जुम्ला । तातोपानी गाउँपालिका वडा नंं. ७ र ८ का बस्तीलाई यातायातमा जोड्ने एकमात्र माध्यम त्रिवेणी–टोप्ला सडकको स्तरोन्नति गर्न सडक डिभिजन जुम्लाको ध्यानर्कषण गराइएको छ । सडक संचालनमा आएको वर्षौै समय बितेपनि स्तरोन्नतिमा राज्यले लापरबाही गरेका कारण वर्खाको समयमा भेरीखोलाबीले सास्ती खेप्दै आएकाले तातोपानी गाउँपालिका स्तरीय नागरिक समाज संजालले सडक स्तरोन्नति गर्न ध्यानर्कषण गराएको हो ।
त्रिवेणी–टोप्ला सडक खण्ड वर्षौदेखी हिलाम्मे र धुलाम्मे हुँदा स्थानीयले सास्ती पाउदै आएका छन् । हरेक वर्ष वर्खा सुरु भएकी उक्त सडक हप्तौ सम्म बन्द हुने, पहिरो पन्छाउन सडक डिभिजनले चासो नदिने स्थानीयको गुनासो छ । यसपाली वर्षा पछि आएको पहिरोले त्रिवेणी–टोप्ला सडक एक साता अबरुद्ध हुँदा स्थानीयको आवतजावतनै ठप्प भयो । महिला, बालबालिका, जेष्ठनागरिक सडक अबरुद्ध हुँदा प्रभावित भए । दैनिक उपभोग्य वस्तुको ढुवानी समेत नहुँदा स्थानीय समस्या भोग्नु परेको तातोपानी ८ का स्थानीय सन्देश शाहीले बताए ।
एक साता बढी समय अबरुद्ध हुँदा जिल्ला प्रशासन र तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईबीच भएको छलफलपछि सडक आशिंक खुल्यो । तर अत्यधिक हिलोका कारण सवारी फस्ने गाडीने भएपछि स्थानीयले सास्ती पाएको स्थानीय हेमन्त शाहीले बताए । आफै बिल्छाले हिलो पन्छाएर हिड्नु पर्ने बाध्यता रहेको उनको भनाई छ ।
करिब दुई हप्तादेखी भेरीखोलाबासीले सास्ती पाएको र सडक सुधारमा सडक डिभिजनले चासो नदेखाएपछि बुधबार तातोपानीको नागरिक समाजले कार्यालयमा ध्यानर्कषण बुझाएको हो ।
तातोपानी गाउँपालिका स्तरीय नागरिक समाजका संयोजक सागर परियारले ध्यानर्कषण बुझाएका हुन् । भेरीखोला क्षेत्र समृद्वीको मेरुदण्ड मानिने त्रिवेणी–टोप्ला सडकको दुरावस्थाले समग्र राज्य, प्रत्यक्ष काम गर्ने निकाय सडक डिभिजन जुम्लाको भूमिका प्रति गम्भीर प्रश्न खडा भएकाले तत्काल स्तरोन्नतिको काम गर्न संयोजक परियारले अनुरोध गरे ।
त्रिवेणी–टोप्ला सडक खण्ड संचालनमा आएको वर्षौ बितिसक्दा पनि हाल सम्म सडकको स्तरोन्नतिमा सडक डिभिजनले चासो नदेखाएको स्थानीयको गम्भीर आपत्ती छ । भने हरेक वर्ष वर्खा सुरु भएकी पहिरो खस्ने, आवत जावतनै बन्द हुने, दैनिक उपभोग्य सामग्री ढुवानी प्रभावित हुनुका साथै बालबालिका, महिला, जेष्ठनागरिकहरु समेत सडक अबरुद्व हुँदा धेरै हिसाबले प्रभावित हुदै आएका छन् ।
भेरीखोलाबासीको जनजीवनसंग जोडिएको त्रिवेणी–टोप्ला सडकको यात्रालाई सहज र भरपर्दो बनाउन आबश्यक जनशक्ति तथा उपकरण सहित उक्त सडक खण्डमा तैथान राख्न, तथा स्तरोन्नतिको कामलाई समेत तिब्रता दिन समेत अनुरोध गरिएको छ
सडक डिभिजनका निमित्त प्रमुखले उक्त सडक स्तरोन्नतिका लागि मन्त्रालय र विभागमा ध्यानर्कषण पत्र पठाउने बताए ।
सिमित स्रोत साधनका कारण अपेक्षाकृत काम नभएको भन्दै चालु आवसमा स्रोत जुटेमा सुधारको काम हुने उनको भनाई छ ।
यता तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले त्रिवेणी–टोप्ला सडक पालिकाको क्षेत्राधिकारमा नपर्ने भएकाले सुधारका लागि सडक डिभिजनसंग निरन्तर पहल भईरहेको बताए ।




