बाढीले बुवा र भाइ खोस्यो, आमाको सहारा बनिन् रिता

जुम्ला – रसुवाको भोटेकोशीमा आएको बाढीले बुवा र भाइलाई बेपत्ता बनाएपछि पातारासी गाउँपालिका–४ लाम्रीकी २१ वर्षीया रिता भण्डारी अहिले ४० वर्षीया आमा बाँचुकली भण्डारीको सहारा बनेकी छन् ।

रिताका ३८ वर्षीय बुवा अम्मर भण्डारी र १९ वर्षीय भाइ अनिल भण्डारी दसैँ–तिहारमा घर फर्किने र परिवारका लागि आवश्यक सामग्री ल्याउने उद्देश्यले रोजगारीका लागि रसुवा पुगेका थिए । तर, ०८३ भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि दुवैजना सम्पर्कविहीन भए ।


लामो समयसम्म खोजी गर्दा पनि कुनै खबर नआएपछि परिवारले धार्मिक संस्कारअनुसार कुशको शव बनाएर सद्गत गर्ने निर्णय ग¥यो । लाम्री गाउँका बाढीमा बेपत्ता १५ जनाका परिवारले असोज ७ गते सामूहिक रूपमा कुशको शव बनाएर सद्गत गरेका छन् । बुवा र भाइको दाहसंस्कार रिताले नै गरिन् ।


“बुवा र भाइ फर्केर आउलान् भन्ने आशा थियो । लामो समयसम्म खबर नआएपछि कुशको शव बनाएर दाहसंस्कार गर्नुप¥यो,” रिताले भनिन्, “अब घरमा आमा र म मात्रै छौँ । आमाको सहारा पनि म नै बन्नुपर्ने भएको छ ।” भोटेकोशी बाढीमा पातारासी गाउँपालिकाका १८ देखि ४५ वर्ष उमेर समूहका दर्जनौँ युवा सम्पर्कविहीन छन् । रोजगारीका लागि रसुवा पुगेका युवा बेपत्ता भएपछि कतिपय परिवारले पति, छोरा, भाइ र बुवा गुमाएका छन् ।


ऋणमोक्ष माध्यमिक विद्यालयका शिक्षक कृष्ण बुढाका अनुसार भदौ १० गतेको बाढीले पातारासीका धेरै परिवारको सहारा खोसेको छ । रोजगारीका लागि रसुवा पुगेका गाउँका युवाहरू गुमेपछि परिवारहरू शोकसँगै आर्थिक संकटमा समेत परेका छन् ।

प्रकाशित मिति : २०८३ असोज १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस