जुम्ला । जुम्लामा जिल्ला भलिबल संघको नयाँ कार्यसमिति गठन गरिएको छ। खेलकुद क्षेत्रमा लामो अनुभव र भलिबल खेलमा महत्वपूर्ण समय बिताएका धिरेन्द्रबहादुर रोकायाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो।
भलिबल संघको उपाध्यक्षमा नारायणदत्त हमाल र हरिलाल महत, सचिवमा उपेन्द्रप्रसाद न्यौपाने तथा कोषाध्यक्षमा दानबहादुर बुढा चयन भएका छन्।
त्यस्तै भलिबल संघको सदस्यहरूमा लक्ष्मीबहादुर रावत, बबी लामा केसी, सन्देश शाही, दत्तराज रावत, श्रीकृष्ण भण्डारी, तेजबहादुर भण्डारी, शक्ति बुढा र नरेन्द्र शाही रहेका छन्।
खेलकुद क्षेत्रमा लामो अनुभव हासिल गरेका तथा आफ्नो ऊर्जाशील समय भलिबल खेलको विकासमा खर्चिएका रोकायाले संघको नेतृत्व सम्हालेका छन्। उनको अनुभव, सक्रियता र नेतृत्वदायी भूमिकाले जुम्लाको भलिबल खेलको विकासमा थप गति ल्याउने अपेक्षा गरिएको छ।
जिल्लामा भलिबल खेलप्रति युवापुस्ताको आकर्षण बढाउँदै खेलाडीको क्षमता अभिवृद्धि, नियमित प्रतियोगिता सञ्चालन तथा खेलकुद गतिविधिलाई थप व्यवस्थित बनाउन नयाँ कार्यसमितिले भूमिका खेल्ने विश्वास गरिएको छ।
भलिबल खेलको विकासका लागि आवश्यक योजना, खेलाडीको प्रोत्साहन र स्थानीय तहसँगको समन्वयलाई प्राथमिकतामा राख्न सके जिल्लाबाट उत्कृष्ट खेलाडी उत्पादन गर्ने आधार थप बलियो बन्न सक्ने देखिन्छ।




