व्यवसायीक तरकारी खेतीबाट आत्मनिर्भर श्रीनगरका महिला

जुम्ला । जुम्लाका किसान पछिल्लो समय धानखेती छोडेर व्यवसायीक तरकारी खेतीमा आर्कषित भएका छन् । धानखेतीमा लागत र समय बढी लाग्ने, उत्पादन कम हुने भएपछि धान खेती छोडेर किसान व्यवसायीक तरकारी खेती तर्फ आर्कर्षि भएका हुन् ।

तातोपानी गाउँपालिका वडा नं. ५ श्रीनगरका महिलाहरु धान खेती छोडेर सामुहिक रुपमा व्यवसायी मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छन् । वर्षमा दुई बोरा धान र दुई बोरा जौ मात्रै उत्पादन हुने दुई भारी खेतमा तरकारी खेती गरेर वार्षिक एक लाख भन्दा बढी आम्दानी समेत गर्दै आएका छन् ।

धान खेती भन्दा तरकारी खेतीबाट फाईदा भएको तातोपानी–५ की विजुली डाँगी बताउँछन् । विगत १८ वर्षदेखी तरकारी खेती गर्दै आएकी विजुली धान फल्ने खेतमा तरकारी खेती गर्दा उत्पादन र आम्दानी सन्तोषजनक रहेको अनुभव सुनाईन् । उनले भनिन, ,‘विगतमा दुई भारी खेतमा २ बोरा ५० किलोको धान फल्थ्यो । तर अहिले सोही खेतमा मौसमी तथा बेमौसमी खेती गर्दा वार्षिक रुपमा एक लाख भन्दा बढी आम्दानी भईरहेको छ । भने नियमित रुपमा हरियो सागपात खाने बानीको विकास पनि भएको छ ।’

१८ वर्षदेखी तरकारी खेती गर्दै आएपनि गत आर्थिक वषए २०८१÷०८२ बाट तातोपानी गाउँपालिकाको पहलमा सहयात्रा तेस्रो परियोजनबाट तरकारी खेतीबाट सिप र प्रविधि पाएपछि थप सहज भएको अर्की महिला किसान धर्मा डाँगीले बताईन् ।
व्यवसायीक तरकारी खेतीले पोषण स्थितीमा सुधार हुनुका साथै घर खर्च व्यवस्थापन तथा छोरा छोरीको पठन पाठनमा समेत राहत पुगेको बुढाले उल्लेख गरिन् ।

धर्मा डाँगी र विजुली डाँगी जस्तै तातोपानी–५ का २५ जना महिला समुह बनाएर व्यवसायीक तरकारी खेतीमा जुटेका छन् । प्रत्यक महिलाले वर्षमा तरकारी बेचेर १ लाखदेखी माथि आम्दानी गर्दै आएका छन् । २५ जना महिलाले आफ्नो जग्गासंगै अपुग भएको जग्गा लिजमा लिएर तरकारी खेती गरेका छन् । किर्डाक द्धारा संचालित सहयात्रा तेस्रो परियोजनाले महिला किसानलाई खेती प्रविधिबारे, रोग किरा नियन्त्रण, बजारीकरीबारे वित्तिय साक्षरता लगायतको सिप प्रदान गरेको छ ।

यदपी तरकारी उत्पादन धेरै हुने भएपनि संकलन केन्द्र र बजारीकरणको अभावले समस्या भएको किसानले गुनासो पोखेका छन् । सिजनमा प्याज, टमाटर, आलु, काँउली, बन्दा जस्ता तरकारी अत्यधिक उत्पादन हुने तर संकलन केन्द्र नभएका कारण सस्तो मुल्यमा विक्री गर्न बाध्य रहेको किसानको गुनासो छ ।

दैनिक डोकोमा बोकेर बजारका कुना कुनामा पुगेर विक्री गर्नुपर्ने बाध्यता रहेकाले संकलन केन्द्र स्थापना र कृषि एम्बुलेन्स व्यवस्थापन गरिदिन समेत माग गरेका छन् । यता शुक्रबार व्यवसायीक तरकारी खेतीको अनुगमनमा पुगेका तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले उत्पादित तरकारी बजारीकरण तथा संकलन केन्द्र निर्माणमा पालिकाले सघाउने बताए ।

उनले भने,‘तपाई हरु उत्पादन गर्नुहोस् । सिँचाई व्यवस्थापन, संकलन केन्द्र र बजारीकरणको जिम्मा गाउँपालिकाले लिन्छ । हामीले चालु आवमै वडामा सानो लगानीको संकलन केन्द्र स्थापना गर्ने योजना बनाएका छौ । बाह्रै महिना तरकारी खेतीलाइ निरन्तरता दिनुहोस् । पालिका सधै किसानको साथमा छ ।’

साथै चालु आर्थिक वर्षमै व्यवसायीक रुपमा तरकारी खेती गर्ने उद्यमशीलता गर्ने यूवा, व्यवसायी तथा किसानलाई ५ लाख देखी ३५ लाख सम्मको सहुलियत ऋणको समेत व्यवस्थापन गर्ने तयारीमा रहेको उल्लेख गरे । धान खेतीलाई पनि संरक्षणसंगै व्यवसायीक तरकारी खेती अघि बढाउन समेत सुझाव दिएका छन् । तर धान खेतीमा लगानी बढी उत्पादन कम हुँदा किसान तरकारी खेतीका आर्कषित भएकाले सोही अनुसारका कृषि कार्यक्रम पालिकाले ल्याउने जानकारी दिए।

प्रकाशित मिति : २०८२ पुष ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस