कृषिमा यान्त्रिकरण बढ्दै, उत्पादन लागत घट्दै

सात वर्षमा ३३९ मिनि टिलर वितरण

जुम्ला । पछिल्लो समय जुम्लाको कृषि क्षेत्रमा यान्त्रिकरण बढ्दै गएको छ । लम्पी स्कीन रोगले गोरु मरेको र परम्परागत खेती प्रणालीले लागत बढी लाग्ने उत्पादन न्यून हुने भएपछि कृषिमा यान्त्रीकरण बढ्दै गएको हो । कृषि औजारका रुपमा जुम्ली किसानले वषौदेखी परम्परागत हलो, कुटो कोदालोनै प्रयोग गर्दै आएका छन् । जसले गर्दा मेहनत बढी लाग्ने र उत्पादन कम हुने समस्याबाट किसान आजित छन् ।

केही वर्ष अघिसम्म जुम्ला सहित कर्णालीको खेतीपाती गोरुको सहायतमै निर्भर थियो । हिउँदको जौ,गहुँ देखी वर्खाको धान राप्ने, कोदो,सिमि, लगायतका अन्नबालीको खेतीपाती गर्न गोरुकै प्रयोग गर्दै आएका थिए । तर दुई वर्ष अघि देशभर फैलिएको लम्पी स्कीन रोगले जुम्लका ५ सय ६७ वटा गाईवस्तु मरे । जसमा खेतीपातीमा प्रयोग हुने १ सय ७० गोरु मरे । जो ८५ वटा हल गोरु हुन् । एकै वर्ष ८५ वटा हल गोरु मरेपछि खेतीपातीमा समस्या भएको र परम्परागत खेतीबाट उत्पादन कम हुने समस्या झेलिरहेका किसानहरु आधुनिक खेती प्रणालीमा आर्कषित भएका छन् ।

कृषिमा यान्त्रिकरणको प्रयोग बढाउन, न्यून लगानीमा उत्पादन बृद्धि गर्न र उत्पादन लागत कम गर्न सरकारले अनुदानमा काठको हलो, कुटो कोदालोको साटो मिनि टिलर प्रदान गर्दै आएको छ । जसले गर्दा जुम्लाको कृृषि क्षेत्रमा यान्त्रीकरण बढ्दै गएको छ ।

मिनि टिलरले कम लागत, थोरै श्रम र समय भित्रै बढि काम हुने भएकाले यान्त्रिकरणमा किसानको आर्कषण बढेको राष्ट्यि कृषि आधुनिकरण कार्यक्रम जुम्लाका प्रमुख सन्तोष कुमार चौधरीले बताए । उनका अनुसार कार्यालयबाट जिल्लाका आठै पालिकालाई समुह उपभोग गर्ने गरी मिनि टिलर वितरण गरिएको छ ।

महिलाको कार्यबोझ समेत हटाएको स्थानीय रुपा रावतले बताइन । जुम्लाका किसान परम्परागत खेती प्रविधिबाट आधुनिकिकरणमा आकर्षित हुन थालेका छन् । समयको माग, सरकारी निकायको प्रयास र किसानको आकर्षणले जुम्लामा कृषि यान्त्रीकरणले गति लिन थालेको छ ।

सात वर्षमा ३३९ मिनि टिलर वितरण
राष्ट्यि कृषि आधुनिकरण कार्यक्रम तथा तत्कालीन प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले किसानलाई ५० प्रतिशत अनुदानमा मिनि टिलर वितरण गर्दै आएको छ । बितेको सात वर्षको तथ्यांकलाई हेर्दा ३ सय ३९ वटा मिनि टिलर वितरण गरिएको कार्यालय प्रमुख सन्तोष कुमार चौधरीले बताए ।

व्यवसायीक किसान, उद्यमी, किसान समुहलाई मागका आधारमा ५० प्रतिशत अनुदानमा मिनि टिलर वितरण गर्ने गरिएको छ । जसमा आर्थिक वर्ष २०७४÷०७५ मा २२ वटा मिनि टिलर वितरण गरिएको थियो । आ.व.२०७५÷०७६ मा ४८ वटा, आव २०७६÷०७७ मा ४६ वटा, आ.व २०७७÷०७८ मा ४२ वटा मिनि टिलर अनुदानमा वितरण गरिएको राष्ट्यि कृषि आधुनिकरण कार्यक्रमको तथ्यांकमा उल्लेख गरिएको छ ।

भने आर्थिक वर्ष २०७८÷०७९ मा भने कार्यालयबाट अनुदानमा मिनि टिलर वितरण गरिएको छैन् । आ.व. २०७९÷०८० मा ५८ वटा, आ.व २०८०÷०८१ म ६० वटा र गत आर्थिक वर्ष २०८१÷०८२ मा ६३ वटा गरी सात वर्षमा कूल ३ सय ३९ वटा मिनिटिलर वितरण गरिएको हो । ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गरेपछि किसानलाई राहत भएको छ ।

मिनिटिलर वितरणपछि महिलाको कार्यबोझ न्युनिकरण समेत भएको छ । खेतीपातीमा प्रायः खटिने महिलाहरु परम्परागत खेतीबाट कष्ट भोग्दै आएका थिए । कृषिमा यान्त्रीकरण बढेपछि राहत भएको तातोपानी गाउँपालिका वडा नं. २ का किसान दत्त बुढाले बताए । विगतमा हल गोरुबाट खेती गर्दा दुःख भएपनि खेती गरिरहेका थियौ । उनले भने,‘अहिले हाते ट्याक्टर (मिनि मिटलर) बाट खेतीपाती गर्दा सहज । हलो जोत्न भन्दा मिनि टिलर प्रयोगमा सहज रहेछ ।’

मर्मतमा समस्या
जिल्लाका आठै पालिकाका किसानलाई ३३९ वटा मिनि मिटलर वितरण गरेपनि मर्मतको समस्याले अधिकांश मिनिटिलर प्रयोग विहिन भएका छन् । समुह गत रुपमा अनुदानमा वितरण गरेपनि मिनि टिलरमा समस्या आउँदा कसरी मर्मत गर्ने भन्ने तालिम नदिएका कारण मर्मतमा समस्या देखिएको हो ।

तातोपानी गाउँपालिका वडा नं. ५ का टक्क नेपाली केही मात्रामा विग्रिएका मिनिटिलर मर्मत गरेपनि अधिकांश गाउँका मिनिटिलर भने मर्मत हुन नसकेर थन्कीएका छन् । अनुदानमा पाएपनि मर्मत गर्ने भन्ने बारे तालिम नपाएका कारण समस्या भएको किसानले बताएका छन् ।

किसान शुर बुढाले मर्मत कसरी गर्ने भन्ने बारे थाहा नपाउँदा दुई वर्षदेखी मिनिटिलर थन्कीएको बताए । धेरै पटक मर्मत गर्ने तालिम दिन अनुरोध गरेपनि नपाएको उनको गुनासो छ । किसानलाई मिनिटिलर प्रदान गर्नुभन्दा पहिला समुहका केहीलाई प्रयोग विधि तथा समस्या आएमा कसरी मर्मत गर्ने भन्ने बारे तालिम दिन आबश्यक देखिएको छ । अन्यथा १÷२ वर्षै चल्ने र पछि थन्कीने समस्या दोहोरिने देखिन्छ ।

प्रकाशित मिति : २०८२ असोज ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस