हाई अल्टिच्युट ट्रेनिङ सेन्टरः बजेट अभावदेखी जग्गा विवादले निर्माण अलपत्र

२०७४ पछि निर्माण सुरु भएको ट्रेनिङ सेन्टरकहिले बजेट अभाव त कहिले जग्गा बिवादले पछि धकेलिदैँ गएको छ ।
जग्गा विवादले अलपत्र परेको पातारासी ३ स्थित ट्रेनिङ सेन्टरको खेल मैदान । तस्बिरः कर्णाली मिसन ।

जुम्ला । जुम्लाको पातापानी वडा नंं. ३ स्थित निर्माणधिन ‘कर्णाली हाई अस्टिच्युट ट्रेनिङ सेन्टर’ आठ वर्षदेखी अलपत्र परेको छ । विश्वकै सर्वाधिक उचाईमा धान फल्ने छुमचौरमा निर्माण सुरु भएको कर्णालीकै पहिलो ‘कर्णाली हाई अस्टिच्युट ट्रेनिङ सेन्टर’ विगत आठ वर्षदेखि अलपत्र परेको हो ।

निर्माण थालनी भएदेखि कहिले बजेट अभाव त कहिले जग्गा विवादका कारण रोकिएको निर्माण कार्य अझै अघि बढ्न सकेको छैन् । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्यि खेलकूद प्रतियोगितामा एथेलेक्टीक्स तर्फका केही खेल जुम्लामै खेलाउने भनिएपनि पूर्वाधार तथा समन्वय अभावले जुम्लामा खेल हुने टुंगो छैन् ।

खेलकूद पूर्वाधार अभावकै बीच डाँडापाखामा दौडिएर विश्व किर्तिमानी कायम गरेका धावक हरिबहादुर रोकाया देखी रोकायाकै प्रेरणाले दौडिएर हाल नेपाल चिनाईरहेकी सुनमाया बुढासम्मले पूर्वाधारकै अभाव झेलिरहेका छन् ।

जुम्लामा खेल क्षेत्रमा यूवा यूवतीको आर्कषण बढ्दै गएपनि प्रयाप्त संरचना नबन्ने,निर्माण सुरु भएका पूर्वाधार पनि अलपत्र पर्ने,प्रायः बजेट अभाव भईरहने र जग्गा बिवाद जस्ता समस्याले जुम्लाको खेल क्षेत्र खुम्चीदैँ गएको छ । निर्माणको सुरुवातीमा बजेट अभाव झेलेको हाई अस्टिच्युट ट्रेनिङ सेन्टर अहिले जग्गा बिवादका कारण निर्माण कार्य रोकिएको छ । चालु आवमा संघ र प्रदेशबाट करोडौ बजेट विनियोजन भएपनि जग्गा विवादले काम अघि बढ्न नसकेको पाइएको छ । बिवाद मिलाउने र काम अघि बढाउने स्थानीय सरकारको प्रयास भने अझै सफल हुन सकेको छैन् ।

२०७४ साल पुष ३ गते युवा तथा खेलकुद मन्त्रालयका तत्कालीन सचिव महेश दाहालले मैदान निर्माणका लागि आवश्यक मापदण्ड र भौगोलिकताको अनुगमन गरेपछि प्रसिद्ध पातारासीमा ‘कर्णाली हाई अस्टिच्युट ट्रेनिङ सेन्टर’ योजना बन्यो ।
पूर्वाधार अभावले अभ्यास गर्न नपाएर कर्णालीको खेल प्रतिभा खुम्चीनु परेको बाध्यात्मक अबस्थालाई मध्यनजर गरी ट्रेनिङ सेन्टर निर्माण गर्न निःशूल्क आबश्यक जग्गा दिन त्यतिबेला स्थानीयहरु राजी भए ।

जग्गा उपलब्ध हुने भएपछि आर्थिक वर्ष ०७४÷७५ मा ट्रेनिङ सेन्टरको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) समेत तयार गरियो । उक्त प्रतिवेदनले विश्वकै अग्लोस्थानमा सुविधायुक्त हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणका लागि ३२ करोड रुपैयाँ लगानी लाग्ने देखायो ।

तर अहिले सम्म ट्रेनिङ सेन्टरको जग्गा सम्याउनका लागि करिब ३ करोड रुपैया खर्च भईसकेको छ । यदपी, आयोजनाले पूर्णता पाउन बजेट अभावनै मुख्य बाधक बनेको छ । गाउँमै सुविधायुक्त ट्रेनिङ सेन्टर पाउने स्थानीयको आशा निरासा मात्र बनेको छैन् । जग्गा बिवाद निम्तीएपछि निर्माणनै अन्यौल भएको छ ।

