जुम्ला– जुम्लाका आठ स्थानीय तहलाई संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विभिन्न शीर्षकअन्तर्गत दुई अर्ब ४१ करोड १५ लाख रुपैयाँ अनुदान हस्तान्तरण गरेको छ ।
एक नगरपालिका र सात गाउँपालिका रहेको जुम्लामा संघीय सरकारले वित्तीय समानीकरण, विशेष, ससर्त र समपूरक गरी चार शीर्षकबाट अनुदान पठाएको हो । संघीय सरकारले समानीकरण अनुदानअन्तर्गत न्यूनतम, सूत्रमा आधारित तथा कार्यसम्पादनमा आधारित सूचकका आधारमा रकम वितरण गर्छ ।
ससर्त र विशेष अनुदानतर्फ चालु तथा पुँजीगत शीर्षकमा रकम उपलब्ध गराइन्छ । यसपटक जुम्लाको एक मात्र नगरपालिका चन्दननाथले सबैभन्दा बढी ४० करोड ८३ लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ ।
कनकासुन्दरी गाउँपालिकाले २९ करोड ४० लाख र गुठिचौर गाउँपालिकाले २३ करोड ५७ लाख रुपैयाँ पाएका छन् । त्यसैगरी, तातोपानी गाउँपालिकाले गाउँपालिकामध्ये सबैभन्दा बढी ३३ करोड १६ लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ । तातोपानीले चारै शीर्षकबाट अनुदान पाएको हो ।
असारे विकासलाई निरुत्साहित गर्दै पुँजीगत खर्चलाई प्राथमिकता दिने नीति लिएको तातोपानी गाउँपालिकाले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउँदै लगेको जनाएको छ । तिला गाउँपालिकाले ३१ करोड ८९ लाख, पातारासीले २६ करोड ९० लाख, सिंजाले २८ करोड ७६ लाख र हिमा गाउँपालिकाले २८ करोड ८ लाख रुपैयाँ अनुदान प्राप्त गरेका छन् ।
संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान तथा आन्तरिक आयका आधारमा स्थानीय तहले वार्षिक बजेट तयार गर्छन् । जेठ १५ गते संघीय सरकारले बजेट प्रस्तुत गरिसकेको छ भने असार १ गते प्रदेश सरकारले बजेट ल्याउने व्यवस्था छ । संघ र प्रदेशको बजेट आएपछि असार १० गतेभित्र स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले प्रदेशको बजेट आएपछि मात्रै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेटलाई अन्तिम रूप दिने बताए । उनले आन्तरिक आय कमजोर रहेकाले संघ र प्रदेशबाट प्राप्त बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न ठोस योजना र जनमुखी नीति आवश्यक रहेको बताए ।
चालु आर्थिक वर्ष २०८२/८३ मा जुम्लाका स्थानीय तहले संघीय सरकारबाट दुई अर्ब ४१ करोड ६ लाख रुपैयाँ अनुदान पाएका थिए । आगामी आवका लागि उक्त रकममा ९ लाख रुपैयाँ थप भई दुई अर्ब ४१ करोड १५ लाख रुपैयाँ पुगेको हो ।



