जुम्ला । खानेपानी सिँचाई तथा उर्जा विकास कार्यालय जुम्लाले गत आर्थिक वर्षमा खानेपानी, सिँचाई तथा उर्जा विकासका ९२ वटा योजना निर्माण गरेको छ । कर्णाली प्रदेश सरकार मातहतको उक्त कार्यालयले एक वर्षमा ९२ वटा योजना निर्माण गरी अन्तिम भुक्तानी दिएको हो ।
कार्यालयको प्रगती प्रतिवेदन अनुसार आव २०८२÷०८३ मा कुल आयोजना संख्या १०४ वटा रहेकोमा कार्यान्वयन प्रक्रियामा ९४ योजना गएको र पूर्ण रुपमा ९२ वटा योजना सम्पन्न भई समुदायलाई हस्तान्तरण गरिएको छ । विशेष खानेपानी तर्फका नयाँ आयोजना निर्माण गर्ने, पुरानाको मर्मत गर्ने, सिँचाई कुलोको पनि मर्मत तथा नयाँ निर्माण र उर्जा विकासको पनि मर्मतको कार्य गर्दै आएको छ । कुल १७ करोड ७ लाख २६ हजार लगानीमा ९२ वटा योजना निर्माण सम्पन्न भएको खानेपानी सिँचाई तथा उर्जा विकास कार्यालय जुम्लाका प्रमुख अक्कल बहादुर महतले बताए । उनका अनुसार गत आवमा समग्र बजेट खर्च ७२.२ प्रतिशत भएको छ ।
चालु र पुँजीगत गरी कुल २६ करोड १२ लाख १३ हजार विनियोजन भएकोमा असार मसान्तसम्मा खर्च १८ करोड ८७ लाख २६ हजार भएको छ । भने, झण्डै ८ करोड चालु र पुँजीगत बजेट खर्च हुन सकेर फिर्ता भएको छ । पुँजीगत तर्फ कुल २३ करोड ८६ लाख विनियोजन भएकोमा ९२ वटा आयोजना निर्माण सम्पन्न भई अन्तिम भुक्तानी दिँदा १७ करोड ७ लाख २६ हजार अर्थात ७१.५५ प्रतिशत विकास खर्च भएको छ । पुँजीगत बजेट करिब ६ करोड फ्रिज भएको छ ।
न्युन जनशिक्त, कठिन भूगोल तथा प्रतिकुल मौसम र देशमा भएको जेन्जी आन्दोलन हुदैँ निर्वाचनका बीच पनि बजेट खर्चलाई प्रभावकारी बनाउन प्रयास गरिएको कार्यालय प्रमुख महतले उल्लेख गरे । सम्पन्न भएका ९२ वटा आयोजना मध्य बहुवर्षिय आयोजना एउटा, क्रमागत आयोजना २२ वटामध्य १८ वटा, नयाँ आयोजनहरु खानेपानी, सिँचाई र उर्जाका ६० वटा मध्य ५८ आयोजना सम्पन्न भएका छन् ।
त्यस्तै, अधुरा आयोजना पुर्ननिर्माण ५ वटा, अध्ययन सम्भाव्यता देखिएका १ वटा योजना, कर्णाली प्रदेश जनता सिँचाई आयोजना, कर्णाली प्रदेश जनता तटबन्धन आयोजना २ वटा र अन्य योजना तर्फ ५ वटा गरी कुल १७ करोड लगानीमा ९२ योजना निर्माण भएको कार्यालय प्रमुख महतले जानकारी दिए ।
क्षेत्रगत रुपमा हेर्दा सबैभन्दा बढी सिँचाई तर्फका योजना निर्माण भएको छ । प्रतिवेदन अनुसार सिँचाई तर्फ ५८वटा योजना निर्माण भएका छन् । भने नदी नियन्त्रण तर्फ १६ वटा, उर्जा विकास तर्फ एउटा आयोजना कार्यान्वनमै रहेको छ, भने एउटा योजना निर्माण भएको छ । खानेपानी तथा सरसफाई तर्फ १२ वटा योजना निर्माण सम्पन्न भएका छन् ।
५२५ हेक्टर सिँचाई विस्तार
खानेपानी, सिँचाई तथा उर्जा विकास कार्यालय जुम्लाले एकै वर्षमा ५२५ हेक्टर जमिनमा सिचाई विस्तार गरेको छ । गत आर्थिक वर्षमा ५८ वटा सिँचाईका योजना निर्माण बाट जिल्लाका आठ स्थानीयतहमा एक वर्षमा ५२५ हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा विस्तार भएको छ ।
२०७९ सालको बेमौसमी वर्षापछि आएको बाढीले जुम्लाका ३ सयदेखी ४ सय सिँचाई कुलामा क्षति पुराएको छ । अधिकांश सिँचाई कुला पुर्ननिर्माण भएका छैनन् । यदपी खानेपानी तथा सिँचाई कार्यालयले प्रथामिकता दिएर सिँचाई योजना निर्माण गर्दै आएको छ ।
खेतीयोग्य जमिन जोगाउनका लागि कार्यालयले नदी नियन्त्रणका काम पनि गरेको छ । जसमा अन्तरर्गत ५५ हेक्टर खेतीयोग्य जमिन बचाउन जग्गा उकास गरिएको छ । २७ किमी नहर निर्माण भएको छ । भने खानेपानी आयोजना निर्माणबाट जिल्लाका ३ हजार घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । ग्यामिन जाली सहितको पक्की पर्खाल ६ किमी निर्माण गरिएको छ ।
कार्यालयका आयोजनाबाट प्रत्यक्ष रुपमा स्थानीय बढी लाभान्वित भएको कार्यालय प्रमुख महतको दाबी छ । यदपी जनशक्ति अभावका लक्ष्यनुसार काम गर्न नसकिएको प्रमुख महतको भनाई छ ।
कर्मचारी अभावले समस्या
जुम्ला स्थित खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । कार्यालयमा प्रविधिक कर्मचारीको दरबन्दी अनुसारका लामो समयसम्म पदपुर्ति हुन नसक्दा कार्यालयको सेवा प्रवाहमा समस्या भएको छ ।
कार्यालयमा २१ वटा दरबन्दीमध्ये अहिलेसम्म ११ वटा पदपुर्ति भएको छ । अझै १० वटा पदपुर्तिहुन सकेको छैन । दरबन्दी अनुसार कर्मचारी हुनुपर्ने भए पनि हालसम्म पदपुर्ति हुन नसकेको कार्यालय प्रमुख महतको भनाइ छ । दरबन्दी अनुसार अधिकृत छैटौ इन्जिनियर दुई ,सव–इन्जिनियर पाँचौ तीन, प्रविधिक सहायक चौथो तीन, र उर्जा प्रविधिक दुई वटा कर्मचारी रिक्त रहेको छ । कर्मचारी अभावहुँदा सेवा प्रवाहमा ढिलासुस्ती र योजना अनुगमनमा प्रविधिक कर्मचारी अभावले काम ढिलासुस्ती हुँदा सेवाग्राहीको गुनासा आउने गरेको खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालयले जनाएको छ ।




