जुम्ला । तातोपानी गाउँपालिका वडा नं. ४ स्थित गिडिदह यूवा क्लबद्धारा आयोजित खुला पुरुष फुटबल प्रतियोगिताको क्वाटर फाईनल चरणका सबै खेल सम्पन्न भएका छन् । यही असोज १९ गतेबाट हाँकु चौर खेल मैदानमा सुरु भएको प्रतियोगितामा सोमबार भएका तीनसंगै क्वाटर फाईनलका सबै खेल सम्पन्न भएका हुन् ।
सोमबार भएको पहिलो खेलमा तातोपानी –६ ले बुद्व एफसीलाई १–० गोल अन्तर हराउँदै सेमीफाइनल पुगेको हो । तातोपानी –६ लाई जिताउन धनराज खड्काले निर्णायक गोल गरे । तातोपानी –६ ले समूह चरण र क्वाटर फाइनलका खेलमा सबै खेल जित्दै सेमीफाइनलको यात्रा तय गरेको छ ।
दोस्रो खेल जेनजी एफसी र ब्ल्याक डायमण्डबीच भएको थियो । निर्धारित समयमा दुवै टिम गोलरहित बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउट भएको थियो । पेनाल्टीमा ब्ल्याक डायमण्ड ४–३ गोल अन्तरले विजयी भएर सेमीफाइनलमा स्थान पक्का गरेको हो ।
सोमबार नै भएको अन्तिम क्वाटर फाइनल खेलमा घोगेसिम युवा क्लबलाई १–० गोलले स्तब्ध बनाउँदै एच वान युवा क्लब सेमीफाइनल पुग्न सफल भयो । यसअघि आइतबार पेनाल्टी सुटआउटमा हाँकु एफसीलाई पराजित गर्दै जुम्ला एफसी सेमीफाइनल पुगेको थियो ।
सोमबार क्वाटर फाइनल समीकरण पूरा भएसँगै सेमीफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो । अब मंगलबार सेमीफाइनलमा स्थान पक्का बनाएका चार टोलीले फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्नेछन् ।
आयोजक गिडिदह युवा क्लबका अनुसार मंगलबार विहान १० बजे पहिलो सेमीफाइनल खेल सुरू हुनेछ । फाइनल प्रवेशका लागि एच वान युवा क्लब र ब्ल्याक डायमण्डबीच प्रतिष्पर्धा हुनेछ । जित्ने टीम फाइनल प्रवेश गर्नेछ । यस्तै दोस्रो खेल उपाधि दाबेदारका रूपमा हेरिएका तातोपानी –६ र जुम्ला एफसीबीच हुनेछ । यो खेललाई फाइनल सरहका रूपमा हेरिएको छ ।
बुधबार प्रतियोगिताको फाइनल खेलमा सेमीफाइनल जितेका दुई टिमले उपाधिका लागि भिडन्त गर्नेछन् । फाईनल खेल असोज २९ गते हुने छ ।



