अपक्व स्याउ निकासीमा कडाइ : जुम्लाबाट लैजान लागिएको १८० कार्टुन स्याउ प्रहरीको निगरानीमा

जुम्लामा यस वर्ष काँचो स्याउको निकासी रोक्न सम्बन्धित निकायले निगरानी कडा बनाएको छ। सोही क्रममा सुर्खेत र नेपालगञ्जतर्फ ढुवानी हुँदै गरेका १८० कार्टुन स्याउलाई रारा प्रहरी चौकीले रोकेर कृषि प्राविधिकमार्फत गुणस्तर परीक्षण गराएको हो।


परीक्षणपछि अधिकांश स्याउ बजारका लागि उपयुक्त रहेको निष्कर्ष निकालिएको छ। कृषि विकास कार्यालयका अनुसार करिब १५० कार्टुन स्याउमा आवश्यक मापदण्डभन्दा बढी गुलियोपना भेटिएकाले ती स्याउ निकासी गर्न अनुमति दिइएको छ।


यद्यपि केही रेड डेलिसियस र रोयल डेलिसियस जातका स्याउ भने पूर्ण रूपमा नपाकेको पाइएको छ। ९ कार्टुन स्याउमा आवश्यकभन्दा कम गुलियोपना देखिएकाले ती स्याउ तत्काल बजार पठाउन रोक लगाएर परिपक्व नभएसम्म भण्डारणमा राखिने निर्णय गरिएको छ।


अनुगमनका क्रममा ढुवानी गरिएको स्याउको परिमाण र कागजी विवरण नमिलेको पनि भेटिएको छ। १८० कार्टुन स्याउका लागि ६० र ४० कार्टुनको मात्र अभिलेख रहेको पाइएपछि निकासी व्यवस्थापन प्रक्रियामाथि प्रश्न उठेको छ।


कृषि विकास कार्यालयले अबदेखि प्राविधिक परीक्षणलाई थप प्रभावकारी बनाउँदै कृषि प्राविधिकको प्रमाणीकरणबिना स्याउ निकासी हुन नदिने जनाएको छ। साथै स्थानीय तहलाई वास्तविक उत्पादन र निकासी विवरणका आधारमा मात्र आधिकारिक प्रमाणिकरण प्रक्रिया पूरा गरेर कागजात जारी गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८३ साउन १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस