जुम्ला – बाल अधिकार संरक्षण प्रणालीलाई स्थानीय तहमा थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले जुम्लामा बाल कल्याण अधिकारीलाई दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । नेपाल सरकार तथा राष्ट्रिय बाल अधिकार परिषद्को समन्वयमा सेभ द चिल्ड्रेन, सिसिआर कर्णाली लगायतका साँझेदार संस्थाको सहयोगमा सञ्चालित “बाल अधिकार संरक्षण प्रणाली स्थापना तथा प्रभावकारी परिचालन सम्बन्धमा दुई दिने क्षमता अभिवृद्धि तालिम” सुरु भएको हो । तालिम सञ्चालन असोज १५ देखि १६ गतेसम्म सञ्चालन हुनेछ ।
तालिमको अध्यक्षता सिसिआर कर्णालीका अध्यक्ष टिकाराम आचार्यले गरेका छन् । कार्यक्रममा जिल्ला समन्वय समितिका समन्वय प्रमुख प्रमुख अतिथि तथा जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी विशेष अतिथिका रूपमा सहभागी भएका छन् ।
तालिममा स्थानीय तहमा बाल संरक्षणका जोखिम पहिचान तथा रोकथाम, बाल संरक्षणका घटनाको प्रभावकारी व्यवस्थापन, बाल अधिकारसम्बन्धी कानुनी तथा नीतिगत व्यवस्था, बालबालिकाको संरक्षण तथा सेवामा पहुँच, घटना व्यवस्थापन तथा सम्बन्धित निकायबीचको समन्वयलगायतका विषयमा छलफल तथा क्षमता अभिवृद्धि गरिँदैछ ।
कार्यक्रममा सहभागी वक्ताहरूले स्थानीय तहमा बाल अधिकार संरक्षण प्रणालीलाई प्रभावकारी बनाउन बाल कल्याण अधिकारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार, बालविवाह तथा अन्य जोखिम न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय, सेवा प्रदायक संस्था तथा विकास साझेदारबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा उनीहरूले जोड दिएका छन् ।
तालिममा जुम्ला, मुगु र कालिकोटका २१ वटा स्थानीय तहका बाल कल्याण अधिकारीहरूको सहभागिता रहेको छ । साथै बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न विकास साझेदार तथा सरोकारवाला संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ ।
तालिमको सहजीकरण राष्ट्रिय बाल अधिकार परिषद्का डम्बरबहादुर रोकाया, टेक राज आचार्य र तुलाराम पाण्डेले गरेका छन् ।
“बालापनको रक्षा ः भविष्यको सुरक्षा” तथा “सम्मानजनक बालअधिकारको सुनिश्चितता ः हामी सबैको प्रतिबद्धता” भन्ने नाराका साथ सञ्चालन भइरहेको तालिमबाट प्राप्त ज्ञान, सीप र सिकाइलाई सम्बन्धित स्थानीय तहमा बाल अधिकार संरक्षण प्रणालीलाई थप व्यवस्थित, समन्वित र प्रभावकारी बनाउन प्रयोग गरिने आयोजकले जनाएको छ ।




