जुम्ला । नेपाली काँग्रेसबाट गुठिचौर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका दान बहादुरको पद गएको छ । केही समय अघि राष्टि्य स्वतन्त्र पार्टीमा प्रवेश गरेका अध्यक्ष बुढाको पदनै गएको हो ।
कार्यकालको अन्तिम बजेट ल्याउने तयारी चलिरहेकै बेला अध्यक्षको पद रिक्त भएको हो ।
निर्वाचन आयोगले सोमवार एक सूचना जारी गर्दै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको ब्यहोराको जानकारी प्राप्त भएपछि आयोगको मिति २०८३/०३/०८ गतेको निर्णयअनुसार गुठिचौरका अध्यक्ष बुढाको पद स्वतः रिक्त भएको हो जनाएको छ ।
२०७९ को निर्वाचनमा काँग्रेसबाट चुनाव जितेका बुढाले एक वर्ष कार्यकाल बाँकी हुदै रास्वपा प्रवेश गरेपछि जुम्ला काँग्रेसले कारबाहिका लागि सिफारिस गरेको छ । काँग्रेस पार्टीले नभई गुठिचौरका जनताले भोट दिएर जिताएको भन्दै पद फाल्न चुनौती दिएका थिए ।
कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको भनी नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरी आयोगमा जानकारी गराएको थियो।
सोही अनुसार अध्यक्ष बुढासँगै नेपाली कांग्रेसबाट निर्वाचित अन्य दुई जनप्रतिनिधिको पद पनि रिक्त भएको छ।
जसमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी र रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बिष्णु ढकालको पद गएको हो ।




