घनाजंगलको झाडीमा अड्किएका थिए जोन, उद्दारकर्ता देखेपछी रोए

माघ १८, काठमाडौं । हाइकिङका लागि फूलचोकी पुगेका जोन तामाङलाई ६ दिन पछी जिवितै उद्दार गरिएको छ । हाइकिङ पुगेर घर फर्किने क्रममा उनि जंगलबाटै बेपत्ता भएका थिए ।

रेस्क्यु एसोसिएसन, र्याफ्टिङ एसोसिएसनका साथै स्थानीय सुन्दर सिंह लामा, विनोद आचार्य, अनिल खत्रीसहितको १९ जनाको टोली बुधबार सुरुमै फुलचोकीको टुप्पामा पुगेको थियो । त्यसपछि त्यहाँबाट तल झर्यो ।

खोजीको क्रममा लाकुरी भञ्ज्याङ जाने बाटोबाट उद्दारकर्ताहरु दायाँतर्फ लागेका थिए । रामकाजी तिवारी र चन्द्र आलेले बाटो छाडेर केहि तलतिर खोज्दै थिए ।

देख्दैमा डर लाग्दो ठाउँमा खोज्ने क्रममा करिब पौने ५ बजेतिर एउटा झोला भेटिएको थियो । झोलाकै आधारमा लडेको रुखको चेपमा एउटा मान्छे घोप्टो अवस्थामा देखियो ।

घोप्टो अवस्थामा टोपी स्पष्ट देखियो । जुन टोपी जोनको फोटोसँग मिल्दो थियो । तब जोननै हुन् भन्ने एकिन भयो र उद्दारकर्ताले उनलाई उनकै नामले बोलाए तब उनले हेरे र रुन थाले ।

त्यतिकैमा उद्दारकर्ताहरुले उनलाई ‘तिम्रो नाम जोन हो भनेर सोध्दा उनले ‘हो’ भन्ने प्रतिकृया दिँदै टाउको हल्लाएर रोएका थिए । अनि उद्दारकर्ताले दिएको पानी र विस्कुट खाए । उद्दारकर्ताले जोनलाई उद्दार गर्ने क्रममा निकै सांस्ती झेल्नुपरेको थियो । त्यहाँ बाघको पाइला पनि देखेको उद्दारकर्ता बताउँछन् ।

उद्दारपछी राती सवा आठ बजे जोनलाई गोदावरीमा ल्याइयो । उनलाई रामकाजी तिवारी र चन्द्र आलेले बोकेर गोदावरी झारेका थिए ।

उद्दारपछि अहिले उनको बी एण्ड बी अस्पतालको आईसीयूमा उपचाररत छन् । उनि सामान्य बोल्न सक्छन् । उनलाई उद्दार गरि सकुसल अस्पताल ल्याइएको खबर पाए पछी उनको परिवार अस्पताल पुगेको छ ।

प्रकाशित मिति : २०७४ माघ १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस