रसुवा भिषण बाढी: धन्य भगवान, पाँच मिनेटले बच्यो ज्यान ! यस्तो थियो कारण 

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका वडा न ९ घर भई हाल गल्छी गाउँपालिकामा कार्यरत म, प्रमोद उपाध्याय २०८३ साल भदौ १० गते ७ बजे गोसाइँकुण्ड यात्रामा निस्कँदा जीवनकै सबैभन्दा भयावह क्षणको सामना गर्नुपर्‍यो।

त्यो दिनको घटना सम्झँदा आज पनि मुटु काँप्छ। केही क्षणअघिसम्म सामान्य यात्राजस्तो लागिरहेको बाटो अचानक त्रास, अन्योल र मृत्युको नजिक पुगेको अनुभूतिले भरियो। आँखाअगाडि घटिरहेको घटनाले शरीर शिथिल बनायो, मनमा अनेक प्रश्न उठे र जीवनका सबै सम्झनाहरू एकैपटक आँखाअगाडि झल्किए।

तर नियतिले मलाई अर्को अवसर दिएको रहेछ। केवल पाँच मिनेटको फरकले आज म जीवित छु। पाँच मिनेट अगाडि वा पछाडि भएको भए सायद परिणाम अर्कै हुन सक्थ्यो। त्यो पाँच मिनेट मेरो जीवन र मृत्युबीचको दूरी बन्यो—र भगवानले मलाई जीवन रोज्ने अवसर दिनुभयो।

हामी बच्नुको कारण थियो- हामीले बस चालकलाई आग्रह गरेका थियौँ—“गुरुजी, खाना खाएर मात्रै जानुपर्‍यो” भनेर । हाम्रो आग्रह गुरुजीले सहजै मान्नुभयो । हामी खान खानका लागि बस पार्किङ गरेर होटल तिर लाग्यौ । बसबाट ओर्लेको त्यही पाँच मिनेट मै बिनासकारी बाढी आयो । आँखै अगाडी रोकिएको बस बाढीमा बग्यो। खाना खानका लागि रोकिएको समय नै हाम्रो बाँच्ने आधार बन्यो ।

त्यस घटनापछि हरेक सास पहिलेभन्दा गहिरो महसुस हुन्छ। हरेक बिहान आँखा खुल्दा भगवानलाई धन्यवाद दिन्छु। जीवन कति अनिश्चित र अमूल्य रहेछ भन्ने कुरा आफ्नै अनुभवबाट बुझ्न पाएँ। हामी भविष्यका लागि अनेक योजना बनाउँछौँ, तर कहिलेकाहीँ केही मिनेटले नै सम्पूर्ण जीवनको दिशा बदलिदिन्छ।

आज मनदेखि एउटै कुरा भन्न चाहन्छु—धन्य भगवान्! पाँच मिनेटले ज्यान बच्यो।

कठिन समयमा साथ, सहयोग, हौसला र शुभेच्छा दिने सबैप्रति हार्दिक आभार। तपाईंहरूको माया र प्रार्थनाले त्यो कठिन क्षण पार गर्न ठूलो शक्ति दियो।

अब जीवनका हरेक पललाई अझ बढी सम्मान गर्नेछु। हरेक भेट, हरेक यात्रा र हरेक सासलाई भगवान्को अमूल्य उपहार सम्झनेछु।

बाँच्नु आफैँमा ठूलो सौभाग्य रहेछ। जीवन पाउनु भगवानको सबैभन्दा ठूलो कृपा रहेछ। धन्य भगवान्, पाँच मिनेटले ज्यान बच्यो । बाँच्नु आफैँमा ठूलो सौभाग्य रहेछ।

जीवन पाउनु भगवानको सबैभन्दा ठूलो कृपा रहेछ ।

साथै, यस विपद्को घडीमा हाम्रो जुम्लाका केही मानिसहरू पनि बेपत्ता हुनुभएको खबरले सबैलाई अत्यन्त दुःखी बनाएको छ। उहाँहरू जहाँ हुनुहुन्छ, सुरक्षित हुनुहुन्छ भन्ने आशा राख्दै, छिटोभन्दा छिटो उहाँहरूको सुखद तथा कुशल समाचार सुन्न पाइयोस् भन्ने हार्दिक कामना गर्दछु।

प्रकाशित मिति : २०८३ भाद्र १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस