जुम्ला को हिउँदे बाली जौ भित्र्याउने चटारो

जुम्लाका किसान यतिबेला हिउँदे बाली जौ भित्र्याउन व्यस्त बनेका छन् । चिसो मौसम सुरु हुने मङ्सिर महिनामा लगाइएको जौ अहिले पाकेसँगै खेतबारीमा किसानको चहलपहल बढेको हो।

जुम्लामा जौ मुख्य हिउँदे बालीका रूपमा उत्पादन हुँदै आएको छ । यहाँको चिसो हावापानी र उच्च भू–भाग जौ खेतीका लागि उपयुक्त मानिन्छ। किसानले मङ्सिर महिनामा जौ छर्ने गर्दछन् भने बैशाखको अन्तिम सातादेखि जेठको पहिलो सातासम्म काट्ने गर्दछन्।

जिल्लाका अधिकांश स्थानमा जौ काट्ने तयारी भइरहेको छ भने तिला गाउँपालिकाका केही भेगमा भने किसानले जौ काट्न सुरु गरिसकेका छन् । गाउँघरका खेतबारीमा बिहानैदेखि किसान जौ काट्ने, सुकाउने र भित्र्याउने काममा जुटेका देखिन्छन्।

यस वर्ष मौसम अनुकूल भएकाले जौ उत्पादन राम्रो हुने अपेक्षा गरिएको छ । जौ जुम्लाका किसानको मुख्य खाद्यान्नमध्ये एक मानिन्छ । यहाँ जौको पिठो, धिँडो, सातु लगायत परिकार बनाइने गरिन्छ।

जौ भित्र्याएसँगै अब जुम्लामा प्रसिद्ध मार्सी धान रोपाइँको तयारी पनि सुरु हुने भएको छ । जेठ महिनादेखि किसान धानको ब्याड तयारी र रोपाइँमा व्यस्त हुने गर्दछन्

प्रकाशित मिति : २०८३ बैशाख ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस