जुम्लाका आठ पालिकाको बजेट ३ अर्ब ८२ करोड, कृषि स्वास्थ्यदेखी पूर्वाधारमा प्रथामिकता

जुम्ला । जुम्लाका आठै स्थानीयतहले वार्षिक नीति कार्यक्रम सहित करिब चार अर्ब बराबरको बजेट ल्याएका छन् । एक नगपालिका सहित सात वटा गाउँपालिका रहेको जुम्लाका आठ स्थानीयतहले बुधबार एकैसाथ नीति तथा कार्यक्रम सहित ३ अर्ब ८२ करोड ५० लाख १ हजार ६६९ रुपैयाँ बरारबको बजेट ल्याएका छन् । आठै पालिकाले आन्तरिक आय, अल्या बजेट, संघीय सरकार र प्रदेश सरकारबाट आउने चार वटा अनुदानका शिर्षकबाट प्राप्त भएको अनुदानका आधारमा बजेट निर्माण गरेका छन् ।

जुम्लाको आर्थिक समृद्धी, रोजगारी सृजना, उत्पादन बृद्धि, किसानको आयस्तरमा सुधार, सडक पूर्वाधार विकास तथा पर्यटन प्रर्बद्धनमा विशेष प्रथामिकता दिदै स्थानीयतहले नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् । आठ पालिकामध्य अधिकांशले डल्लो बजेट मात्रै सार्वजनिक गरेपनि तातोपानी गाउँपालिकाले भने विषयगत क्षेत्र, वडा कार्यालय सबैमा माग र आबश्यकताका आधारमा बजेट बाँडफाँड गरेको छ ।

गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले समृद्व तातोपानीको संकल्प सहित कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र पर्यटन क्षेत्रमा प्रथामिकता दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरे । भौतिक विकास संगै सामाजिक विकास तथा सशसक्तिकरणका मुद्वालाई समेत विशेष प्रथामिकता राखेर नीति ल्याईएको छ ।

स्थानीय कर तथा खर्च व्यवस्थापन, कृषि, पर्यटन, खानेपानी, सरसफाई, पूर्वाधार विकास, भाषा साँस्कृतिक संरक्षण,श्रम तथा रोजगार, खाध सुरक्षा, उधोग, जलावयू अनुकुलन, उर्जा प्रर्बद्वन, सरसफाई, वाताबरण संरक्षण देखि विपद व्यवस्थापन लगायतका २२ वटा शिर्षक अन्तर्गत थुप्रै नीति तथा कार्यक्रम ल्याईएको छ ।

बजेटको आकार अनुसार कार्यान्वयनमुखी नीति ल्याईएकाले सबैको समन्वय सहकार्यमा समृद्व तातोपानी निर्माण गर्ने संकल्प गरिएको अध्यक्ष नन्द प्रसाद चौलागाँईले बताए । उनका अनुसार तातोपानीको जल,जमिन, जडिबुटि,जंगलको संरक्षण, पर्यटन विकास तथा सामाजिक विकासमा विशेष ध्यान दिईने छ ।

साथै तातोपानी गाउँपालिका उपाध्यक्ष तथा बजेट तर्जुमा समितिका संयोजक रेवती रावलले आगामी आव २०८३÷०८४का लागि ५४ करोड २८ लाख ८ हजारको बजेट प्रस्तुत गरेकी छन् । २८ शिर्षक अन्तर्गत रहेर ल्याईएको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि ५४ करोड २८ लाखबढीको बजेट प्रस्तुत गरिएको हो ।

जसमा चालु तर्फ ३५करोड ५८ लाख ८८ हजार अर्थात ६५.५७ प्रतिशत र पुजिगत तर्फ १८ करोड ६९ लाख २० हजार ३४.४३प्रतिशत बजेट विनियोजन गरिएको छ । तातोपानीमा संघीय सरकारबाट ४३ करोड ९१ लाख ९० हजार, प्रदेश सरकारबाट ५ करोड २८ लाख २७ हजार अनुदान प्राप्त भएको थियो भने अल्या बजेट ४ करोड ६२ लाख ९१ हजार र आन्तरिक राजश्व संकलन ४५ लाख गरी कुल ५४ करोड बढीको बजेट ल्याईएको छ । भने तातोपानीका आठ वटै वडामा आबश्यकता मागका आधारमा बजेट बाँडफाँड गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतका अनुसार बुधबारनै सर्वसम्मत रुपमा नीति तथा कार्यक्रम पारित भएको छ । भने आर्थिक ऐन–२०८३,बाल संरक्षण मापदण्ड–२०८३, बालबालिकाका क्षेत्रमा बजेट विनियोजन तथा कार्यान्वयन कार्यविधि–२०८३, बालमैत्री आचांर संहिता लगायतका ऐन कानुन टेबुल गरिएको प्रमुख प्रशासकीय अधिकृत कठायतले जानकारी दिए ।

कुन पालिकाको बजेट कति ?
यहाँको एक मात्रै नगरपालिका चन्दननाथ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ५९ करोड ४६ लाख ७१ हजार ४२७ रुपियाँ बजेट ल्याएको छ । तातोपानी गाउँपालिकाले ५४ करोड २८ लाख ८ हजार, पातारासी गाउँपालिका ४५ करोड ४६ लाख ६ हजार ५३९ रुपियाँ र तिला गाउँपालिकाले ५० करोड ५१ लाख ७१ हजार बजेट ल्याएको छ ।

यस्तै हिमा गाउँपालिकाले ४३ करोड ७९ लाख ६६ हजार, सिजा गाउँपालिकाले ४५ करोड ४८ लाख १८ हजार ५५७ रुपियाँ र कनकासुन्दरी गाउँपालिकाले ४५ करोड १२ लाख ७७ हजार ९७४ रुपियाँको बजेट ल्याएको छ । गुठीचौर गाउँपालिकाले भने असार ९ गते नै २३ औँ गाउँसभाबाट ३८ करोड ३६ लाख ८३ हजार १३२ रुपियाँ बजेटसहित नीति तथा कार्यक्रम ल्याएको थियो ।

प्रकाशित मिति : २०८३ असार १० गते बुधवार
प्रतिक्रिया दिनुहोस