कल्पना र धिरले जिते जुम्ला–रारा अल्ट्राम्याथनको उपाधी

५४ किमी दौडमा धिर र कल्पनाको शानदार जित, रारा किनारमा आज पुरस्कार वितरण ।

जुम्ला । सातौँ जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि महिला तर्फ कल्पना बुढा र पुरूष तर्फ धिर बहादुर बुढाले जितेका छन् । जुम्ला–रारा अल्ट्रा म्याराथनको ५४ किलोमिटरको दुरी ६ घण्टा १२ मिनेट १७ सेकेण्डमा पूरा गरी पुरुष तर्फ धिर बहादुर बुढा प्रथम हुँदा महिला तर्फ कल्पनन बुढाले ५४ किमी दुरी ७ घण्टा ७ मिनेटमा पार गर्दै प्रथम भईन् ।

यस्तै पुरुष तर्फको दोस्रो स्थानमा त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ र सोमबहादुर रावत तेस्रो भएका छन् । यस्तै महिला तर्फको दोस्रोमा सुनसरी रोकाया र तेस्र्राेमा सन्ध्या बुढा भएको कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले बताए।

साथै शनिवार विहान १० किमी र ५ किमी दौड प्रतियोगिता समेत सम्पन्न भईसकेको छ । जसमा १० किमी दौडको पुरुषतर्फ बसन्त बुढा प्रथम हुँदा नवीन परियार दोस्रो र राज भण्डारी तेस्रो भए । त्यसैगरी महिला तर्फको १० किलोमिटर दौडमा सपना बुढा प्रथम हुन सफल हुँदा सुस्मीता भण्डारी दोस्रो र गौकली रावत तेस्रो स्थानमा आईन् ।

१० किमी दौडका प्रथम दोस्रो र तेस्रो खेलाडीलाई क्रमश जनही नगद १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद सहित मेडल तथा ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ ।

पाँच किलोमिटर बालकचतफए नोर्भु रानाले पहिलो स्थान हात पार्दा नरेश रावत दोस्रो तथा नवराज महताराले तेस्रो स्थानमा हासिल गरेका छन् । यस्तै बालिका तर्फ कृतिका सुनार प्रथम, एमुना बुढा द्वितीय र खुसी बुढाथोकी मगर तृतीय भएकी छन् । प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

आयोजक कर्णाली स्पोर्ट क्लबका अनुसार जुम्ला–रारा अल्ट्रा म्याराथनको ५४ किमी दुरीमा प्रथम, दोस्रो र तेस्रो हुने महिला पुरुष दुबै विद्याका खेलाडीलाई क्रमश नगद एक लाख, ७५ हजार, ५० हजार, ट्रफी, मेडल, प्रमाण पत्र प्रदान गरिने छ । उत्कृष्ट खेलाडीलाई रारा तालको छेउमा आईतबार (आज) पुरस्कार वितरण हुने छ।

स्थानीय स्तरमा खेलकुदको विकास र युवा प्रतिभाको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले जुम्लामा खेलकुद गतिविधिलाई थप चलायमान बनाएको छ । भने, नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य मुगु स्थित रारा तालको पर्यटन प्रर्बद्धन, जुम्ला र मुगुलाई खेल पर्यटनका माध्यमबाट जोड्ने तथा विश्व सामु कर्णाली चिनाउन म्याराथनको आयोजना हुदैँ आएको छ ।

यस म्याराथनले खेल क्षेत्रको विकास संगै पर्यटन प्रर्बद्धनमा समेत टेवा पुराएकोले यसको निरन्रता दिनु पर्ने सरोकारवालाको भनाई छ ।

प्रकाशित मिति : २०८३ बैशाख २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस