मुगुमा माथिबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु

मुगु ।  मुगुको खत्याड गाउँपालिकामा माथिबाट खसेको ढुङ्गा लागेर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार खत्याड गाउँपालिका वडा नम्बर ८ रिया बस्ने अन्दाजी ६३ वर्षीय बाँच गिरीको बिहीबार मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायक उपनिरीक्षक रविराज थपलियाले जानकारी दिए । गाउँपालिकातर्फ जाने क्रममा खत्याड गाउँपालिका वडा नम्बर ११ सेरा भन्ने ठाउँमा माथिबाट एक्कासि ढुङ्गा खस्दा गिरीको टाउको र दाहिने हातमा गम्भीर चोट लागेको थियो।

घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय रातापानी मुगुबाट प्रहरी हवल्दार गणेश प्रसाद चालिसेको कमाण्डमा ३ जनाको टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोलीले घाइते गिरीलाई उद्धार गरी मध्यान्ह १२:०० बजे आधारभूत स्वास्थ्य केन्द्र रातापानी मुगुमा उपचारका लागि ल्याएको थियो। तर, उपचारकै क्रममा दिउँसो १:१० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको समयमा मृतक गिरीका छोरा प्रेमलाल गिरी पनि साथमै रहेका थिए।

घटनास्थल इलाका प्रहरी कार्यालय रातापानीबाट करिब २ किलोमिटर पूर्वमा पर्दछ। घटनाको थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी निरीक्षक पदम बहादुर खत्रीको कमाण्डमा सोको सहित ५ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। उक्त घटनास्थल जिल्ला प्रहरी कार्यालय मुगुबाट करिब ८ घण्टा पश्चिम दूरीमा रहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ भाद्र २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस