अल्का साँघु मोटरेबल पुल संचालन, स्थानीयवासी खुसी

मुगु । मुगुको गमगढी–नाक्चेलाग्ना सडकखण्डअन्तर्गत रहेको छायाँनाथ रारा नगरपालिका १ अल्का साँघु मोटरेबल पुल १८ महिनापछि सूचारु भएको छ । निर्माण सम्पन्न भएर लामो समयदेखि प्रयोगविहीन रहेको पुल जग्गा मुआब्जा विवाद समाधान भएपछि सञ्चालनमा आएको हो ।

पुल सूचारु भएसँगै छायाँनाथ रारा नगरपालिका तथा मुगुम कार्मारोङ गाउँपालिकाका हजारौँ स्थानीयवासीलाई आवतजावतमा ठूलो राहत पुगेको छ । डिभिजन सडक कार्यालय, जुम्लाले करिब ८ करोड रुपैयाँको लागतमा निर्माण गरेको उक्त पुल निर्माण सम्पन्न भए पनि जग्गा मुआब्जा विवादका कारण सञ्चालनमा आउन सकेको थिएन ।

पुलको पहुँचमार्ग पर्ने जग्गाको मुआब्जा नपाएको भन्दै जग्गाधनी धनबहादुर मल्लले आपत्ति जनाएपछि पुल प्रयोगमा रोक लागेको थियो । यसले करिब १८ महिनासम्म पुल सञ्चालन हुन सकेन । विवाद समाधानका लागि पटक–पटक छलफल भए पनि निष्कर्ष ननिस्किँदा स्थानीयले वर्षायाममा जोखिमपूर्ण रूपमा खोला तर्न बाध्य हुनुपरेको थियो ।

पुल बन्द हुँदा छायाँनाथ रारा नगरपालिका–१०, ११ र १२ का बासिन्दा तथा मुगुम कार्मारोङ गाउँपालिकातर्फ जाने सर्वसाधारण, कर्मचारी, विद्यार्थी, बिरामी र व्यापारी सबै प्रभावित बनेका थिए। वर्षा लागेपछि खोला बढ्ने भएकाले आवतजावत झन् जोखिमपूर्ण हुने गरेको थियो ।

छायाँनाथ रारा नगरपालिकाले मुआब्जा व्यवस्थापनका लागि पहल गरेपछि विवाद समाधानतर्फ पुगेको हो । नगरपालिकाले जग्गा मुआब्जा उपलब्ध गराउने सहमति गरेपछि जग्गाधनी धनबहादुर मल्लले पनि पुल सञ्चालनमा सहयोग गर्ने सहमति जनाए । सहमतिपछि बुधबार नगरप्रमुख विष्णुकुमार भामको नेतृत्वमा अल्का साँघु क्षेत्रमा डोजर परिचालन गरी सडकमा थुप्रिएको पहिरो, ढुंगा र माटो हटाउने तथा पुल जोड्ने पहुँचमार्ग खुलाउने काम सम्पन्न गरिएको थियो । त्यसपछि मोटरेबल पुलबाट सवारी साधन सञ्चालन सुरु भएको हो ।

पुल सुचारु भएसँगै गमगढीदेखि मुगुम कार्मारोङ गाउँपालिकासम्मको सडक सञ्जाल सहज बनेको छ । यो पुल हुँदै दैनिक रूपमा खाद्यान्न, निर्माण सामग्री, औषधि तथा अन्य अत्यावश्यक सामग्री ढुवानी गर्न सहज हुने अपेक्षा गरिएको छ ।
स्थानीय उत्पादन बजारसम्म पु¥याउन, सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा आपत्कालीन अवस्थामा बिरामी ओसारपसार गर्न पनि पुल सञ्चालनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

नगरप्रमुख भामले स्थानीयको लामो समयदेखिको समस्या समाधान गर्न नगरपालिकाले आवश्यक समन्वय र पहल गरेको बताउँदै अब पुल सञ्चालनसँगै नागरिकले सुरक्षित र सहज रूपमा यात्रा गर्न सक्ने बताए । जग्गाधनी धनबहादुर मल्लले पनि सहमतिपछि पुल सञ्चालनमा कुनै अवरोध नगर्ने र विकास निर्माणका काममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
लामो समयदेखि प्रतीक्षामा रहेको अल्का साँघु मोटरेबल पुल सूचारु भएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । उनीहरूले अब वर्षायाममा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यताको अन्त्य भएको र विकास निर्माणका पूर्वाधारले वास्तविक रूपमा जनतालाई सेवा दिन थालेको बताएका छन् ।

प्रकाशित मिति : २०८३ साउन २० गते बुधवार
प्रतिक्रिया दिनुहोस