सागर परियार
जुम्ला ः चन्दननाथ नगरपालिका–३ का रामकृष्ण बुढ्थापा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय उपाध्यक्षसमेत भइसकेका व्यक्ति हुन् । उनले तीन दशक राजनीतिमै बिताए । पछिल्लो समय उनी नयाँ शक्ति पार्टीको जिल्ला संयोजक भएर एक वर्ष काम गरे । राजनीतिबाट मात्र मुलुक परिवर्तन गर्न सम्भव नहुने ठहर गर्दै रामकृष्णले कृषि पेशालाई पनि सँगै अघि बढाए । कृषिबाट मात्रै समृद्धि हासिल गर्न सकिने भन्ने अठोटका साथ उनले मौरीपालन व्यवसाय गरिरहेका छन् । कर्णालीमा मौरीपालनको सम्भावना बढी भएकाले उनी राजनीति छाडेर सोही व्यवसायमा लागेका हुन् ।
“नेपालमा राजनीति गर्नुभन्दा कृषिबाटै समाजलाई ठूलोे राहत दिन सकिन्छ,” उनले भने, अहिले २० वटाभन्दा बढी मौरीका घार राखेर मह उत्पादन गरिरहेको छु ।” उनले यस वर्ष मात्रै मह बिक्रीबाट २० लाख रूपैयाँभन्दा बढी आम्दानी गरेका छन् । उनले उत्पादन गरेको मह निकै उत्कृष्ट मानिएको छ । “मौरीपालनलाई व्यावसायिकता दिए महबाटै करोडौंको कारोबार गर्न सकिन्छ,” उनले भने । बुढ्थापाले अहिले पाँच जनालाई रोजगारीसमेत दिएका छन् ।
यसैगरी सरोज शाही जुम्लाका फोटो पत्रकार हुन् । कान्जिरोवा टाईम्स मासिकका सम्पादक रहेका उनले पत्रकारितामा डेढ दशक बिताएका छन् । तर अहिले उनको मोह मौरीपालनतर्फ देखिएको छ । शाही पत्रकारितासँगै मौरीपालनमा लागेपछि धेरैलाई प्रेरणा पनि मिलेको छ । जुम्लामा मौरीपालनको बढ्दो सम्भावनालाई मध्यजनर गर्दै उनले मौरीपालन शुरु गरेका हुन् ।
यस वर्ष मह बिक्रीबाट उनले झन्डै ३ लाख रूपैयाँ कमाएका छन् । उनले सबै युवालाई वैकल्पिक व्यवसायको रूपमा कृषिलाई अपनाउन सुझाव दिने गरेका छन् । त्यसमध्ये मौरीपालन उपयुक्त हुनसक्ने उनको भनाइ छ ।
मौरीपालक कृषक सम्मानित
यस वर्षको राष्ट्रिय उत्कृष्ठ मौरीपालक कृषक पुरस्कारबाट जुम्लाका मौरीपालक कृषक रामकृष्ण बुढ्थापा सम्मानित भएका छन् । गत असोज ३० गते विश्व खाद्य दिवसका अवसरमा सरकारले बुढ्थापालाई राष्ट्रिय उत्कृष्ठ मौरीपालक कृषक पुरस्कारबाट सम्मानित गरेको हो ।
जिल्ला कृषि विकास कार्यालय जुम्ला तथा राष्ट्रिय मौरीपालन विकास कार्यक्रम गोदावरी ललितपुर र व्यावसायिक किट विकास निर्देशनालय काठमाडौंको सिफारिसमा बुढ्थापालाई सम्मान गरिएको कृषि विकास कार्यालयका जुम्लाका प्रमुख भरतप्रसाद कँडेलले बताए । त्यतिबेला देशभरी अन्य ५ जना मौरीपालन कृषकसमेत सम्मानित भएका थिए ।
जुम्लालाई मौरी पर्यटनका रूपमा विकास गरिँदै
जुम्लालाई मौरी पर्यटनका रूपमा विकास गर्न कर्णाली मौरीपालन सहकारी संस्थाले ठोस योजना बनाउने भएको छ । जुम्लामा मौरीपालनको सम्भावना प्रचुर भएकाले यसको व्यावसायीकतासँगै आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि हुने र मौरीपालक व्यवसायीले राम्रो आयआर्जन गर्न ठोस योजना बनाउने तयारी भइरहेको छ ।
बजेट अभावका कारण जुम्लामा मौरी चरनखर्क व्यवस्थापनमा केही ढिलाई भए पनि चाँडै व्यवस्थापन गरिने संस्थाका अध्यक्ष शिवलाल डाँगीले बताए । जुम्ला कृषि उपज उत्पादनका हिसाबले निकै राम्रो मानिए पनि त्यसको बजारीकरण र आर्थिक विकासमा आएको समस्यालाई हल गर्न मौरी पर्यटनका रूपमा विकास गर्न ठोस योजना चाहिने उनको भनाई छ ।
“अग्र्या्निक महको विकास गर्न मौरी पालनमा बढावा दिन थालिएको छ,” उनले भने, “जिल्लाभरिका मौरीका घारको तथ्यांक संकलन गर्ने तयारीमा जुटेका छौं ।” जुम्लाका एक नगरपालिका र सात गाउँपालिकामा जहाँसुकै मौरी पाइने भएकाले यो व्यवसाय गर्न वातावरण अनुकूल रहेको उनको भनाइ छ । गत वर्ष जुम्लाबाट ४ करोड रूपैयाँ बराबरको मह उत्पादन भएको सहकारी संस्थाले जनाएको छ ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाले गतवर्ष जिल्लामा साढे ४ सय टन मह उत्पादन भएको जनाएको छ । तर यस वर्ष यस २० प्रतिशतले मह उत्पादनमा कम आएको कृषि कार्यालयका सूचना अधिकारी बालकराम देवकोटाले बताए । असोजमा फूल फूल्ने बेला परेको वर्षातका कारण गत वर्षभन्दा २० प्रतिशतले उत्पादनमा कमी आएको हो । जुम्लाको मह अग्र्या्निक हुने भएकाले यसको माग बढ्दो छ ।
राजनीतिज्ञ देखि पत्रकारसम्म मौरीपालन व्यवसायमा
प्रकाशित मिति : २०७४ माघ १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस