जुम्ला विमानस्थल विस्तारः जग्गा अधिग्रहणमा २० करोड, काम सधै अनिश्चित

जुम्ला । कर्णाली प्रदेशको सुर्खेतपछि बेस्थ जुम्ला विमानस्थल विस्तारको चर्चा चलेको ८÷९ वर्ष बित्दा पनि अझै काम हुन सकेको छैन् । हरेक वर्ष बजेट विनियोजन हुने तर काम अघि नबढ्न नियती दोहोरिदै आएको छ । २०७५ साल देखी विमानस्थल विस्तारको चर्चा चल्न थालेको हो ।

विशेषगरी धावनमार्ग विस्तारका लागि जग्गा अधिग्रहण, टर्मिनल भवन निर्माण लगायत स्तरोन्नतिको कार्य गर्न पहल थालिएको थियो । सोही अनुसार नागरिक उड्यन प्राधिकरण, पर्यटन मन्त्रालयले हरेक वर्ष बजेट विनियोजन समेत गर्दै आएको छ । तर जिल्लामा समन्वयको अभावले भने बजेट कार्यान्वयन नभएर फिर्ता हुने गरेको छ ।

१८३.८० रोपनी जग्गा अधिग्रहण तथा अन्य पूर्वाधार निर्माणका लागि झण्डै १ अर्ब लागत अनुमान गरिएको छ । जसमध्य जग्गा अधिग्रहणपछि दिईने मुआब्जाका लागि मात्रै ५० करोड लाग्ने अनुमान छ । निरन्तर तीन वर्ष यता जग्गा अधिग्रहणका लागि विनियोजन हुदै आएको बजेट कार्यान्वयन हुन सकेको छैन् ।

फेरी आगामी आव २०८३÷०८४ का लागि अहिलेसम्मकै धेरै २० करोड बजेट जग्गा अधिग्रहणका लागि विनियोजन भएको छ । पर्यटन पूर्वाधार विकास आयोजना अन्तरर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले जुम्ला विमानस्थलको जग्गा अधिग्रण गर्न २० करोड विनियोजन गरेको हो ।

विमानस्थलको विस्तारका लागि २०७५ देखीनै निरन्तर सक्रिय रहेकी पुर्व मेयर तथा सांसद कान्तिका सेजुवालले यसपाली विनियोजित २० करोड कुनै पनि हालतमा कार्यान्वयन गर्न लगाउने बताईन् । ‘एयरपोर्ट विस्तारका नाममा हरेक वर्ष बजेट आउने तर कार्यान्वयन नहुने दुखद पक्ष हो’, उनले भने,‘आगामी आवको बजेटमा २० करोड जग्गा अधिग्रहणमा विनियोजन भएको छ । यो बजेटलाई कार्यान्वयन गर्न तोकेता दिनै पर्ने । की एयरपोर्ट बन्द गर्नुपर्छ, कीत विस्तारको कामलाई शिघ्र रुपमा बढाउन जरुरी छ ।’

तत्तकाल जिल्लाको सर्वदलिय बैठकको आह्वान गरी जग्गा अधिग्रहणको कामलाई अघि बढाउनु पर्ने पूर्वसांसद सेजुवालको भनाई छ । ८÷९ वर्ष यता कहिले बजेट अभाव, कहिले समन्वय अभावको समस्याले एयरपोर्ट विस्तारमा ढिलाई भईरहेकोले अब कडाईका साथ काम गर्ने बेला आएको उनको भनाई छ ।

२०५१ सालमा निर्माण भएको जुम्ला विमानस्थलको टर्मिनल भवन जीर्ण बन्दै गएपछि नयाँ टर्मिनल भवन निर्माण तथा धावन मार्ग विस्तार लगायतका पूर्वाधार निर्माणका लागि वर्षौ पहिलादेखी जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको पनि अहिलेसम्म टंगोमा पुगेको छैन् ।

विमानस्थल विस्तारका लागि १८३.८० रोपनी जग्गा अधिग्रहणका गर्न एक अर्बको लागत अनुमान गरिएको छ । यदपी गतवर्ष फागुन १५ गतेको मन्त्री स्तरको निर्णयबाट विमानस्थलको जग्गा अधिग्रहणका लागि नागरिक उड्यन प्राधिकरणबाट सिफारिस भए बमोजिम चालू आवमा थप ४० करोड बजेट सुनिश्चिताका लागि माग गरिएको थियो । तर सरकारले भनेजस्तो बजेट विनियोजन गरेको थिएन् ।

वर्षाैदेखि चर्चामा सिमित विमानस्थल विस्तारको हालसम्म कुनै पनि काम नहुँदा जुम्लाबासी असन्तुष्ट छन् । जुम्लाका सांसदहरुले एयरपोर्ट विस्तारको एजेण्डा माथि परिणाम विहिन पहल कदमीको होडबाजी गरिरहेको समेत गुनासो छ । हाल सम्म विमानस्थल विस्तारका नाममा कुनै काम हुन नसक्दा नागरिक आजित भएका छन् ।

६७० मिटर लामो धावन मार्गलाई १ हजार ५० मिटरसम्म लम्बाई बढाउने लक्ष्य राखिएको छ । जसका लागि धावनमार्गको पूर्वपट्टी १८३.८० रोपनी जग्गा अधिग्रहण गर्नु पर्ने छ । जग्गा प्राप्ति ऐन, २०३४ को दफा ४ (१) को खण्ड (ख) बमोजिम विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउने कार्यको लागि विमानस्थलको उत्तर र पूर्वतर्फ करिब एक सय ८३.८० रोपनी जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको हो ।

प्राधिकरणलाई जग्गा अधिग्रहणको लागि नेपाल सरकार मन्त्रिपरिषद्को विसं २०८० जेठ २ गते निर्णयबाट स्वीकृति प्रदान गरिएको हो । निर्णय भएको एक वर्ष बित्न लागेपनि काम शून्य भएको छ । ‘विमानस्थल विस्तारको विषय राजनीतिक एजेण्डा बनाएपनि कुनै काम हुन सकेन् ।’नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाई भन्छन,’विमानस्थलले सांसद तथा अन्य सरोकारवालाई गिज्याई रहेको छ । एक अर्ब लागत अनुमान गरिएको आयोजनामा सरकारले टुक्रा टुक्रा गरी बजेट दिईरहेको छ । नत यता काम हुने, नत राज्यले पूरा बजेट दिने सरोकारवालाकै समन्वयको कमजोरी देखिएको छ । यसमा सुधार गर्न जरुरी छ ।’

प्रकाशित मिति : २०८३ असार १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस