जुम्लामा कृषि उत्पादनको बजार व्यवस्थापनलाई व्यवस्थित बनाउन नयाँ समिति गठन गरिएको छ। कृषिजन्य वस्तुको बजारीकरणमा देखिँदै आएको असन्तुलन र मूल्यमा हुने भिन्नतालाई नियन्त्रण गर्ने उद्देश्यले उक्त समिति बनाइएको हो।
चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक ऋषिराम पाण्डेको नेतृत्वमा समिति गठन गरिएको छ। समितिमा विभिन्न क्षेत्रका प्रतिनिधिहरू समावेश गरिएका छन्।
व्यापारी समूहबाट कैलाश कोल्डस्टोरका देउऋषि चौलागाईं, प्रमिला शाही र लक्ष्मीचन्द विष्ट सदस्य रहेका छन्। सहकारी तथा समूह प्रतिनिधित्वतर्फ भैर धराला, नरबहादुर रावत र झल्का ऐडी सदस्य चयन भएका छन्।
त्यस्तै, उद्योग वाणिज्य संघ जुम्लाका कोषाध्यक्ष मन्न थापा, चन्दननाथ नगरपालिकाको कृषि शाखा प्रमुख सरद पोखरेल, तिला गाउँपालिकाको कृषि विकास शाखा प्रमुख राजेश विक, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका सुभाष तिमिल्सिना र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख मन्दिरनाथ योगी पनि समितिमा सहभागी छन्। समितिको सदस्य–सचिवका रूपमा दीपकसिंह धामी तोकिएका छन्।
कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (रेरास) परियोजना अन्तर्गत आयोजित सरोकारवालाबीचको छलफलपछि यो समिति गठन गरिएको हो। छलफलमा सहभागीहरूले जुम्लाको कृषि बजार अझै पनि अव्यवस्थित रहेको र मूल्य निर्धारणमा एकरूपता नहुँदा किसान तथा उपभोक्ता दुवै प्रभावित भइरहेको बताएका थिए।
लि–बर्ड जुम्लाका प्रतिनिधि बुद्ध विकले बजार प्रणाली सुधार भएमा स्थानीय उत्पादनको संरक्षण र बजारीकरण दुवैमा सुधार आउने धारणा राख्नुभयो।
कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख रामभक्त अधिकारीले मूल्यमा एकरूपता कायम गर्नु अहिलेको प्रमुख चुनौती रहेको बताउँदै समितिले त्यस दिशामा काम गर्ने विश्वास व्यक्त गर्नुभयो।
जिल्लामा उत्पादन हुने आलु, सिमी, स्याउ लगायतका कृषि उपजको मूल्य पसलपिच्छे फरक पर्ने समस्या लामो समयदेखि रहँदै आएको छ। यसले किसानले उचित मूल्य नपाउने र उपभोक्ताले अनावश्यक मूल्य तिर्नुपर्ने अवस्था सिर्जना गरेको छ।



