जुम्ला – जेठ महिनाको पहिलो सातादेखि जुम्लामा धान रोपाई सिजन सुरु भएको छ । यहाँका धेरै जसो किसानले धान रोप्ने गर्दछन् । धान यहाँको प्रमुख अन्नबाली पनि हो । तत्कालिन १४ औँ जिल्ला परिषद्ले जुम्लालाई विषादी रहित अर्गानिक जिल्ला घोषणा गरेपनि किसानले धान खेतमा झारनासक विषादी (व्यूटाकुलर) प्रयोग गर्ने गरेको पाईन्छ ।
झारनासक विषादीले (व्यूटाकुलर) जलचरदेखि मानिस र पशुपक्षीलाई समेत असर गर्ने भएपछि किसानले यसको प्रयोग गर्न छोडेका छैनन् ।
तातोपानी गाउँपालिकाले धानबालीमा प्रयोग हुने विषादी (व्यूटाकुलर) रोकथाम र नियन्त्रण गर्नका लागि कार्यपालिकाबाट निर्णय नै गरेको उपाध्यक्ष रेवती रावलले बताइन् । उनले भनिन्, यो धानबालीमा प्रयोग हुने विषादी रोक्नका लागि गाउँबस्तीदेखि वडा र पालिका स्तरसम्म सचेतीकरणका कार्यक्रम थालेका छौँ ।

सचेतीकरणसँगै कृषि प्राविधिक, जनप्रतिनिधि, नागरिक समाजलगायतको संयूक्त अनुगमन टोलीसमेत खटाइने छ । सचेत गर्दागर्दै विषादीको प्रयोग गर्ने किसानलाई सुचिकृत गरी गाउँपालिकाबाट प्रदान गरिने सेवासुविधासहित अनुदानसमेत निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतले बताए ।



