जुम्ला — जुम्लाको तिला गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि स्याउ उत्पादन, टिपाइ, ढुवानी तथा निकासीलाई व्यवस्थित बनाउन महत्वपूर्ण निर्णय गरेको छ। गाउँपालिकाले स्याउ समयभन्दा अगाडि टिप्ने कार्य रोक्न, गुणस्तरीय स्याउ मात्रै बजार तथा बाहिरी जिल्लामा पठाउने वातावरण बनाउन र स्थानीय राजस्व व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले स्याउ टिप्ने समय निर्धारणसँगै ढुवानी तथा सिफारिससम्बन्धी निर्णय सार्वजनिक गरेको हो।
गाउँपालिकाको बैठकले दुईवटा प्रस्तावमाथि विस्तृत छलफल गरी स्याउ टिप्ने समय निर्धारण तथा स्याउ ढुवानीको सिफारिस र राजस्व संकलनसम्बन्धी निर्णय गरेको जनाएको छ।
निर्णयअनुसार वडा नं. १, २, ३ र ४ अन्तर्गतका तल्लो भू–भागमा रहेका स्याउ बगैँचाका किसानले २०८३ साल भदौ पहिलो हप्ताको ५ गतेदेखि स्याउ टिप्न पाउनेछन्। यस्तै वडा नं. ५, ६, ७, ८ र ९ का बस्तीमा रहेका किसानले भने भदौ दोस्रो हप्तादेखि मात्रै स्याउ टिप्न पाउने व्यवस्था गरिएको छ।
गाउँपालिकाले भौगोलिक अवस्था, उचाइ, तापक्रम तथा स्याउ पाक्ने समय फरक हुने भएकाले सबै वडाका लागि एउटै मिति उपयुक्त नहुने निष्कर्षसहित फरक–फरक समय निर्धारण गरेको जनाएको छ। यसअघि समयभन्दा अगाडि काँचो स्याउ टिपेर बिक्री गर्दा जुम्लाली स्याउको गुणस्तरमा प्रश्न उठ्ने गरेको भन्दै यस वर्ष त्यसलाई नियन्त्रण गर्न विशेष ध्यान दिइएको गाउँपालिकाको भनाइ छ।
निर्णयको दोस्रो बुँदाअनुसार कृषि विकास कार्यालय जुम्ला तथा सरोकारवाला निकायको २०८३ साल साउन १८ गतेको निर्णय नं. २ लाई आधार मानेर अब स्याउ निर्यात गर्दा गुलियोपनाको प्रमाणिकरण अनिवार्य गरिएको छ। सम्बन्धित पालिकाको कृषि विकास शाखाअन्तर्गत कार्यरत कृषि प्राविधिकले स्याउको अवस्था परीक्षण गरी सिफारिस गरेपछि मात्रै निर्यात गर्न सकिने व्यवस्था गरिएको छ।
यस व्यवस्थाले बजारमा गुणस्तरीय तथा परिपक्व स्याउ मात्र पुग्ने, जुम्लाली स्याउको पहिचान संरक्षण हुने तथा उपभोक्ताको विश्वास बढ्ने अपेक्षा गरिएको छ। कृषि प्राविधिकबाट हुने परीक्षणले स्याउको गुणस्तर सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास गाउँपालिकाले लिएको छ।
त्यसैगरी, तिला गाउँपालिकाले आफ्नो आर्थिक ऐन २०८३ अनुसार गाउँपालिकाबाट स्याउ निकासी तथा ढुवानी गर्दा प्रति किलोग्राम १ रुपैयाँ का दरले राजस्व संकलन गर्ने निर्णय पनि गरेको छ। संकलित राजस्व स्थानीय सरकारको आय अभिवृद्धि तथा कृषि पूर्वाधार विकास, सेवा प्रवाह र व्यवस्थापनमा उपयोग गरिने अपेक्षा गरिएको छ।
तिला गाउँपालिका कृषि विकास शाखाका प्रमुख राजेश विश्वकर्माले जुम्लाको अर्गानिक स्याउलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन प्रभावकारी नियमन आवश्यक रहेको बताएका छन्।
उनका अनुसार स्याउको गुणस्तर कायम राख्न कृषि शाखाबाट परिपक्वता (म्याचुरिटी) परीक्षण गरी मात्र सिफारिस गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेछ। यसरी परीक्षणपछि मात्र निर्यातका लागि सिफारिस गर्दा जुम्लाको अर्गानिक स्याउले विश्व बजारमा सहज रूपमा प्रतिस्पर्धा गर्न सक्ने, उपभोक्ताको विश्वास बढ्ने र जुम्लाली स्याउको पहिचान तथा मूल्यसमेत संरक्षण हुने उनको भनाइ छ।
जुम्ला नेपालको प्रमुख स्याउ उत्पादन क्षेत्रमध्ये एक मानिन्छ। यहाँ उत्पादन हुने स्याउ देशका विभिन्न जिल्लामा पुग्ने भएकाले गुणस्तर कायम राख्नु अत्यन्तै महत्वपूर्ण मानिन्छ। पछिल्ला वर्षहरूमा काँचो स्याउ समयभन्दा अगाडि बजारमा पुग्दा किसानले उचित मूल्य नपाउने, उपभोक्ताले गुणस्तरहीन स्याउ पाउने तथा जुम्लाली स्याउको छवि प्रभावित हुने समस्या देखिँदै आएको थियो।
यही अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय जुम्ला, कृषि विकास कार्यालय, स्थानीय तह तथा अन्य सरोकारवाला निकायले हरेक वर्ष स्याउ टिप्ने समय निर्धारण गर्दै आएका छन्। तिला गाउँपालिकाको पछिल्लो निर्णय पनि सोही अभियानअन्तर्गत आएको हो।
गाउँपालिकाले किसान, व्यापारी, ढुवानी व्यवसायी तथा सम्बन्धित सबै सरोकारवालालाई निर्णयको पूर्ण पालना गर्न आग्रह गरेको छ। तोकिएको समयभन्दा अगाडि स्याउ नटिप्न, कृषि प्राविधिकको सिफारिसपछि मात्रै निर्यात गर्न तथा राजस्वसम्बन्धी व्यवस्था पालना गर्न गाउँपालिकाले अनुरोध गरेको छ




