जुम्ला — जुम्लामा सरकारी मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ। दुर्घटनामा चन्दननाथ नगरपालिका–७ महतगाउँका ४२ वर्षीय हेमबहादुर महतको मृत्यु भएको हो।
शुक्रबार साँझ करिब ६ बजे चन्दननाथ नगरपालिका–६ महतगाउँस्थित सडकमा जुम्ला बजारबाट तातोपानीतर्फ जाँदै गरेको क १ ब २७३ नम्बरको सरकारी मोटरसाइकलले पैदल हिँडिरहेका महतलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका महतलाई तत्काल उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्याइएको थियो। तर, उपचारकै क्रममा साँझ ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनापछि मोटरसाइकल चालक घटनास्थलबाट फरार भएका छन्। प्रहरीले फरार चालकको खोजी गरिरहेको छ भने ठक्कर दिने सरकारी मोटरसाइकल जिल्ला प्रहरी कार्यालय जुम्लाको नियन्त्रणमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालले जानकारी दिए।




