जुम्लामा एकपछि अर्काे खेल पूर्वाधार अलपत्र, नियमित प्रशिक्षणमा खेलाडीलाई सकस

हाईअल्टीच्युट टेर्निङ सेन्टर, भलिबल प्याराफिट अलपत्र र फूटबल रंगशाला निर्माणमा ढिलाई हुँदा खेलाडी समस्यामा छन् । खेल आयाेजना गर्न सेनाकै मैदानकाे भर

जुम्ला । जुम्लामा बजेट अभाव, जग्गा विवाद विवाद तथा ठेकेदारको चरम ढिलासुस्तीले खेल पूर्वाधार निर्माण अलपत्र परेको छ । विश्व किर्तिमानी धावक हरि बहादुर रोकाया, चर्चित धाविका सुनमाया बुढाको नामले चिनिने जुम्लामा खेलपूर्वाधारहरु वर्षौदेखी अलपत्र परेका छन् ।

नियमित अभ्यास समेत गर्ने ठाउँ नहुँदा एथेलेटीक्स खेलाडीहरु वर्खाको पानी र हिउँदको हिउँ नभनेर डाँडापाखामा पुुगेर दौडिनु पर्ने बाध्यता छ । भने गतिलो मैदान नहुँदा नियमित आयोजना नहुने भएपनि टुडिखेल मैदानका लागि नेपाली सेना गुर्हानु पर्ने कष्ट विद्यमान छ ।

धावक रोकाया,धाविका बुढाको प्रेरणा तथा जुम्लामा नियमित हुने जुम्ला रारा अल्ट्राम्याराथनले खेलक्षेत्रमा यूवा पुस्ताको आर्कषण बढेको छ । सोही अनुसार राष्ट्यि तथा अन्तराष्ट्यि स्तरमा जुम्लाका खेलाडीले एकपछि अर्को सफलता हात पनि पारेका छन् ।

तर जिल्लामा नियमित अभ्यास गर्ने र आयोजना गर्ने खेलपूर्वाधार नहुँदा खेलाडीहरु खुम्चीनु पर्ने अबस्था आएको धावक हरि बहादुर रोकायाले गुनासो पोखे ।

उनी भन्छन,‘मैले खाली खुट्टा डाँडापाखा डौडिएर विश्व रेर्कड राखे । देश संघियतामा गएको आठ वर्ष बितिसक्दा पनि जुम्लामा एक गतिलो रंगशाला छैन् । कतै जग्गा विवाद, कतै बजेट अभाव त कतै ठेकेदारको ढिलासुस्तीले संरचना बनेका छैनन् । यसले खेलाडीलाई ठुलो समस्या छ ।’

राज्यले कुनै सुविधा नदिएपनि घरको आटो पिठो खाएर अभ्यास गर्न तयार खेलाडीलाई पूर्वाधार नहुँदा धेरै खेलाडी पलायन हुनु पर्ने स्थितीमा पुगेका छन् । कराते तर्फ पनि यूवा पुस्ताको रुचि बढेको छ ।

प्रशिक्षक लाल बहादुर रोकाया भन्छन,‘उचित ठाउँ नहुँदा खाली खुट्टा ढुंगा माटोमा अभ्यास गराउनु पर्ने स्थिती छ । जुम्लाका सबै सरोकारवालाले खेल क्षेत्रलाई उपेक्षा गरेका छन् । यसरी जिल्लाको खेल क्षेत्रको विकासले फड्को मार्ने स्थिती छैन् ।’
सात वर्षदेखी अलपत्र हाईअल्टीच्युट
पातारासी गाउँपालिका वडा नं. ३ मा निर्माणधिन हाईअल्टीच्युट टेर्निङ सेन्टर जग्गा विवादले अलपत्र परेको छ । मैदान सम्याउन करिब ३ करोड सम्म खर्च भएपनि जग्गा विवादले आयोजानै अलपत्र परेको हो ।

हाईअल्टीच्युट टेर्निङ सेन्टर निर्माण भएपछि जुम्ला सहित देश विदेशका खेलाडी अभ्यास गर्न जुम्ला आउने, खेलको विकाससंगै आर्थिक विकास हुने अपेक्षा गरिएपनि आयोजनानै थलापरेपछि खेलाडीहरु निरास भएका छन् ।

चर्चित धाविका सुनमाया बुढा पनि पातारासीकै हुन् ।
जग्गा विवाद नमिलेपछि गत आर्थिक वर्ष २०८१÷८२ मा हाईअल्टीच्युट टेर्निङ सेन्टर निर्माणका लागि विनियोजन भएको पाँच करोड ६६ लाख ५० हजार बजेट फ्रिज भएको छ ।
जसमा रंगशाला निर्माणका लागि सहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाले दुई करोड २९ लाख ५० हजार र राष्ट्रिय खेलकुद परिषद्ले चार करोड बजेट विनियोजन गरेका थिए । परिषद्ले निकासा गरेको रकममध्ये ६३ लाख रुपैयाँको मात्र काम भएको छ । राखेपले निकासा गरेको तीन करोड ३७ लाख रुपैयाँको काम नहुँदा बजेट फ्रिज भएको हो ।

जग्गा विवादले ७ वर्षदेखि अलपत्र पातारासी-३ स्थित हाईअल्टिच्युट टेर्निङ सेन्टर । तस्बिर: सागर परियार ।कर्णाली मिसन

फेरी उक्त आयोजना निर्माणका लागि संघिय सरकारले ठुलो सरकार विनियोजन गरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कविदत्त न्यौपानेले बताए । उनी जुम्ला आएसंगै खेल क्षेत्र चलायमान बनाउन खोजेपछि बजेट अभावले खुम्चीएका छन् ।

