भेडाबाख्रामा फैलियो अज्ञात रोग, औषधि उपचार नपाएको गुनासो

अज्ञात रोगले जाजरकोटको छेडागाड नगरपालिका– ७ मा रहेको पौँजा भन्ने ठाउँमा २५ वटा भेडा मरेका हुन्

जुम्ला – तिला गाउँपालिका– ५ ढिम्कोट गाउँमा पशुचौपाय भेडाबाख्रामा अज्ञात रोग फैलिएपछि २५ ओटा भेडा मरेका छन् । अज्ञात रोगले जाजरकोटको छेडागाड नगरपालिका– ७ मा रहेको पौँजा भन्ने ठाउँमा २५ वटा भेडा मरेका हुन् । भेडा पालक किसान कर्णविर शाहीका ४० वटा भेडामध्ये २५ वटा भेडा मरेका छन् ।
कुन रोगले भेडा मरेका हुन एकिन हुन सकेको छैन । पशु चिकित्सकलाई सो ठाउँमा लिन पनि मुस्किल भइरहेको छ । भेडा धमाधम मर्न थालेपछि भेडा पालक किसान शाही चिन्तित बनेको तिला गाउँपालिका – ५ का वडाध्यक्ष ललित शाहीले बताए । तीन दिन भेडा धमाधम मर्न थालेपछि राहत र उपचारका लागि सम्बन्धि निकायलाई जानकारी गरेपनि अहिलेसम्म कुनै उद्दार नभएको भेडापालक किसान कर्णविर शाहीले गुनासो गरे ।
भेडा किसान शाहीका अनुसार जाजरकोटको छेडागाड नगरपालिका– ७ मा रहेको पौँजा भन्ने ठाउँमा चरिचरणका लागि जुम्लादेखि लिएका थियौँ । तीन दिनभित्र अहिलेसम्म २५ वटा भेडा मरिसके । बिरामी भेडाको मुखबाट र दिसा पिसाव गर्ने ठाउँबाट रगत निस्कने गरेको छ । बाँकी रहेका भेडालाई बचाउन सरोकारवालासँग हारगुहार गरेपनि सुनुवाइ हुन सकेको छैन । रगत निस्किएको एकघण्टाभित्रै भेडा मर्ने गरेको भेडा पालक किसान शाहीले बताए ।
वडाध्यक्ष ललित बहादुर शाहीका अनुसार गत आव २०८०– ८१ को जिल्ला पशु सेवा कार्यालय जुम्ला र तिला गाउँपालिकाको संयुक्त कार्यक्रम अन्तर्गत माइथाप्ला भेडा पकेट कार्यक्रमबाट तिला गाउँपालिका – ५ का विपन्न घरपरिवारलाई भेडा वितरण गरिएको हो ।
पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रबहादुर बुढ्थापाका जाजरकोटको पशु अस्पतालका प्रमुख कपिल प्रसाद उपाध्यायलाईलाई घटनाको जानकारी गरिएको छ । किसानका भेडा बचाउन सबै निकायसँग पहल भइरहेको छ । भेडा राखेको ठाउँमा आवश्यक चिकित्सकको टोली पठाइ भेडामा लागेको रोग पहिचान गरिने पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख बुढ्थापाले बताए ।

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस