ताताोपानीमा अख्तियारको भ्रष्टचार निवारण अन्तरक्रिया, विकास र सुशासनमा जोड

जुम्ला ।  उपलब्ध सिमित स्रोत साधन र जनशक्तिको परिचालन गर्दै जुम्लाको तातोपानी गाउँपालिकाले पालिकाको आर्थिक सुशासन तथा गुणस्तरीय विकास निर्माणमा जोड दिएको छ । असारे विकासलाई निरुत्साहित गर्दै बैशाख मसान्तमै अन्तिम भुक्तानी दिएर सकाउने कर्णालीकै पहिलो पालिकाको परिचय बनाएको तातोपानीले आर्थिक सुशासन, विकास निर्माण, सेवा प्रवाहमा विशेष जोड दिएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतद्धारा सोमबार तातोपानी गाउँपालिकामा आयोजित भ्रष्टचार निवारण तथा सुशासन प्रर्बद्धन अन्तरक्रिया कार्यक्रममा तातोपानी गाउँपालिका अध्यक्षले नियतबस उजुरीदिने प्रबृत्ति बढेपनि सुशासन प्रर्बद्धनमा पालिका कतै नचुकेको बताए । 

दिवा खाजामा नाममा वर्षेनिक हुने ६० देखी ७० लाखको आर्थिक अनियमितता रोकेको, ८५ वटा भन्दा बढी ऐन,कानुन र कार्यविधि निर्माण भएको, विगतमा घरभाडा तिर्दै वर्षमा १७ लाख बढी खर्च हुने गरेकोमा हाल आफ्नै भवनबाट सेवा प्रवाह भएको लगायत सुशासनका देखिने काम थुप्रै भएको अध्यक्ष चौलागाँईको भनाई छ । 

‘कर्णालीकै पहिलो पालिकाका रुपमा हामीले बैशाख मसान्तमै अन्तिम भुक्तानी दिने अभियान चलाएका छौ,’उनले भने,‘पहिलो चौमासिकमा योजना सर्वे र सम्झौता गरी सिमेन्टको बाहेक अन्य काम हिउँदमा गर्दै बैशाख सम्म सबै योजना निर्माण सक्ने काम निरन्तर तीन वर्षदेखी गर्दै आएका छौ । यसले पूजीगत खर्चमा सुधार संगै गुणस्तरीय काम समेत भएका छन् । तर पनि उपभोक्ता समितिमा बस्न नपाएको झोकमै अख्तियारमा उजुरी दिने प्रबृत्तीले कर्मचारीले दुख पाएका छन् । यस्ता काम रोक्नु पर्छ ।’

अख्तियारले पनि तथ्यका आधारमा दिएका उजुरीलाई मात्र प्रक्रियामा लिन समेत अनुरोध गरे । सुरुको वर्षमा ४४ उजुरी परेकोमा अहिले केही उजुरी तामेली र केही विस्तृत अध्ययनमा छन् ७ वटा उजुरी मात्रै अख्तियारले अनुसन्धान गर्दै छ ।  दुख दिने नियतले उजुरी हाल्दा अख्तियार धाउँदा धाउँदै पालिकाको कार्य सम्पादन प्रभावित भएका अध्यक्ष चौलागाँईले उल्लेख गरे । 

साथै गिट्टी बालुवा उत्खनन्लाई व्यवस्थित बनाउन नीति बनाइएसकेको र कार्यान्वयनको अन्तिम चरणमा रहेको बताए । 

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतका प्रमुख राजकाजी श्रेष्ठले भ्रष्टचार निवारणका लागि सबैको हातेमालो जरुरी रहेको बताए ।  

‘जिल्लामा पुगेर आर्थिक सुशासनका विषयमा सबैलाई सजग गराउन अभियान थालेका छौ,’ उनले भने,‘भ्रष्टचार निवारणका लागि कर्मचारी बढी सजग हुनु पर्छ । विकास निर्माण, ठेक्का पट्टा, सेवा प्रवाहलाई चुस्त बनाउन जरुरी छ ।प्रचलित खरिद नियावली को कार्यान्वयनमा चुक्दा पनि आर्थिक सुशासन कमजोर बनेको छ  ।’

ठेक्का पट्टा, खरिदका कामहरु पारदर्शी नहुँदा कर्मचारी माथि सुशासनको प्रश्न खडा हुने गरेको छ । यदपी तुलनात्मक रुपमा तातोपानी गाउँपालिकाले सुशासनका पक्षमा धेरै अनुकरणीय काम गर्दै गएको उल्लेख गरे । 

तातोपानी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिृकत ओम बहादुर चन्दले सुशासन,पारदर्शीता, विकास निर्माणलाई चुस्त बनाउने प्रयास गरेपनि हचुवाका भरमा हालिने उजुरीले तनाव सृजना भईरहेको बताए । 

कार्यक्रममा सहभागीले भ्रष्टचार निवारण तथा सुशासन प्रर्बद्धनका लागि अख्तियारले सुशासन केन्द्रित कार्यक्रमहरु विद्यालय हुदैँ वडा स्तरमा संचालन गर्न सुझाव दिए । अख्तियारले जुम्लाको कनकासून्दरी र तातोपानीमा भ्रष्टचार निवारण  विषयक अन्तरक्रिया गरेको छ ।

प्रकाशित मिति : २०८२ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस