गुठिचौरको बजेट ३८ करोड, शिक्षादेखी र पर्यटन विकासमा जोड

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले आगामी आव २०८३÷०८४ को वार्षिक नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । जिल्लाका आठ वटा स्थानीय तहमध्य पहिलो पालिकाका रुपमा गुठिचौरले मंगलबार बार्षिक नीति र बजेट सार्वजनिक गरेको हो ।
काँग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित दान बहादुर बुढा रास्वपा प्रवेश गरेपछि निर्वाचन आयोगले मंगलबारनै पद रिक्त भएको सूचना जारी गरेको छ । अध्यक्ष बुढा पदमुक्त भएपछि गाउँपालिकाकी उपाध्यक्ष शान्तिमल्ल भण्डारीको सभाध्यक्षतामा बसेको गाउँपालिकाको २३औ अधिवशेनबाट नीति र बजेट ल्याईएको हो । अबदेखि उपाध्यक्ष भण्डारीले कार्यबहाक अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् ।

कार्यबहाक अध्यक्ष शान्ति मल्ल भण्डारीले समृद्व गुठिचौर बनाउने संकल्प सहित कुल बजेट ३८ करोड ३६ लाख ८३ हजार १३२ रुपैयाको बजेट सार्वजनिक गरेकी छन् । स्थानीय तहको आन्तरिक आय ३० लाख अनुमान सहित संघ र प्रदेशबाट चार प्रकारका शिर्षक अन्तरर्गत प्राप्त अनुदानबाट निर्माण गरिएको डल्लो बजेट सार्वजनिक गरिएको हो । यदपी वडागत तथा विषयगत क्षेत्रमा बजेट विनियोजन हुन बाँकी रहेको छ ।

संघीय सरकार अन्तरर्गत वित्तिय समानीकरण अनुदान १० करोड २० लाख, विशेष अनुदान १ करोड ५ लाख,सर्शत अनुदान १० करोड ५९ लाख समपुरक अनुदान १ करोड ७३ लाख राजश्व बाँपडफाँड ९ करोड ८५ लाख २७ हजार अनुदान प्राप्त भएको छ।

भने प्रदेशबाट राजश्व बाँडफाँडको १३ लाख ८५ हजार, वित्तिय समानीकरण अनुदान १ करोड १८ लाख ६३ हजार,सर्शत १ करोड २५ लाख ५८ हजार, समपुरक १ करोड ६६ लाख र विशेष अनुदान ४० लाख गरी कुल ३८ करोड ३६ लाख ८३ हजार १३२ रुपैयाँ बराबको बजेट सभामा प्रस्तुत गरिएको छ ।

सिमित स्रोत साधनका बीच असिमित नागरिकका आबश्यकता परिपुर्ति गाउँपालिकाले विनियोजित बजेटको कार्यान्वयनलाई विशेष जोड दिने कार्यबहाक अध्यक्ष भण्डारीको भनाई छ । गुठिचौरको समृद्वीका लागि विकास साँझेदार नीजि क्षेत्रसंग समन्वय सहकार्य गरी अघि बढ्नु पर्नेमा समेत जोड दिईन् । समृद्व र सुरक्षित गुठिचौर निर्माणका लागि कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई प्रथामिकता दिएर नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

जुम्लाको पर्यटकीय गन्तव्य गुठिचौर उपत्यकामा प्याराग्लाईडिङ महोत्सवलाई निरन्तरता दिने, आन्तरिक पर्यटन प्रर्बद्वन गर्ने, घरदैलोमा गुणस्तरीय स्वास्थ्य सेवा पुराउने, सामुदायिक विधालय को शैक्षिक गुणस्तर सुधार लगायतका सवाललाई विशेष प्रथामिकता दिईएको छ ।

गुठिचौरका सम्भावनालाई अबसरमा रुपान्तरण गर्न स्वास्थ्य, शिक्षा र पर्यटनमा लगानी बढाईने समेत नीति कार्यक्रममा उल्लेख छ । साथै कृषि तर्फ ५ वटामा विभाजित गुठिचौरका सबै वडाका उत्पादन सम्भावनालाई मध्यनजर गरी पकेट क्षेत्र कार्यक्रम समेत संचालन गरिने नीति कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका निम्ती आबश्यकता र औचित्यका आधारमा बजेट बाडफाँड हुने प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाले बताए । उनका अनुसार २३ औँ अधिवेशनबाट विनियोजन ऐन, आर्थिक ऐन पारित भएको छ । डल्लो बजेटको बाँडफाँडको लागि अर्को सभा बैठकमा दफाबार छलफल हुने छ ।

गाउँगाउँमा सडक पुगिसकेपनि उत्पादित वस्तु बजार सम्म पुग्न कठिन भईरहेको स्थितीलाई मध्यनगर गरी उत्पादन बृद्वि र बजारीकरणमा समेत जोड दिईने छ । भने गुठिचौरमा लगानी गर्न चाहाने नीजि क्षेत्रलाई स्वागत गरिने, यूवा उधमी तथा व्यवसायीलाई गाउँपालिकाले विशेष प्रोत्साहन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : २०८३ असार ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस