जुम्ला – तिला गाउँपालिकाका धेरैजसो गाउँबस्तीमा सिचाई सुविधा नभएको सुख्खा भुगोल रहेको छ । गाउँपालिकाको रारागाउँ, ढिमकोट, चुलाकोट स्यालालुमसेरा जस्ता गाउँबस्तीमा सिचाई सुविधा छैन । यिनै गाउँबस्तीमा कतै पानीको स्रोत छैन भने कतै पानीको स्रोत भएपनि सिचाई गर्ने कुलो (नहर) छैनन् । जहाँका किसान आकासे पानीको भरमा अन्नवाली र फलफुलका बोट विरुवा रोप्ने गर्दछन् । पछिल्लो समय जलवायु परिवर्तनका कारण सुख्ख खडेरी पर्ने र अन्नवाली विट विरुवा रोप्ने बेला पानी नपर्ने जस्ता समस्या छन् । जसले गर्दा स्थानीय स्तरमै राम्रो उत्पादन नहुने भएकाले ६ महिना पनि खाना पुग्दैन । जसका कारण ज्यालामजदुरीका लागि नागरिक जिल्ला बाहिर जाने गर्दछन् ।
यस्तै समस्यालाई मध्ये नजर गर्दै उत्पादन बढाउने र स्थानीय स्तरमै स्वरोजगार बनाउने उद्देश्यले किर्डाक नेपाल जुम्लाले तिला गाउँपालिका जुम्लासँग सहकार्य गरी एफएओको सहयोगमा कृषिसँग सम्वन्धित जलवायुमैत्री परियोजना सञ्चालन गरेको हो ।
परियोजनाले १२ वटा जलवायुमैत्री कृषि समुह गठन गरी प्रति ट्यांकी ७० हजार रुपियाँ लागतमा २० हजार लिटरका ६ वटा जलवायुमैत्री सिचाई ट्यांकी निर्माण गरेको छ । हिउदे वर्खे आकासे पानी संकलन गर्ने र सुख्ख सिजनमा सिचाई गर्ने उद्देश्यले जलवायुमैत्री सिचाई ट्यांकी निर्माण गरेको हो ।
तिला गाउँपालिका – ५ ढिमकोट गाउँका अगुवा किसान नरबहादुर शाहीको उत्पादन दिने तीन सय विरुवा छ । उनले यस वर्ष मात्रै एक लाख रुपियाँ आम्दानी गरेका छन् । यस्तै उनको स्याउ र ओखरको विरुवा (नर्सरी) पनि छ । यसबाट पनि उनले आम्दानी लिने गरेका छन् । सुख्ख सिजनमा ट्यांकीमा संकलन भएको पानीले स्याउको विरुवामा सहज भएको उनी बताउन्छन् ।
तिला गाउँपालिका – १ रारा गाउँका अगुवा किसान महेन्द्र बुढाका अनुसार यस परियोजनाले कृषि क्षेत्रमा निकै सहयोग पुगेको छ । उनले भने, स्याउ बगैचाको व्यवस्थापनदेखि रोगकिरा नियन्त्रणमा टेवा पुगेको छ । जलवायुमैत्री कृषि पाठशाला सञ्चालन गर्ने गरेको छ । यसले किसानलाई झोल मल बनाउनदेखि स्थानीय स्तरमै किटनासक विषादी बनाउन सिकाईएको छ ।
किर्डाक नेपाल जुम्लाका परियोजना संयोजक पुंखेश्वर भामका अनुसार तिला गाउँपालिकाको ९ वटै वडामा जलवायु प्रेरित आप्रवासनको जोखिममा रहेका समुहदायमा उत्थानशिलता र सशक्तिकरणमा बृद्धि परियोजना गत फागुनदेखि सञ्चालन गरिएको हो । उनले भने, परियोजना अन्र्तगत १२ वटा जलवायुमैत्री कृषि पाठशाला समुह रहेका छन् । यिनै समुह अन्र्तगत ९ जना सहजकर्ता पनि छन् । यस परियोजनाबाट ६ सय नागरिक लाभान्विद भएका छन् । कृषि सहजकर्ताले १२ वटा कृषि पाठशाला समुहमा गत फागुन महिनादेखि कक्षा सञ्चालन गर्दै आएका छन् । कषि पाठशालामा स्याउ बगैचा व्यवस्थापनदेखि जैविधि मल, जैविक विषादी, तरकारी खेती जस्ता कक्षाहरु सञ्चालन हुदै आएका छन् ।
परिपुरणको रुपमा काम गर्दै आएका गैरसरकारी निकायका परियोजनाले स्थानीय सरकारलाई पनि सहज तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए । उनले भने, नागरिकका सवै समस्या सरकारी तवरबाट समाधान हुन सकेका हुदैनन् । समस्या समाधान हुन नसकेका ठाउँका समस्या यस्ता परियोजनाले समाधान गर्ने गरेका छन् । जसले गर्दा स्थानीय सरकारलाई सहज भएको छ ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख तथा परियोजना सल्लाहकार समितिका संयोजक गौरीनन्द आचार्यका अनुसार परियोजना प्रभावकारी रहेको छ । यसको प्रभावकारिताका विषयमा स्थानीय किसानसँगै प्रत्यक्ष अनुगमन पनि गरेका छौँ । उनले भने, छोटो अवधिको परियोजना भएपनि समुदायमा यसको प्रत्यक्ष प्रभाव परेको छ । किसानलाई राहत मिलेको देखिन्छ ।