अलपत्र ट्रेनिङ सेन्टरलाई अघि बढाउन तत्कालीन खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पनि गत बैशाखमा जुम्ला पुगेर अनुगमन गरेपछि केही बजेट विनियोजन गर्ने आश्वासन दिए । अलपत्र हाईअल्टिच्युट ट्रेनिङ सेन्टरलाई क्रमागत योजनामा राख्ने र आर्थिक वर्ष ०८१÷८२ मा १० करोड रुपैयाँ विनियोजन गर्ने प्रतिवद्धता समेत गरे । यदपी, चालु आर्थिक वर्षमा संघिय सरकारले ट्रेनिङ सेन्टरका लागि ६ करोड २९ लाख बजेट विनियोजन गरेको छ ।

बजेट विनियोजनपछि स्थानीय उत्साहित भएपनि निर्माण कार्य अघि बढ्न नसक्दा विनियोजित बजेट फ्रिज हुने समस्या बढेको छ । पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोरा पहिला बजेट अभावले र अहिले जग्गा बिवादले काम अघि बढ्न नसकेको बताउँछन् ।

‘हाईअल्टीच्युट टेर्निङ सेन्टरका नाममा जग्गा पास नहुँदा काम अगाडि बढ्न सकेको छैन् ।’ उनले भने,‘विद्यालयको नाममा रहेको जग्गा हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणका लागि प्रयोग गर्ने कि अर्को ठाउँमा निर्माण गर्न विषयमा विवाद सिर्जना हुँदा कामले गति लिन सकेन् । जग्गा विवादको विषयमा जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठकबाट निर्णय गरेर छिट्टै जग्गा विवाद टुंगो लगाउने, निर्माणको काम अगाडि बढाउने भनिएपनि विवाद सुल्झीन सकेको छैन् । जसका कारण टेर्निङ सेन्टर अलपत्र बनेको छ ।’

विद्यालयको जग्गा छोडेर बाँकी रहेको जग्गामा हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माण गन सकिने सम्भावना छ । तर जग्गा विवादको कारण देखाएर संरचनानै बन्न नदिने र आएको बजेट पनि फिर्ता पठाउने चलखेल भएको अध्यक्ष बोहोराको आरोप छ । विगतमा स्थानीयले जग्गा दान दिने,स्कुलको जग्गा पनि उपलब्ध गराउने भद्र सहमती भएपनि अहिले विद्यालय र स्थानीयलेनै आनाकानी गर्दा समस्या उत्पन्न भएको छ । यता पातारासी गाउँपालिका वडा नं. ३ का अध्यक्ष गोविन्द रावत भने ट्रेनिङ सेन्टरलाई चाहिने जग्गा वडा नं ३ का स्थानीयवासीले निःशुल्क दान गर्ने प्रतिबद्धता जनाएको हुँदा उक्त जग्गा पासको प्रक्रिया अघि बढेको दाबी गर्छन् ।

यदपी जग्गा टेर्निङ सेन्टरका नाममा पास नभएकै कारण काम रोकिएको छ । दान गर्ने भनिएको जग्गा सहजै पास नहुँदा निर्माण अलपत्र पर्नुका साथै बजेटनै फ्रिज जाने संभावना बढेको छ । योजनालाई उपलब्ध गराउने भनिएको जग्गा पास नहुँदा काम रोकिएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाका सूचना अधिकारी चन्द्र बहादुर खड्का बताउँछन् ।

उनका अनुसार स्थानीय पूर्वाधार विकास आयोजना सुर्खेतमा ४ करोड र सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लामा २ करोड २९ लाख ३० हजार रूपैयाँ बजेट ट्रेनिङ सेन्टरको लागि विनियोजन भएको उनको भनाई छ । तर जग्गा पास नभई काम अघि बढ्ने स्थिती छैन् ।

हाइ अल्टिच्युट मैदानमा भलिबल, फुटबल, कराते, बक्सिङ, तेक्वान्दो, बास्केट बल, एथलेटिक्स लगायत दुई दर्जन बढीका खेल मैदान निर्माण गरिने छ ।भने स्विमिङ पुल, लैंगिकमैत्री छात्रावास, सुरक्षागार्ड, पाहुना घर, टिकट काउन्टर लगायतका पूर्वाधार निर्माण गरिने डिपिआरमा उल्लेख छ ।

साथै उक्त ट्रेनिङ सेन्टरको खेल मैदान निर्माणका लागि पातारासी गाउँपालिकाले गत आर्थिक वर्षमा १० लाख बजेट विनियोजन गरेको थियो । २०८० फागुन महिनाको २७ गतेका दिन सुरु भएर २०८१ असार २० गते निर्माण सम्पन्न हुने गरी खेल मैदान निर्माण थालिएको थियो । उक्त बजेट खर्च भएर मैदान निर्माण समेत भईसकेको छ ।

यदपी जग्गा ट्रेनिङ सेन्टरको नाममा नभएपनि तीनैतहका सरकारले पटक पटक लगानी भने गर्दै आएको छ । पूर्वाधार निर्माणपछि खेल प्रर्बद्धन संगै जुम्लाको स्याउ,सिमि,मार्सी,जडिबुटिको बजारीकरणमा टेवा पूग्ने र जुम्ला खेल पर्यटन क्षेत्रका रुपमा समेत विकास हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस