तातोपानीमा बजार अनुगमन: म्याद गुज्रेका सामान माथि निगरानी मात्रै, कहिले कारबाही छैन् 

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नं २ र ३ का ग्रामिण बजारमा अनुगमन गरिएको छ । तातोपानी-२ को जर्मी गाउँ रहेको बजार र वडा नं ३ को लिताकोट बजारमा सोमबार अनुगमन गरिएको हो । 

उद्योग तथा उपभोक्ता हक हित संरक्षण कार्यालय जुम्लाको आयोजनामा, जिल्ला प्रशासन कार्यालय जुम्लाको संयोजकत्व तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाको सहयोगमा अनुगमन सम्पन्न भएको छ ।

अनुगमन टोलीले एकैसाथ होटल, खुद्रा पसल र मदिरा पसल (भट्टी)हरूमा अनुगमन गरेको थियो । उद्योग तथा उपभोक्ता हक हित संरक्षण कार्यालय जुम्लाका प्रमुख मन्दिरनाथ योगीका अनुसार तातोपानी क्षेत्रका झण्डै १५ वटा खुद्रा पसल, होटल तथा मदिरा पसलको सूक्ष्म अनुगमन गरिएको बताए । 

उनले ठूला व्यापारी बाट गाउँ गाउँमा रहेका साना व्यापारीलाई म्याद गुज्रेका सामान सप्लाइ हुने गुनासो बढ्दै गए पछि निगरानी कडा पारिएको जानकारी दिए ।

यस्तै जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रशासकीय अधिकृत मीन बहादुर रावलले अनुगमनका क्रममा म्याद, लेबल, भण्डारण अवस्था, मूल्यसूची तथा स्वच्छताका विषयमा विशेष ध्यान सुझाव दिइएको बताए ।

उनका अनुसार, कतिपय पसलहरूलाई सचेत गराउँदै सुधारका लागि निर्देशन दिइएको छ भने आवश्यक परे कानुनी कारबाही अघि बढाइने चेतावनी दिइएको बताए । जुम्लामा बजार अनुगमन गर्ने  सुझाव मात्र दिने कारबाहि प्रक्रिया अघि नबढाउने प्रवृत्ती छ । 

जिल्लामा हाल सम्म थुप्रै पटक सम्म बजार अनुगमन गरेपनि, लाखौ म्याद सकिएको सामान बरामद गरेको, व्यवसाय दर्ता नगरेको, विल विजक स्पष्ट नगरेको, मुल्यसुचि नराखेको भेटिए पनि कारबाहि हुन सकेको छैन् । जसका कारण बजार अनुगमन ओैपचारिकतामै सिमित भएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस