जुम्ला । गत विहिबार कर्णाली राजमार्गको दैलेख साँगेतडा क्षेत्रमा सुर्खेतबाट कालिकोट तर्फ जादै आउदै गरेको फोर्स गाडी कर्णाली नदीमा खस्यो । कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स कर्णाली नदीमा खसेको एक हप्ता बढी भईसक्दा पनि नत गाडी भेटिएको छ । नत सास नत लासनै भेटिएको छ ।
यदपी राज्यका तीनै सुरक्षा निकाय परिचालन गरेर गाडीको खोजी कार्य जारी छ । कर्णाली राजमार्ग सुधारमा विगतदेखी बेवास्ता गर्दै आएको सरकारले अहिले नदीमा खसेको गाडी खोज्न पनि बेवास्ता गरेको भन्दै संसदमा चर्को आलोचना समेत भईरहेको छ ।
त्यस्तै गत आईतबार डोल्पाबाट जुम्ला आउदै गरेको जीप सिमावर्ती क्षेत्र मौरेलेकमा दुर्घटना भएपछि घटना स्थलमै एकको मृत्यु भयो । भने ११ जना घाईते भए । उता २०६२÷०६३ बाट संचालनमा आएको कर्णाली राजमार्ग वर्षा सुरु भएसंगै भगवान भरोसामा यात्रा गर्न कर्णालीबासी बाध्य छन् ।
जुम्ला–सुर्खेत २३२ किमी दुरी रहेको यो राजमार्ग एक लेनको साँघुरो हुनु, ठाउँ ठाउँमा पहिरोको उच्च जोखिम हुनु, स्थानीयतहले पहुँच मार्ग निर्माण गर्दा मुख्य सडक साँघुरिदै जानु र विपद्मा राहत तथा उद्दारमा सरकारले तत्काललै तदारुकता नदेखाउँदा कर्णालीबासी भगवान भरोसामै यात्रा गर्न बाध्य भएका छन् ।

कर्णाली प्रदेश प्रहरीको विगत ७ देखी ९ वर्षको अवधिमा ३ हजारबढी सवारी दुर्घटनामा परी ९ सय बढीले ज्यान गुमाएका छन् । भने ६ हजार बढी घाईते तथा अंगभंग भएका छन् । गत वर्षमा मात्रै कर्णालीमा प्रदेशभर १ हजार ४ सय ४५ सवारी दुर्घटनामा परी १ सय १२ जनाको मृत्यु भएको हो ।
असार साउनको बेला बाढी पहिरोको जोखिम, दशै तिहारमा ओभरलोडका कारण कर्णालीमा वर्षेनी दर्जनौ सवारी दुर्घटना भईरहेका छन् । २३२ किमीको दुरीभित्र झण्डै ५६ वटा प्रहरी चौकी तथा ट्राफिक चेकजाँच पोष्ट रहेको कर्णाली राजमार्गमा सुरक्षित यात्राका लागि कुनै पनि सक्रियता देखिन्न् । जसले गर्दा असुरक्षित यात्राकै कारण कर्णालीबासी अकालमै ज्यान गुमाउन बाध्य छन् ।
राजमार्गको दुरावस्था, दैनिक बढ्दै गएको सवारी दुर्घटनाले गर्दा यात्रु विहान गाडी चढेदेखी नझरेसम्म भगवान पुकारर्दै, हातक माड्दै अछेता छर्दै यात्रा गर्न विवश छन् । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चाय भन्छन,‘कर्णालीमा शिक्षा, खानेपानी, विजुली, पर्यटन विकासले गति लिएकै छ । तर राजमार्गको विकास र स्तरोन्नति भने अपेक्षाकृत हुन सकेन् । नयाँ सरकारले पनि कर्णालीलाइ खास्सै बजेट र नीतिमा जोड दिएको छैन् ।’

राज्यको अनुदारपन हेर्दा केही वर्ष पहिला नाग्म–गमगडी सडकमा गाडीमा सवार यात्रुले सडक खाल्डाखुल्डीका कारण गाडी धेरै हल्लीएपछि कर्णालीका नागरिकलाई गाडीले नभई राज्यले हल्लाएको भन्ने व्यंगे गरेका थिए । जुन अबस्था अहिले पनि जस्ताको त्यस्तै छ ।
संघीय संसदमा जुम्लाका सांसद ज्ञानेन्द्र बहादुर शाहीले कि कर्णालीमा सडक स्तरोन्नति देखी राहत उद्दारमा चासो देउ, की कर्णालीलाई नेपाली होईनन् भनेर घोषणा गर भन्दै सरकारको ध्यानर्कषण गराउदै आएका छन् । राजमार्ग संचालन भएको दुई दशक भन्दा बढी समय भईसक्दा पनि २३२ किमी सडक पूर्ण रुपमा कालोपत्रे हुन सकेको छैन् ।
जोखिम स्थानमा सेफ्टी बार, ट्राफिक चिन्ह, जेब्रा क्रस, देखी राजमार्ग स्तरोन्नतिका काम हुने भएका छैनन् । जसले गर्दा कर्णाली प्रदेशको लाईफ लाईन मानिएको कर्णाली राजमार्गमा भगवान भरोसामा यात्रा गर्नुपर्ने बाध्यता अझै अन्त्य भएको छैन् ।
दहिखोला,गगनेखोला, सुनारखोला, टाकुल्ला,सेरिघाट, पिलि, जस्ता जस्ता क्षेत्रहरू दुर्घटनाको उच्च जोखिम छ । भने पादुका क्षेत्रमा अझै हिलोधुलो अत्यधिक छ ।
तर दिगो समधानको कुनै पनि पहल नभएको नागरिक असन्तुष्ट छन् । नागरिक समाजका अध्यक्ष राज बहादुर महतले अहिलेको सरकारले बोल्ने मात्रै तर कर्णालीका लागि देखिने काम गर्ने स्थिती नदेखिएको उल्लेख गरे । शासकीय सुधारमा केन्द्रित भएपनि मृत्युमार्गका रुपमा चिनिने कर्णाली राजमार्ग स्तरोन्नति, सुरक्षित यात्रामा ध्यान नदिएको उनको भनाई छ ।

यता सडक डिभिजन जुम्लाका प्रमुख श्रवण महताराले पहिलो पटक संघीय सरकारले कर्णाली राजमार्गका लागि एक अर्ब विनियोजन गरेकाले सुधारको आशा गरिएको बताए । उक्त एक अर्ब बजेट सडक डिभिजन सुर्खेत र जुम्लाले बाड्ने छन् । २३२ किमी मध्य जुम्लाको क्षेत्र दैखोलादेखी जुम्ला तर्फ १०४ किमी पर्छ भने दैखोलादेखीे १२८ किमीतु दुरी सुर्खेतको डिभिजनको कार्यक्षेत्रमा पर्छ ।
अहिलेको बजेट राजमार्ग स्तरोन्नतिको कामलाई आगामी आवबाट सुरु हुने सडक डिभिजन जुम्लाका प्रमुख महताराले बताए । उनका अनुसार कर्णालीको भूगोल र आबश्यकतानुसार बजेट निकै कम हो । साथै जेनजी सरकारका पाला जुम्लाकै भौतिक पूर्वाधार मन्त्री भएका कारण नाग्म–गमगडी सडकको १५ किमी कालोपत्रे गर्न ९१ करोड समेत विनियोजन भएको छ । अपेक्षाकृत बजेट विनियोजन नभएपछि पछिल्ला वर्षमा कर्णाली राजमार्गको सुधारका काम भईरहेको सडक डिभिजन जुम्लाले जनाएको छ ।




