सडकमा गुणस्तरहिन कालोपत्रे

कालोपत्रे उप्किएपछि राजनीतिक दलका प्रतिनिधिले गराए सिडिओको ध्यानाकर्षण

जुम्ला – कर्णाली रामजमार्ग अन्तर्गत जुम्ला खण्डमा गरिएको कालोपत्रे गुणस्तरहिन देखिएको छ । चन्दननाथ नगरपालिका – ७ स्थित ट्राफिक कार्यालय नजिक कालोपत्रे उप्किएपछि गुणस्तरहीन भएको पुष्टि भएको हो । सडक डिभिजन जुम्ला मार्फत उज्वल सानदार जेभी निर्माण कम्पन्नीले गरेको कालो कालेपत्रे गरेको हो ।


ठेकेदारले गुणस्तरहिन कालोपत्रे गरेको भन्दै स्थानीयले आक्रोस भएका छन् । दुई सय टनको रोलर लगाएर गरिएको कालोपत्रे (पिच) स्थानीयले हातले नै उप्काएका छन् । गुणस्तरहिन कालोपत्र गरिएको भन्ने विषयमा चौतर्फी विरोध भएको छ ।
उप्किएको कालोपत्रे घटनाका विषयमा जुम्लाका राजनीतिक दलहरुले चासो देखाएका छन् ।


राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक मक्कर बहादुर भण्डारीले गुणस्तरहिन कालोपत्रे सडकका विषयमा सिडिओको ध्यानाकर्षण गरिएको बताएका छन् । उनले भने, सवैको नजर पर्ने ठाउँमै गुणस्तरहिन सडक निर्माण गरिएको छ । अन्य ठाउँमा कस्तो होला । यो चासोको विषय बनेको छ ।


नेकपा माओवादी केन्द्र जुम्लाका चन्दननाथ नगर अध्यक्ष सुरेन्द्र महतका अनुसार विकास निर्माणका काममा गुणस्तरहिन देखि आर्थिक अनियमतिताका काम भएका देखिन्छन् । तर अक्तियार प्राप्त निकाय जिल्ला प्रशासन कार्यालले चासो नदेखाएको देखिन्छ । यस्ता विषयमा राजनीतिक दलहरुको तर्फबाट गम्भीर ध्यानाकर्षण गरेका छौँ ।


प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माका अनुसार गुणस्तरहीन कालोपत्र उप्किएको विषय सामाजिक सञ्जालमा देखिएपछि सडक डिभिजनका कर्मचारीलाई प्रशासनमै बोलाएको छु । उहाँहरु फिल्डतिर भएकाले छलफल हुन पाएको छैन । फिल्डबाट सिधै प्रशासनमा आउदैछन् । गुणस्तरहिन सडक पीचका विषयमा आवश्यक कारवाही हुने छ ।

प्रकाशित मिति : २०८२ साउन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस