साउने संक्रान्तिको कर्णालीको खस संस्कृति : लुतो फाल्ने, राँको बाल्ने र गाउँ–गाउँबीचको रोचक परम्परा

जुम्ला । साउन महिनाको पहिलो दिन पर्ने साउने संक्रान्ति कर्णालीका खस समुदायको सबैभन्दा मौलिक सांस्कृतिक पर्वमध्ये एक हो। यो दिन वर्षायामको बीचमा स्वास्थ्य, सुख, समृद्धि र रोग–व्याधिबाट मुक्तिको कामना गर्दै विभिन्न परम्परागत संस्कार गरिन्छ। पुस्तौंदेखि हस्तान्तरण हुँदै आएका यी चलनले कर्णालीको खस सभ्यता, लोकविश्वास र सामुदायिक जीवनलाई आजसम्म जीवन्त राखेका छन्।

साउने संक्रान्तिको मुख्य आकर्षण ‘लुतो फाल्ने’ परम्परा हो। स्थानीय विश्वासअनुसार वर्षायाममा लुतो, छालाका रोग, कीटाणु र विभिन्न रोगव्याधि बढ्ने भएकाले साउने संक्रान्तिका दिन ती सबै गाउँ र घरबाट टाढा जाऊन् भन्ने कामनासहित यो संस्कार गरिन्छ।

साँझपख घर–घरमा दाउराको झरोबाट राँको तयार गरिन्छ। कतिपय गाउँमा घरको छतमाथि लामै लाइनमा राँको बालेर उज्यालो पारिन्छ। त्यसपछि सबै गाउँले बालबालिका, युवा र बुढापाका एकसाथ राँको बोकेर गाउँबाहिर, डाँडा वा खोल्सातर्फ लाग्छन्। राँको घुमाउँदै रोग, दुःख र अशुभ शक्ति हटोस् भन्ने कामना गरिन्छ।

कर्णालीका धेरै गाउँमा साउने संक्रान्तिसँग जोडिएको अर्को विशेष संस्कार ‘छुन्चेली काट्ने’ हो। घरको चारै कुनाको चुलोबाट खरानी संकलन गरिन्छ। त्यस खरानीलाई सानो कपडामा बाँधेर काँडाको डालो (हाँगो) को टुप्पोमा बाँधिन्छ। केही दिनसम्म त्यसलाई राखेपछि शनिबारको दिन त्यस काँडालाई एकै झट्टकामा काट्ने चलन छ। स्थानीय जनविश्वासअनुसार यसरी गरेमा घरभित्र रहेका रोग, भोग, दुःख, विपत्ति र अशुभ शक्ति पनि त्यसैसँगै हटेर जाने विश्वास गरिन्छ। यो परम्पराले प्रकृति, घरपरिवार र आध्यात्मिक विश्वासलाई एकैसाथ जोडेको देखिन्छ।

साउने संक्रान्तिको अर्को रमाइलो पक्ष भनेको गाउँ–गाउँबीच हुने गाली अर्थात दोहोरो भनाइ र हाँसो–ठट्टा हो। एक गाउँका मानिसहरूले अर्को गाउँलाई जिस्क्याउँदै लोकभाका र ठट्टायुक्त वाक्य बोल्ने चलन छ।

“फाटो फेरुवा लैजाउ, नैलो फेरुवा दिजौ, दुनो गाई दिजौ, नाठो गाई लैजौ।”

यी भनाइहरू गालीका रूपमा भन्दा पनि पर्वको रमाइलो बढाउने, गाउँबीचको आत्मीयता कायम राख्ने र सामुदायिक सम्बन्ध बलियो बनाउने सांस्कृतिक अभ्यासका रूपमा लिइन्छन्। कतिपय गाउँमा यस्तो दोहोरी रातिसम्म चल्ने गरेको बुढापाकाहरू बताउँछन्।

यस दिन घरमा सरसफाइ गर्ने, चुलो सफा गर्ने, घ्यु, दही, दूध, सिस्नो, स्थानीय अन्न र परम्परागत परिकार खाने चलन पनि छ। वर्षायाममा शरीरलाई स्वस्थ राख्ने र पोषिलो भोजन खाने संस्कारका रूपमा यसलाई हेरिन्छ।

साउने संक्रान्ति कर्णालीमा केवल एउटा पर्व मात्र होइन, सामूहिक जीवनको उत्सव पनि हो। यस दिन टाढाटाढा रहेका आफन्त घर फर्कने, छिमेकीहरू भेला हुने, बालबालिकाले परम्परा सिक्ने र बुढापाकाले पुराना संस्कार सुनाउने वातावरण बन्छ। यसरी एक पुस्ताबाट अर्को पुस्तामा संस्कृति हस्तान्तरण हुँदै आएको छ।

आधुनिक जीवनशैली, बसाइँसराइ र प्रविधिको प्रभावसँगै केही गाउँमा यी परम्परा कमजोर बन्दै गएका छन्। तर अझै पनि जुम्ला, कालीकोट, मुगु, हुम्ला, डोल्पा र कर्णालीका अन्य पहाडी बस्तीमा राँको बाल्ने, लुतो फाल्ने, छुन्चेली काट्ने र गाउँ–गाउँबीच लोकभाका आदानप्रदान गर्ने परम्परा जोगाइएका छन्।

प्रकाशित मिति : २०८३ साउन १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस