जुम्ला– सातवटा सडक आयोजनाको स्तरोन्नति तथा कालोपत्रेका लागि सडक डिभिजन कार्यालय जुम्लाले यस वर्ष समयमै ठेक्का आह्वान गरेको छ । आगामी आर्थिक वर्षको पहिलो चौमासिकबाटै काम सुरु गर्ने उद्देश्यका साथ सातवटा सडक आयोजनाको स्तरोन्नति तथा कालोपत्रेका लागि बुधबार ठेक्का आह्वानको सूचना जारी गरिएको हो । जुम्ला, कालिकोट र मुगु जिल्ला कार्यक्षेत्र रहेको सडक डिभिजनले यहाँका दर्जनौं सडक आयोजना निर्माण गर्दै आएको छ । ठेक्का प्रक्रिया लामो हुने, त्यसपछि हिउँदे बिदा सुरु हुने, सबै काम असारमै धकेलिने तथा निर्माण व्यवसायीको लापरबाहीका कारण कर्णालीको पूर्वाधार विकासले अपेक्षित गति लिन सकेको छैन ।
यही अवस्थालाई सुधार्दै साउन लाग्नुअघि नै ठेक्का प्रक्रिया सम्पन्न गरी सडक स्तरोन्नति तथा कालोपत्रेको काम समयमै सुरु गर्ने लक्ष्यसहित डिभिजनले प्रक्रिया अघि बढाएको हो । स्तरोन्नति नहुँदा वर्षौंअघि निर्माण भएका मुगु, जुम्ला र कालिकोट जोड्ने थुप्रै सडक बेवारिसे अवस्थामा छन् । ती सडकमा यात्रा गर्न निकै कठिन हुने र साना सवारीसाधनसमेत जोखिम मोलेर सञ्चालन भइरहेका छन् । वर्षौंअघि निर्माण भएका सडकको दुरावस्थालाई मध्यनजर गर्दै समयमै स्तरोन्नतिको ठेक्का आह्वान गरिएको सडक डिभिजन जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताए ।
‘कर्णालीमा काम नगर्ने, असार कुर्ने र म्याद थप्दै काम धकेल्ने निर्माण व्यवसायीविरुद्ध हामीले कानुनी कारबाही गरेका छौं,’ उनले भने, ‘लामो समयदेखि सडक अलपत्र पार्ने १२ निर्माण व्यवसायीका १६ वटा ठेक्का केही समयअघि मात्रै तोडेका छौं । अब प्रक्रियामा आउने निर्माण व्यवसायी जिम्मेवार हुने र सरकारको लक्ष्यअनुसार समयमै काम सम्पन्न हुनेमा हामी आशावादी छौं ।’ उनका अनुसार वर्षौंदेखि स्तरोन्नति हुन नसकेका सडकलाई सुधार गरी नागरिकको आवागमन सहज, सुरक्षित र भरपर्दो बनाउने लक्ष्यका साथ काम भइरहेको छ । विशेषगरी कर्णाली राजमार्गलाई सुरक्षित मार्ग बनाउन राज्य गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।
सडक डिभिजन जुम्लाका सूचना अधिकारी सौरभकुमार सिंहका अनुसार झन्डै २२ करोड रुपैयाँ लागतमा सातवटा सडक आयोजनाको स्तरोन्नति तथा कालोपत्रे गरिनेछ । तीमध्ये दुईवटा सडक कालोपत्रे गरिनेछन् भने अन्य पाँचवटा सडकको स्तरोन्नति हुनेछ । एउटा सडक आयोजनामा न्यूनतम २ करोडदेखि अधिकतम ३ करोड ५० लाख रुपैयाँसम्म बजेट विनियोजन गरिएको छ । मुगुको रारा जोड्ने सडकको स्तरोन्नतिसँगै कालोपत्रे गरिनेछ । साथै सुर्खेत–दैलेख–महावुलेक–गाल्जे–नाग्म–गमगढी–नाक्चेलाग्ना सडकअन्तर्गत १५ किलोमिटर सडक कालोपत्रे गरिनेछ ।
त्यसैगरी, कर्णाली राजमार्गको त्रिवेणी हुँदै टोप्ला जोड्ने सडकको पनि स्तरोन्नति गरिनेछ । उक्त सडक जुम्लालाई जाजरकोट हुँदै सुर्खेतसँग जोड्ने सबैभन्दा छोटो मार्ग हो । सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि भेरीखोला क्षेत्रको आर्थिक गतिविधि बढ्नुका साथै स्थानीयको जीवनस्तर उकास्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसैगरी जुम्ला–खलंगा–खाली–भुलभुल–ताल्चा–मुगु सडक, मनाङ–मुस्ताङ–डोल्पा हुँदै जुम्ला जोड्ने सडक, कर्णाली राजमार्गअन्तर्गत कालिकोटको मान्मदेखि जुम्लाको सीमावर्ती क्षेत्र नाग्म बजारसम्मको खण्ड तथा नाग्म–जुम्ला सडकखण्डका विभिन्न भाग गरी जम्मा सात वटा सडक आयोजनाको स्तरोन्नति गरिने भएको छ ।
काम नगर्ने निर्माण व्यवसायीविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुँदै आएको सडक डिभिजन जुम्लाले अब निर्माण हुने सबै सडक पूर्वाधार गुणस्तरीय र निर्धारित समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएको छ । डिभिजन प्रमुखका रूपमा श्रवणकुमार महतारा आएपछि वर्षौं पुराना अलपत्र ठेक्का तोड्ने, समयमै ठेक्का आह्वान गर्ने तथा राम्रो काम गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यलाई प्राथमिकता दिइएको छ । जुम्ला, मुगु र कालिकोटका गाउँगाउँमा सडक पुगे पनि स्तरोन्नति नहुँदा नागरिकले सहज यातायात सेवा पाउन सकेका छैनन् । गाउँमा उत्पादित वस्तुले समेत सहज रूपमा बजार पाउन सकेको छैन । साथै वर्षायाममा जुम्लाबाट देशभर निर्यात हुने स्याउसमेत सहज रूपमा बजारसम्म पुर्याउन कठिनाइ हुने गरेको छ ।




