जुम्लामा दर्जनबढी आयोजना अलपत्र, गुणस्तर निर्माणमा दलहरुको चासो

जुम्लामा एकदशक देखी अलपत्र सभाहल । तस्बिरः कर्णाली मिसन

जुम्ला । जुम्लामा एकपछि अर्को आयोजना अलपत्र पर्ने र योजना निर्माणमा चरण ढिला सुस्ती भएपछि यहाँका राजनीतिक दलहरुले विशेष चासो देखाएका छन् । निर्धारित समय भन्दा धेरै ढिला सुस्ती भएको, गुणस्तरहीन योजना निर्माण भएको, तथा अधिकांश योजना अलपत्र जस्तै परेकाले दलहरुले चासो देखाएका हुन् ।

बुधबार जिल्ला प्रशासनमा बसेको सर्वपक्षिय बैठकमा जिल्लाको विकासमा भएको ढिलासुस्ती अलपत्र आयोजना निर्माणलाई गतिदिन विकास कार्यालय तथा ठेकेदार जिम्मेवार बन्नु पर्ने र दल तथा नागरिक अगुवाले समन्वय सहकार्य गर्नुपर्ने निर्णय भएको छ ।

विशेषगरी जुम्लामा विकास निर्माण संग सम्बन्धीत सघन सहरी तथा भवन निर्माण आयोजना, सडक डिभिजन, पूर्वाधार विकास कार्यालय, धौलिगाड खानेपानी आयोजना, लगायतका कार्यालय प्रमुख संग छलफल गरिएको हो । काँग्रेस उपसभापति कार्मा बुढा, एमाले अध्यक्ष शान्तिलाल महत,माओबादी पार्टीका सचिव नविन शर्मा, रास्वपा संयोजक मक्कर भण्डारी, राप्रपा नेता मनसुर सुनार लगायतको उपस्थितीमा विकासे कार्यालयको ध्यानर्कषण गराइएको हो ।

संघन सहरी तथा भवन निर्माण आयोजना मार्फत जुम्लामा संचालित आयोजनाहरु– हरि बहादुर रंगशाला निर्माण, बीच बजारमा सिलेट ढुंगा बिछ्याउने काम, वडा नं. १० मा सडक निर्माण गर्ने काम, बजार क्षेत्रमा सडक कालोपत्रे गर्ने काम र जुगाड खोला करिडोर निर्माण निकै ढिला सुस्ती भएको एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले बताए । कार्यालयमा आएको करोडौ बजेट खर्च नभएर फिर्ता जाने र योजना पनि समयमै सम्पन्न नभई अलपत्र पर्ने प्रबृत्ती हावि भएको भन्दै कार्यालय प्रमुखको ध्यानर्कषण् गराए ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायको अगुवाईमा बसेको बैठकमा सडक डिभिजनको कार्यक्षेत्रमा पर्ने कर्णाली राजमार्ग अन्तरर्गतको जुम्ला खण्डमा गुणस्तरहीन कालोपत्रे भएकोमा ध्यानर्कषण गराइएको छ । राप्रपाका नेता मनसुर सुनारले गुणस्तरहीन कालोपत्रेको भुक्तानीका लागि सहमती दिने प्राविधिकलाई कारबाही गर्नुपर्ने बताए ।

रास्वपाका जिल्ला संयोजक मक्कर भण्डारीले जुगाड खोला करिडोर देखी रंगशाला निर्माणमा चरम लापरबाही भएको औल्याए । अब पनि सम्बन्धित कार्यालयले ध्यान नदिए सिधै जनता ओर्लाने चेतावनी दिए । यतिबेला जुम्लामा पातारासीको हाईअल्टीच्युट टे«निङ सेन्टर, जग्गा विवादले लुमको पक्की पूल, गुठिचौरमा पूल सम्पन्न भएको,जग्गा दिने कुरा भएपनि पालिकाले चासो नदिँदा पूल प्रयोग विहिन,सिंजाको जाँचमा निर्माण भएको पूल प्रयोग विहिन, नाग्म–गमगडी सडकको बालुवा खोला र गुठिज्यूलामा पक्की पूल निर्माण कार्य अलपत्र परेका छन् ।

त्यस्तै करिब एक दशकदेखी बहुउदेश्यीय सभाहल अलपत्र अबस्थामा छ । सरियामा खिया लागेको छ । लागु औषध दुव्र्यसनीको अड्डा बनेको छ । तर त्यो आयोजनामा कसैको नजर छैन् । झण्डै ५ वर्षदेखी बसपार्क निर्माण भएपनि प्रयोगविहिन छ । भने खेलकुद विकास समितिको आडमै रहेको भलिबल प्याराफिट बजेट अभावले अलपत्र अबस्थामा रहेको छ । त्यस्तै सात करोडमा निर्माण भएको एकिकृत भवन अझै संचालनमा आउन सकेको छैन् । त्यहाँ सर्ने भनेका कार्यालयहरु वार्षिक लाखौ भाडा तिर्न बाध्य छन् ।

जुम्लाकै पहिलो हरि बहादुर रंगशाला निर्माण पनि कछुवा गतिमा निर्माण भईरहेको छ । विकास निर्माण भएको उदासिनताले जिल्लाका दलहरु जुरमुराउनु पर्ने स्थिती सृजना भएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायको भनाईको छ ।

यता सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाका प्रमुख जगदीश लामिछानेले निर्माण व्यवसायीका कारण आयोजना निर्माणमा ढिला सुस्ती भएको बताए । जिल्लामा रंगशाला,सिलेट बिछ्याउने,जुगाड खोला करिडोर लगायतका योजना बनाउने ठेकेदार एकै भएको र उसलाई कार्यालयबाट धेरै पटक ताकेता दिईसकेको उल्लेख गरे । समयवधि अझै बाँकी रहेकाले बाँकी कामलाई गति दिन थप ताकेता दिने उल्लेख गरे ।

सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले पानी परेकै अबस्थामा ठेकेदारले बलजफ्ती रुपमा कालोपत्रे गर्दा उप्कीएको बताए । उसको काम गर्ने समय बाँकी रहेको र जुम्ला खण्डमा पुरै अनुगमन गरेर गुणस्तरहीन काम गरेको क्षेत्रमा फेरी काम गराएर मात्रै भुक्तानी दिने उल्लेख गरे ।

यता पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख प्रभात सिंहले स्रोत साधनको अभावका बीच काम भईरहेको र उर्थु भुलभुले सडकको प्रगती अपेक्षानुसार नभएकोले ठेकेदारलाई ताकेता गरेको बताए । जग्गा विवादले लुम पूल अघि नबढेको उल्लेख गरे ।

प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले जुम्लाको विकास निर्माणबारे दलहरुले देखाएको चासो र चिन्तालाई विकासले कार्यालयहरुले सकरात्मक रुपमा लिनु पर्ने बताए । उनले भने,‘दर्जन बढी आयोजनाहरु कोही निर्माण भएर संचालनमा आएका छैनन् । कोही सुरुवातनै भएका छैनन् । भने केही योजना ढिलासुस्ती भएको छ । अब कुनै पनि आयोजना निर्धारित समय भन्दा पछि नधकेलिने गरी काम अघि बढाउन ठेकेदार, र कार्यालय गम्भीर हुनुपर्छ ।’

प्रकाशित मिति : २०८२ भाद्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस