तातोपानीमा गुणस्तरहिन मल बितरण भएको भन्दै किसान आक्रोसित

जुम्ला – तातोपानी गाउँपालिकामा गुणस्तरहीन गड्यौला मल वितरण गरेको भन्दै किसान आक्रासित भएका छन् । आर्थिक वर्ष २०८१/०८२ मा जनतासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत किसानलाई मल वितरण गरिएको हो ।
मल चितवनस्थित दिब्या अर्गानिक फटिलाइजर कम्पनी प्रालिले उपलब्ध गरेको थियो । उक्त कम्पनिले लामो समयदेखि जुम्लामा थन्किएको गुणस्तरहिन मल बितरण गरेको पाइएको छ । २०८२ साउन ७ गते कम्पनीले रातो माटो जस्तो देखिने गुणस्तरहिन मल वितरण गरेपछि तातोपानीका किसान आक्रोसित भएका हुन् ।
जुम्लामा उक्त कम्पनीको सम्पर्क ब्यक्ति भैरव कठायतले सो मल दुई बर्षदेखि तातोपानी गाउँपालिका नजिक स्टोर गरी राखेको बताए । दिब्या अर्गानिक फटिलाइजर कम्पनी प्रालिका सञ्चालक नरेन्द्र गिरीसँग चिनजान भएकोले आफुले सहयोग गरेको कठायतको भनाइ छ ।


उता कम्पनीका सञ्चालक नरेन्द्र गिरीले २०७४ सालमा कर्णाली प्रदेश सरकारका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीसँग चिनजान भएपछि चिनजानकै आधारमा जुम्लामा एक लाख किलोग्राम गड्यौला मल पठाएको बताए । लामो समय राख्दा पनि मल गुणस्तरहिन नहुने तर हावा र पानी छिरेपछि मलले खासै काम नगर्ने कम्पनीका सञ्चालक गिरीको भनाइ छ ।


यता लामो समयदेखि स्टोर गरी राखिएको मलको बोरा फुटेपछि कम्पनीको नामनै फरक भएको चितवन अर्गानिक फटिलाइजर कम्पनीको बोरामा गुणस्तरहिन मल भरी किसानलाई वितरण गरिएको पाइएको छ । गाउँपालिकाले २५ किलोग्रामका ३५५ बोरा मल वितरण गरिएको छ । सो मलको पालिकाले दिब्या अर्गानिक फटिलाइजर कम्पनीलाई तीन लाख १५ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
उपाध्यक्ष रेवती रावलले जनतासँग उपाध्यक्ष कार्यक्रम अन्र्तगत तातोपानीका किसानलाई मल वितरण गरी कृषि उत्पादनमा टेवा पुर्याउने हेतुले मल वितरण गर्न खोजिएको तर कम्पनीले बदमासी गरेर किसानलाई झुक्याउने गरेकोप्रति दुख व्यक्त गरिन् ।

नेकपा माओवादी केन्द्र तातोपानी गाउँपालिका कमिटि जुम्लाले किसानलाई वितरण गरेको गड्यौला मलको गुणस्तर र म्याद सम्वन्धी विरोध भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष जक्तिप्रसाद न्यौपाने र इन्चार्ज लक्ष्मीप्रसाद उपाध्यायले (दिपक) हस्ताक्षर गरेको जारी प्रेस विज्ञप्तिमा भनिएको छ, यो घटनामा संलग्न जो सुकै भएपनि छानविन गरी कानुनी दायरामा ल्याएर कारवाही गर्न माग गर्दछौँ ।


तातोापानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईका अनुसार मल ल्याब परीक्षण गर्नका लागि प्रयोगशालामा पठाएको छ । परीक्षणबाट गुणस्तरहिन मल देखिएमा कम्पनीलाई कानुनी दायरामा ल्याउने छ ।

प्रकाशित मिति : २०८२ साउन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस