जुम्ला- स्याउ जुम्लाको प्रमुख नगदे फलफुल खेती हो । यो खेती किसानको प्रमुख आम्दानीको स्रोत पनि हो । कर्णाली प्रदेशको १० जिल्लामध्ये सबैभन्दा धेरै जुम्लामा स्याउ उत्पादन हुने गरेको छ ।
जुम्लामा ०२४ सालदेखि स्याउका बिरुवा रोपेर उत्पादन थालिएको हो । यहाँ ४२ सय हेक्टरमा स्याउ उत्पादन हुने गरेको छ । धेरै थोरै स्याउको विरुवा नरोपेको यहाँ कुनै घरधुरी छैन । प्रत्येक घरधुरीमा स्याउका विरुवा छन् ।
तर जलवायु परिवर्तनका कारण यहाँ हरेक वर्ष स्याउँ उत्पादनमा गिरावट आउने गरेको छ । गत वर्ष ६१ करोड रुपियाँको स्याउ विक्री गरेको जुम्लाले यस वर्ष ४५ करोडको स्याउ बिक्री–वितरण भएको कृषि विकास कार्यालय जुम्लाको तथ्यांक छ ।
हरेक वर्ष असिना खडेरीका कारण स्याउ उत्पादन घट्न थालेपछि जुम्लाका पाँच हजार ३५० जना किसानले १२ लाख स्याउको विरुवा बीमा गरेका छन् । जुम्लामा शिखर इन्स्योरेन्स कम्पनीले स्याउ बीमा गरेको हो ।
यस्तै तातोपानी गाउँपालिका – ६ हियाखोलाका किसान राजबहादुर रोकायाले बगैचामा रहेको नौसय स्याउको विरुवा मध्ये ३५० वटा विरुवाको बीमा गरेका थिए । प्रतिविरुवा ३६ रुपियाँ दरले ३५० वटा विरुवाको बीमा गरेका राजबहादुर प्रतिविरुवा २४ रुपियाँ मात्रै पाउने भएपछि चकित परेका छन् । बीमा गरेको प्रिमियम लागनी भन्दा पनि कम रकम पाउने भएपछि अच्चमित परेका हुन् ।
सोही गाउँपालिका – २ डाँगीवाडाका पदमबहादुर डाँगीले पनि प्रतिविरुवा ३६ रुपियाँका दरले दुई सय वटा स्याउको विरुवाको बीमा गरेका थिए । राजबहादुर र पदमबहादुर जस्तै तातोपानी गाउँपालिका भित्रका ७११ जना किसानले ५० हजार ६११ वटा विरुवाको बीमा गरेका हुन् । उनीहरुले प्रतिविरुवा वीमा प्रिमियन लगानी ३६ रुपियाँ गरेका भने वीमा पाउने प्रतिविरुवा २४ रुपियाँ मात्रै पाउने भएपछि आन्दोलित भएका छन् ।
यो समस्या ७ दिन भित्र समाधान गर्ने चेतवानी दिदै जिल्ला प्रशासन कार्यालय जुम्लामा आइतबार ध्यानाकर्षण पत्र बुझाएको स्याउ बीमा पीडित पहल समितिका संयोजक पदमबहादुर डाँगीले बताए । उनले भने, अन्य चन्दननाथ, गुठीचौर र तिला गाउँपालिका भित्रका किसानले प्रतिविरुवा २÷३ सय विरुवा वीमा रकम बुझेका छन् । तर तातोपानी गाउँपालिका भित्रका किसानले भने वीमा प्रिमियम भन्दा पनि कम पाउनु पर्ने कारणसहितको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका छन् ।
शिखर इन्स्योरेन्स कम्पनी जुम्लाका शाखा प्रमुख लक्ष्मण काफ्लेका अनुसार सरकारबाट वीमा अनुदान रकम प्राप्त गर्न बाँकी छ । सवै बीमा रकम किसानलाई वितरण गरिएको छैन । तर तातोपानी गाउँपालिका भित्रका किसानले फिल्ड प्रतिवेदनका आधारमा प्रिमियम भन्दा कम वीमा रकम पाउने अवस्थादेखिएको छ । प्रतिविरुवा ३६ रुपियाँ प्रिमियम तिरेका हुन् तर २४ रुपियाँ प्राप्त गर्ने छन् । अरु रकम भने सरकारको अनुदान पनि मात्रै प्राप्त हुने देखिएको छ ।
किसानको ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलका अनुसार ध्यानाकर्षण पत्र गृह मन्त्रालय र शिखर इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा पठाउने छौँ । प्रमुख जिल्ला अधिकारी जिल्लामा आएपछि त्रिपक्षीय बैठक राखेर समस्या समाधान गरिने छ ।



