जुम्लाका धीरबहादुर र सुनमायाले जिते  छायाँनाथ  ट्रेल अल्ट्रा रेसको उपाधि

जुम्ला । मुगुको मुगुम कार्मारोङ गाउँपालिकाद्वारा आयोजित  प्रथम छायाँनाथ ट्रेल अल्ट्रा रेसको उपाधी जुम्लाकै धावकले जितेका छन् । प्रतियोगितको महिला र पुरुष तर्फको दुबै उपाधी जुम्लाका धावकले जितेका हुन्  

मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना तथा अल नेपाल स्पोर्ट्स फाउन्डेसनको सहकार्यमा आयोजित प्रथम  छायाँनाथ ट्रेल अल्ट्रा रेसको उपाधी  पुरुषतर्फ धीरबहादुर बुढा र महिलातर्फ सुनमाया बुढाले स्वर्ण पदक जितेका हुन् । 

कार्मारोङ क्षेत्रलाई खेल पर्यटन गन्तव्यका रुपमा विकास गर्न आयोजना गरिएको ३३ किमी दुरीको रेसमा पुरुष तर्फका विजेता 

धीरबहादुरले निर्धारित दुरी ३ घण्टा ५७ मिनेट २५ सेकेन्डमा पार गरेका थिए । 

साथै जुम्लाकै दलबहादुर कुँवर ४ घण्टा २ मिनेट १० सेकेन्डमा निर्धारित दूरी पार गरेर दोस्रो भए । भने चन्द्रबहादुर रावतले ४ घण्टा ५ मिनेटमा दूरी पार गरेर तेस्रो भएका छन्  । त्यसैगरी अर्जुन कुलुङ राईले ४ घण्टा २४ मिनेटमा चौथो र रमेश लिम्बु ४ घण्टा ३० मिनेट १० सेकेन्डमा दूरी पार गरेर पाँचौ स्थान ओगट्न सफल भए ।

महिलातर्फ जुम्लाकै सुनमाया बुढाले ५ घण्टा २५ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितेकी छन् । भने राममाया बुढाले ५ घण्टा २६ मिनेट ४० सेकेन्डमा दुरि पार गरेर दोस्रो र कल्पना बुढाले ५ घण्टा ३५ मिनेट २० सेकेन्डमा दूरी पार गरी तेस्रो  स्थानमा आएका हुन् ।

 सम्झना बुढाले ५ घण्टा ४० मिनेट १० सेकेन्डमा चौथो र निर्मला राईले ५ घण्टा ४८ मिनेटमा दूरी पार गरेर पाँचौ स्थान हासिल गरे । 

प्रतियोगितामा १२ महिला र ४६ पुरुष गरी कुल ५८ जना धावक सहभागी भएका थिए । धार्मिक तथा पर्यटकीय महत्व बोकेको रेस किम्रीबाट सुरु भई छायाँनाथ, चिताइकुना हुँदै पुलुमा पुगेर सकिएको थियो । 

प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम आउनेले  नगद जनही दुई लाख रुपैयाँ, मेडल  र प्रमाणपत्र पाउने छन् । यस्तै दोस्रो हुनेले नगद एक लाख ५० हजार रुपैयाँ, तेस्रोले  एक लाख नगद, चौथो हुनेले ७५ हजार तथा पाँचौं हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : २०८३ जेष्ठ ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस