जुम्ला । नेपालीहरुको महान पर्व दशैँ तिहार नजिकीए संगै बजार अनुगमनलाई प्रभावकारी गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । चाडपर्वका बेला अखाद्य वस्तुको विक्री बढ्ने र उपभोक्ताको स्वास्थ्य असर पर्न सक्ने स्थितीलाई मध्यनजर गरी बजार अनुगमनमा कडाई गर्नुपर्नेमा जोड दिएका हुन् ।
प्रायः सदरमुकाम मात्रै केन्द्रित हुने बजार अनुगमनलाई ग्रामिण बजारमा पनि अनुगमन तथा निरिक्षण गर्नुपर्ने नागरिक समाजका अध्यक्ष राज बहादुर महतले बताए । जुम्लामा जत्ति बजार अनुगमन गरेपनि उपभोक्ता ठग्ने व्यापारीलाई कारबाही गर्ने परिपाटी छैन् ।
उनले भने,‘जुम्लामा धेरै पटक बजार अनुगमन भएको छ । केही अखाद्य वस्तु बरामद गर्ने र जलाउने बाहेक अरु कुनै काम भएको छैन् । जसका कारण म्याद गुज्रिएको सामान बेच्ने, विल विजक नराख्ने, दर्ता बिनै व्यवसाय संचालन गर्ने क्रम बढेको छ । जसले गर्दा राज्य र उपभोक्तालाई नोक्सान भएको अबस्था छ ।’
चाड पर्वको बेला सदरमुकामका डिलरहरुले अखाद्य वस्तु, मिति सकिएका खुद्रा सामान ग्रामिण बजारमा पठाउने खतरा रहेकाले पालिका स्तरका बजारमा अनुगमनलाइ जोड दिनु पर्ने महतको सुझाव छ । जुम्लाका आठै पालिकाका केन्द्रमा बजार विस्तारै हुदैँ गएको छ ।
जसमा तातोपानीको जर्माी,लिताकोट,बाबिरा, एैरेनी,तिलाको कुडारी त्रिवेणी, सेरी, हिमाको बड्की, कोईरेली, सिंजाको नराकोट, कनकासुन्दरीको गोठीज्यूला, गुरुचौर, पातारासीको लासी बजार तथा उर्थुचौतारा, गुठिचौरको झारज्वला लगायतका ग्रामिण बजारमा अनुगमन गर्न आबश्यक रहेको छ ।
प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले पालिकाका उपाध्यक्ष तथा उपप्रमुखलाई बजार अनुगमनको अधिकार दिएकाले चाडपर्व र अरु समयमा पालिकालेनै बजार अनुमगन गर्नुपर्ने बताए । उनले अपेक्षाकृत रुपमा स्थानीयतहमा बजार अनुगमनलाई प्रभावकारी गर्न नसकेको उल्लेख गरे ।
प्रजिअ शर्माले भने,‘दशै तिहार लक्षित बजार अनुगमनको विशेष योजना बनाएका छौ । सोही अनुसारको पहिलो चरणको अनुगमन भईसकेको छ । अब मासु पसल, खाद्य पसल, मिठाई पसलमा विशेष निगरानी राखिने छ । यसमा सबैले सहयोग तथा समन्वय गर्न जरुरी छ ।’
उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष दिल बहादुर रोकायाले स्वच्छ बजार र स्वस्थ उपभोक्ता बनाउनका लागि उद्योग बाणिज्य संघले बजार अनुगमन, व्यवसायी तथा उद्यमीलाई प्रशिक्षित गर्ने कुरामा जोड दिने बताए ।
भर्खरै मात्र अध्यक्षमा निर्वाचित भएका अध्यक्ष रोकायाले भने,‘नीजि क्षेत्र देशको आर्थिक विकासको मेरुदण्ड हो । तर राज्यलाई कर छलेर, व्यवसाय दर्ता नगरेर मनमर्जी गर्ने छुट कसैलाई छैन् । अझ उपभोक्ता ठग्ने, म्याद सकिएका सामान बच्ने अपराधको अन्त्य गरिनुपर्छ । नयाँ कार्यसमितिले उपभोक्ता अधिकार कार्यान्वयनमा जिम्मेवार भएर काम गर्छ ।’ चाडपर्व लक्षित बजार अनुगमनलाई प्रभावकारी बनाएर उपभोक्ता ठग्ने जोसुकैलाई कारबाहीको दायरामा ल्याउनु पर्ने उनको भनाई छ ।