उनी भन्छन,‘सरकारले जुम्ला सहित ३ जिल्लाका लागि एक अर्ब बजेट विनियोजन गरेको छ । त्यसमा जुम्लाको हाईअल्टीच्युट टेर्निङ सेन्टर निर्माण गर्न २२ करोड जति विनियोजन हुने छ । जग्गा विवाद टुग्याएर जसरी पनि बजेट कार्यान्वयन गर्ने पक्षमा छौ । सबै सरोकारवाला एकजुट भई हरेक वर्ष हुने बजेट फ्रिज रोक्नु पर्छ ।’

कूल ५० हजार वर्गमिटर जग्गा आबश्यक रहेकोमा ।
विद्यालय र स्थानीयको जग्गा बीच विवाद भएपछि हरेक वर्ष बजेट फ्रिज जाने र आयोजना अलपत्र पर्ने गरेको हो ।  पछिल्लो समयमा जग्गा व्यवस्थापनका लागि गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको संयोजकत्वमा समिति बनेको छ । अब जग्गा व्यवस्थापन हने सम्भावना देखिएको छ ।

रंगशाला निर्माणमा चरण ढिलाई
कर्णाली प्रदेशको राजधानी सुर्खेतपछि जुम्लाको राजसिममा बन्न लागेको रंगशाला निर्माणमा चरम ढिला सुस्ती भएको छ । एथेलेटीक्स खेलाडीको अभ्यासका लागि टाटन ट्रयाक सहितको फुटबल रंगशाला निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेको हो ।

सघन सहरी तथा भवन निर्माण आयोजना मार्फत ४० करोड ६२ लाख लागतमा रंगशाला सहित अन्य पूर्वाधार निर्माण गर्ने ठेक्का लिएको ‘कविन्द्र निर्माण सेवा’ले सम्झौता मिति सकिनै लाग्दा समेत काम अधुरै छाडेको छ ।

आयोजनाका सूचना अधिकारी चन्द्र बहादुर खड्काका अनुसार रंगशाला निर्माणको भौतिक प्रगती ७० प्रतिशत भएको छ । यदपी भदौ १९ गते भने निर्माण कम्पन्नीको सम्झौता समय सकिदैछ । समयमै काम सकाउनुको सट्टा ठेकेदार म्यादको प्रक्रियामा केन्द्रित हुँदा काम प्रभावित भएको देखिन्छ ।

निर्माणमा चरम ढिला सुस्ती भएकाे फुटबल रंगशाला । तस्बिर: सागर परियार,कर्णाली मिसन

कूल ४० करोडको ठेक्कामा रंगशालाको बजेट मात्रै करिब १३ करोड रहेको छ । सम्झौता अनुसारको समयम सकिनै लाग्दा पनि रंगशालाको ३० प्रतिशत काम अझै बाँकी रहेकाले आयोजना अलपत्र पर्ने देखिएको छ । हाल सम्म प्याराफिट निर्माण,मैदान सम्याउने काम सकिएको छ । भने रंगरोगन गर्न बाँकी छ ।  

कूल ४० करोडको ठेक्का अन्तरर्गत निर्माण हुने रंगशाला,जुगाड खोला करिडोर सडक कालोपत्रे लगायतका आयोजनाको समग्र भौतिक प्रगती ४० प्रतिशत मात्रै भएको आयोजनाले जनाएको छ ।

बजेट अभावले प्याराफिट अलपत्र
जिल्ला खेलकुद विकास समितिको कार्यालय जुम्लाको आडमै विगत ६ वर्षदखी भलिबलको प्याराफिट अलपत्र परेको छ । आर्थिक वर्ष २०७६÷०७७ देखि निर्माण सुरु भएको प्याराफिट निर्माणको काम बजेट अभावले अहिले अलपत्र परेको हो ।

प्याराफिटका पिल्लरका सरियाहरु खिया लागि सकेका छन् । निर्माण सुरु गर्दा बजेट आएपछि पछिल्लो वर्षबाट बजेट आउन छोडेपछि आयोजनानै अलपत्र परेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कविदत्त न्यौपानेले बताए ।

उनले भने,‘प्रदेश सरकार सामाजिक विकास मन्त्रालय मातहतमा प्याराफिट निर्माण सुरु भएको हो । विभिन्न समयमा बजेट मागका लागि प्रदेश सरकारसंग माग गरिएको थियो । तथापी प्रदेश सरकारले बजेट नपठाउँदा आयोजना अलपत्र परेको हो ।’

बजेट अभावले अलपत्र भलिवल प्याराफिट । तस्बिर: सागर परियार,कर्णाली मिसन ।

प्याराफिट अलपत्र पर्दा मैदाननै साँघुरो बनेको छ । उक्त योजनाका लागि पहिलो वर्ष कर्णाली प्रदेश सरकारले २० लाख पठाएको देखिन्छ । दोस्रो वर्षमा २५ लाख रुपैयाँ आएर प्याराफिट लगायतको काम भएको थियो ।

कुल लागत स्टमेट एक करोड ९० लाख रुपैयाको रहेपनि पछिल्ला वर्षमा बजेट विनियोजन नहुँदा प्याराफिट निर्माण रोकिएको हो । विगतमा छिटफुट रुपमा उक्त मैदानमा हुने आयोजनाहरु समेत आजभोली हुन छोडेका छन् । बजेट व्यवस्थापन भए तत्कालनै प्याराफिट निर्माण अघि बढाउने खेलकुल विकास समिति जुम्लाको तयारी छ ।

प्रकाशित मिति : २०८२ भाद्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस