जुम्लाका ७ हजार उद्यमीको नेतृत्व गर्दै दुई महिला

भृकुटी नेपाली (बायाँ), हस्तना न्यौपाने (दायाँ) । तस्बिरः कर्णाली मिसन

जुम्ला । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको तथ्यांक अनुसार हाल जुम्लामा ७ हजार ६६२ वटा उद्योग दर्ता भएका छन् । जसमा उद्योग उत्पादन तर्फ ४ हजार ४१७ र बाणिज्य उद्योग तर्फ ३ हजार २६५ उद्योग दर्ता रहेका छन् ।
कूल दर्ता भएका उद्योगमध्य हाल ६ हजार १४७ उद्योग मात्रै संचालनमा रहेका छन् ।

भने करिब १५ सय उद्योग बन्द अबस्थामा छन् । त्यसमा पनि उत्पादनमुखी उद्योग दर्ता भएका ४४ सय १७ उद्योगमध्य भने ३ हजार ६९ उद्योग संचालनमा हुँदा १३ सय ४८ उद्योग बन्द भएका छन् । त्यस्तै बाणिज्य उद्योग तर्फ जम्मा दर्ता भएका ३२ सय ६५ उद्योग मध्य ३ हजार ७८ उद्योग संचालनमा छ । भने १ सय ८७ वटा उद्योग बन्द भएका छन् । यसरी हाल सम्म १५ सय ३५ उद्योग बन्द भएका छन् ।

जिल्लामा रहेका सात हजार बढी उद्योग तथा उद्योगीहरुको नेतृत्व र पेशागत वकालत गर्ने जिम्मेवारी महिलाले पाएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ जुम्ला र महिला उद्यमी समितिको अध्यक्षमा दुबै जना महिला चयन भएका छन् । जिल्लाको उद्योगी व्यवसायीको नेतृत्व गरेपछि अबसरसंगै चुनौती रहेको बताएकी छन् ।

जुम्ला आठ वटै पालिका स्तरमा हुँदै जिल्लामा गरिएको अधिवेशनबाट नेपाल घरेलु तथा साना उद्योग महासंघ जुम्लाको तेस्रो अधिवेशनबाट अध्यक्षमा तातोपानी गाउँपालिका वडा नं ५ निवासी भृकुटी नेपाली निर्वाचित भएकी छन् । नेपालीको अध्यक्षतामा १५ सदस्यीय समिति निर्वाचित भएको छ ।

तातोपानी गाउँपालिका कार्यपालिका सदस्य समेत रहेकी नेपालीले फर्निचर उद्योग संचालन गरिरहेकी छन् । उनलाई जिल्लाभरीका उद्योगी व्यवसायीले घरेलु तथा साना उद्योग महासंघको जिम्मेवारी सर्वसम्मत सुम्पेका हुन् । त्यसैगरी महिला उद्यमी समिति जुम्लाको दोस्रो अधिवेशनबाट अध्यक्षमा हस्तना न्यौपानेलाई चयन गरिएको छ । न्यौपानेको अध्यक्षतामा ७ सदस्यीय समिति चयन भएको छ ।

चन्दननाथ नगरपालिका वडा नं १० निवासी लामो समयदेखी डेरी उद्योग संचालन गर्दै आएकी न्यौपाने पनि सर्वसम्मत महिला उद्यमी समितिकी अध्यक्ष चयन भएकी हुन् ।जुम्लामा दर्ता भएका सात हजार बढी उद्योग मध्य अधिकांश उद्योग महिलाका नाममा छन् । महिलाका नाममा उद्योग दर्ता गर्दा राजश्व कम लाग्ने प्रावधान छ ।

उद्योगी व्यवसायीका पेशागत सुरक्षा र औधोगिक विकासका लागि क्षामताले सकेसम्म काम गर्ने अध्यक्ष भृकुटी नेपालीले बताईन्। उनले भनिन,’जिल्लामा उद्योगहरुको अबस्था जिर्ण छ । उद्योग बन्द हुने क्रम बढ्दो छ । अनुदान वास्तविक उद्यमी भन्दा नेताका कार्यकर्ताले पाउने समस्या छ । यी विभिन्न समस्या समधानका काम गरिने छ ।’

महिला उद्यमी समितिकी अध्यक्ष हस्तना न्यौपानेले उद्यमशीलतामा महिलालाई जोड्नका लागि समितिले आफ्ना कामहरु अघि बढाउने बताईन् । उद्यमशीलतामा लागेका महिलाहरु अझै राज्यको उपेक्षामा रहेकाले महिला उद्यमीका लागि वकालत गर्न जरुरी रहेको उल्लेख गरिन् ।

नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण
नेपाल घरेलु तथा साना उद्योग महासंघ र महिला उद्यमी समितिका नवनिर्वाचित अध्यक्ष सहितका अन्य पदाधिकारीलाई सपथ ग्रहण गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेश महासंघका उपाध्यक्ष सुर बहादुर बुढाले सर्वसम्मत छनोट भएका पदाधिकारीलाई आज सपथ गराएका हुन् ।

उपाध्यक्ष बुढाले जिल्लामा विभिन्न पेश व्यवसायमा आवद्व भई महनसंघमा जोडिएर जिल्लाको ओैधोगिक विकासमा उल्लेखीय काम गर्नु पर्ने बताए । कोरोनापछि अर्थतन्त्र थलिएपछि त्यसको प्रत्यक्ष प्रभाव उधोगमा परेको छ । उनले भने,‘तीनै तहमा उधोगको संरचना विस्तार भएको छ । अब उद्योगीका पेशागत वकालतका काम गर्नु पर्ने देखिएको छ ।’ भौगोलिक विटुकटताले कच्चा पर्दाथको अभाव तथा बजारीकरणमा समस्या देखिएको उनको भनाई छ ।

उद्यमी पदम रोकायाले समिति गठन संगै उद्यमीका पक्षमा समितिलाई क्रियाशिल बनाउन सुझाव दिए । उनले भने,‘जिल्लामा उत्पादित वस्तु थन्कीएको छ । बहिरको बस्तुले बजार पाएको छ । अब वास्तविक उद्यमी सरकारी सेवा सुविधाबाट लाभान्वित हुने गरी समितिले काम गर्नु पर्याे । वास्तविक किसान उद्यमी सधै उपेक्षामा छौ । राजनीति गर्नेले मात्रै लाभ पाएका छन् ।’

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाँईले महिला उद्यमी लाइ हरेक क्षेत्रमा प्रथामिकता दिनकालागि पहल गर्नु पर्ने बताए । उधमशीलता विकासमा तथा प्रर्बद्वनमा पत्रकारहरुले आफ्नो भुमिका निर्वाह गर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २०८२ भाद्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस