जुम्ला । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन सामाग्री सहित निर्वाचनमा खटिएका कर्मचारीदेखि सुरक्षाकर्मी मतदान स्थलमा पुगिसकेका छन् ।
जुम्लाका सबै मतदान स्थलमा सडकको पहुँच भएका कारण खटिएका कर्मचारीहरु मंगलबारनै मतदान स्थलमा पुगिसकेका थिए। सबैभन्दा दुर्गम गुठिचौर गाउँपालिकाको चोत्रा, कनकासुन्दरीको सिप्टी मार्फन, काभ्रा,झ्यारी, चौथा तिला गाउँपालिकाको सुडि,घोडे, तातोपानीको ताम्ती बाह्रगाउँ लगायतका सबै मतदान स्थलमा कर्मचारीदेखि सुरक्षानिकाय पुगीसकेको सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सीनाले बताए।
उनका अनुसार जुम्लाका ८५ वटै मतदान स्थलमा सर्वदलिय बैठक सम्पन्न भएका छन् । जुम्लामा ७५ मतदान स्थल र ११० वटा मतदान केन्द्र रहेका छन् । जसमा ८५ वटै मतदान स्थलमा मतदान अधिकृतहरुले सर्वदलिय तथा सर्वपक्षिय बैठक सम्पन्न गरेको जानकारी पठाएको जानकारी दिए ।

एक जना स्वतन्त्र सहित १० जना उम्मेदवार चुनावी मैदानमा छन् । ९ राजनीतिक दलका पालिका तथा वडा कमिटीका पदाधिकारी तथा सदस्यको सहभागितामा निर्वाचनलाई शान्त,मर्यादित, भयरहित र धाधली रहित वाताबरणमा निर्वाचन गराउन सबै राजनीतिक दलले सहमति जनाएका छन् ।
साथै मतदान स्थलमा महिला पुरुष, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिकहरुका लागि सहज मतदानको व्यवस्थापनका लागि लाईन व्यवस्थापनको समेत काम अधिकांश ठाउँमा भईसकेको छ ।

जुम्लामा ६ सय ५४ जना कर्मचारी निर्वाचनमा खटिएका छन् । अहिलेको चुनावमा सुरक्षा चुनौती नभएपनि मतदान केन्द्रहरुको सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षा व्यवस्थापन मजबुद बनाईएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए।



