ओली प्रधानमन्त्रीसहित सेरेमोनियल अध्यक्ष, प्रचण्ड अधिकारसम्पन्न अध्यक्ष

काठमाडौँ ः एमाले र माओवादीबीच हुने भनिएको पार्टी एकतको चरण(चरणमा आज वार्ता, सम्वाद र छलफल भयो । सुरुमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच विहान करिब ११ बजे ‘वान टु वान’ वार्ता भएको थियो । आज दिनभरको वार्ता ललितपुरस्थित एक उद्योगी शरदप्रसाद अधिकारीको घरमा बैठक बस्यो ।

दुवै नेताले पार्टी एकताका आधारभूत मोडल र सरकार गठनबारे खाका तयार पारे । सो खाका बोकेर दुई नेता पार्टीको आन्तरिक छलफलमा व्यस्त रहे । ओलीले आकस्मिकरुपमा सोही निवासमा पार्टी स्थायी समितिको बैठक बोलाएर व्रिफिङ गरे भने प्रचण्डले आफ्नो निवास खुमलटारमा पार्टीका नेताहरुलाई थाहा दिए । दुवै नेता पुनः ३ बजेतिर वान टु वान वार्तामा रहे र सो खाकामा सहमति कायम गरी पार्टी एकता संयोजन समितिको बैठक डाके ।

अहिले सोही खाकाबारे बेठकमा छलफल चलिरहेको छ । बैठकले एकताको अन्तिम खाका तयार पार्दैछ ।
यसरी हुँदै छ माओवादी र एमालेको पार्टी एकतामा सहमति

१ एकीकृत पार्टीमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समान हैसियतमा हुने । प्रचण्ड कार्यकारी अधिकारसहित अध्यक्ष हुने छन् भने ओली प्रधानमन्त्री हुने भएकाले सेरेमोनियल अध्यक्ष रहने छन् ।

२ अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो गर्ने सुरुकै सहमति अनुसार पाँच वर्षे कार्यकालमा दुवै आधा–आधा सयम ( साढे २ वर्ष ओली र साढे २ वर्ष प्रचण्ड) प्रधानमन्त्री हुने छन् ।

३ एकतापछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने

४ एकीकृत पार्टीका राजनीतिक दर्शन माक्र्सवाद र लेनिनवादलाई रहने

५ एकता महाधिवेशनसम्म पार्टीको कार्य्िदशाका विषयमा समाजवाद उन्मुख कार्य्िदशा निर्माण र संगठनात्मक संरचनाबारे गृहकार्य गर्न दुई कार्यदल बनाउने ।

६ दुई अध्यक्षबाहेक बहुपद सृजना नगर्ने । एकसय भन्दा कमको केन्द्रीय समिति बनाउने ।

७ राष्ट्रपति र उपसभामुख एमालेलाई, उपराष्ट्रपति र सभामुख माओवादी केन्द्रलाई ।

यी बुँदालाई विस्तृत रुपमा लिपिबद्ध गर्दै एकताको अन्तिम खाका तयारमा एकता संयोजन समितिमा छलफल भइरहेको छ ।

नयाँ पत्रिकामा खबर छ

प्रकाशित मिति : २०७४ फाल्गुन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस