जुम्लामा ८२५ उत्पादनमुखी उद्योग खारेज, संकटमा उद्यमी

जुम्ला । जुम्लामा उत्पादनमुखी उद्योग खारेजी हुने क्रम बढ्दै गएको छ । रोजगारी सृजना, आर्थिक समृद्वी र उत्पादित वस्तुको प्रशोधन तथा बजारीकरण गर्ने लक्ष्य सहित दर्ता भएका उद्योग धमाधम खारेज हुन थालेका छन् ।

अनुदानको लोभमा धमाधम उद्योग दर्ता गरेपनि पछिल्लो समय अनुदानमा कडाई हुन थालेपछि उद्योग खारेजी तथा बन्द हुने क्रम बढेको हो । च्याउ जस्तै वर्षेनी दर्ता हुने उद्योगले नत प्रशोधन तथा उत्पादन गर्न सकेका छन् । नत रोजगारी सृजनामै टेवा पुराएका छन् ।

जुम्लामा निर्वाहमुखी, नाफामुखी, व्यावसायीकमैत्री र उत्पादनमुखीभन्दा अनुदानमुखी उद्योग बढी छन् । अनुदान लिन उद्योग दर्ता गर्ने र अनुदान सकिएसँगै उद्योग बन्द गर्ने प्रवृत्तिले नत उत्पादन वृद्धि भएको छ । नत रोजगारी सृजना बृद्धि भएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको तथ्यांक अनुसार उत्पादन तर्फ दर्ता भएका कूल उद्योग मध्य हाल सम्म ८ सय २५ वटा उद्योग खारेजी भएका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका कार्यालय प्रमुख मन्दिरनाथ योगीले अनुदान पाउन छोडेपछि उद्योग खारेजी र बन्द हुने क्रम बढेको बताए ।

उनका अनुसार कूल दर्ता भएका उद्योग मध्य हाल सम्म ८२५ उत्पादनमुखी उद्योग खारेज भएका छन् । भने कारोबारनै नगरेका, उत्पादन प्रशोधनको काम समेत ठप्प गरेका तर कानुनी रुपमा खारेज नगरेका बन्द अबस्थामा रहेका एक हजार पाँच सय ३५ उद्योग छन् । अघिल्लो वर्ष २०८०÷८१ मा ८१ वटा उत्पादनमुखी उद्योग खारेज भएका थिए । भने गत आ.व २०८१÷८२ मा सम्म खारेजी संख्या ८२५ पुगेको छ ।

हालसम्म जुम्लामा कूल ७ हजार ६८२ वटा उद्योग दर्ता रहेका छन् । जसमा उद्योग उत्पादन तर्फ ४ हजार ४१७ र बाणिज्य उद्योग तर्फ ३ हजार २६५ उद्योग दर्ता रहेका छन् ।जसमध्य हाल ६ हजार १४७ उद्योग मात्रै संचालनमा रहेका छन् ।
त्यसमा पनि उत्पादनमुखी उद्योग दर्ता भएका ४४ सय १७ उद्योगमध्य भने ३ हजार ६९ उद्योग संचालनमा हुँदा १३ सय ४८ उद्योग बन्द भएका छन् ।

त्यस्तै बाणिज्य उद्योग तर्फ जम्मा दर्ता भएका ३२ सय ६५ उद्योग मध्य ३ हजार ७८ उद्योग संचालनमा छ । भने १ सय ८७ वटा उद्योग बन्द भएका छन् । यसरी हाल सम्म १५ सय ३५ उद्योग बन्द भएका छन् । ८२५ उत्पादनमुखी उद्योग खारेज भएपछि जुम्लामा उत्पादन भएपनि प्रशोधनको अबस्था कमजोर रहेको देखिएको छ ।

संघीयता कार्यान्वयनको सुरुवातमा हचुवाका भरमा अनुदान दिने गरिएको थियो । नेता,सांसद र मन्त्रीका नजिककाले सहजै अनुदान पाउने भएपछि धमाधम उद्योग दर्ता गरे । पछिल्ला वर्षमा वास्तविक उद्यमी भन्दा नक्कली उद्यमीले बढी अनुदान पाएको गुनासो बढेपछि केहिहत सम्म अनुदान वितरणमा कडाई गर्दा उद्योग खारेजी तथा बन्द हुने क्रम ह्वात्तै बढेको प्रमुख योगीको भनाई छ ।

उद्योग खारेजीका लागि अनिवार्य रुपमा दैनिक पत्रिकामा ३५ दिने सूचना छपाउनु पर्ने व्यवस्था भएनुसार दैनिक २÷३ जना सूचना छाप्न आईरहेको जुम्लाका पत्रिका संचालक मानदत्त रावलले बताए । अझै नक्कली नामका मात्र उद्यमीले अनुदान पाउने प्रबृत्तीले वास्तविक उद्यमी संकटमा परेका छन् ।

कृषि विकास कार्यालय,पशु सेवा कार्यालय,राष्टिय कृषि आधुनिकीकरण कार्यक्रम,डिभिजन वन कार्यालय,उद्योग तथा उपभोक्ता हित कार्यालय लगायतबाट अनुदान दिईन्छ । त्यहाँबाट प्रदान गरिने अनुदानमा वास्तविक उद्यमी छुटेका छन् । कोही दोहोरिएका छन् ।

उद्यमी नारायणी चौलागाँईले अनुदान वितरण पारदर्शी नहुँदा वास्तविक उद्यमी संकटमा परेको बताईन् । उनले भनिन,’कोहि व्यक्ति दोहोरो रुपमा अनुदान पाईरहेको हुन्छ । कसैले एकपटक पाउदैन् । प्राप्त सूचना प्रशारण नहुँदा पनि निश्चित टाठाबाठा मात्रै लाभान्वित हुने समस्या छ । यसले जुम्लाको ओैधोगिक विकासमा चुनौती थपेको छ ।’
अनुदान वितरण पारदर्शी हुनु पर्नेमा जोड ।

जुम्लाका उद्यमीहरुको नेतृत्व गर्ने अबसर जुम्लाका दुई महिलाले पाएका छन् । नेपाल घरेलु तथा उद्योग महासंघ जुम्लाकी अध्यक्ष भृकुटी नेपालीले जुम्लामा बढ्दो उद्योग खारेजी र बन्दलाई रोक्न नीतिगत पहल गरिने बताईन् । कोहि अनुदान पाएको पायै कोहि नपाउने समस्या अन्त्य गर्न,समन्वय गरिने उल्लेख गरिन् । वास्तविक उद्यमी अनुदानबाट बन्चित नहुने गरी अनुदान वितरण हुनु पर्नेमा जोड दिईन् ।

जिल्ला महिला उद्यमी समितिकी अध्यक्ष हस्तना न्यौपानले महिलाद्वारा संचालित उद्योग निरन्तर चलेकाले ती उद्योग लाई प्रर्बद्वन गर्नु पर्ने उल्लेख गरिन् । महिला संचालक रहेका राडीपाखी,दुग्ध,फर्निचर लगायतका उद्योग निर्वाध संचालन भएको उनको भनाई छ । यदपी अनुदानमा महिला उद्यमी बन्चित भएको गुनासो बढेकाले त्यसलाई व्यवस्थित बनाउन जरुरी रहेको उनको भनाई छ ।

प्रकाशित मिति : २०८२ भाद्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस