरु सवै कुरामा सहमति जनाएका हुन् । अहिले सवै गतिविधि सनकको भरमा गरिएको हो ।

प्रकाशित मिति : २०८२ भाद्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस