कांग्रेस नेता खड्काको निधनप्रति दुख ब्यक्त गर्दै, जुम्लामा श्रद्धान्जली कार्यक्रम

नन्दराम जैशी

जुम्ला । नेपाली कांग्रेस जिल्ला कार्यसमिति जुम्लाले कांग्रेस नेता खुमबहादुर खड्काको निधनप्रति दुख ब्यक्त गर्दै श्रद्धान्जली कार्यक्रम गरेको छ । सोमबार दिउसो जिल्ला पार्टी कार्यालय पिपलधारामा श्रद्धान्जलीसभा गर्दै नेता खड्काको निधनप्रति पार्टीले दुख ब्यक्त गरेको हो । यस अवसरमा जिल्ला कार्यसमितिले ५ दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने जनाएको छ, भने पार्टीको झण्डा झुकाएको छ ।

 

पार्टीका युवा नेता लक्ष्मण शाहीका अनुसार श्रद्धान्जली कार्यक्रममा जिल्ला कार्यसमितिका पदाधिकारी, पार्टीका शुभचिन्तक तथा तरुणदल युवाहरुको सहभागिता रहेको थियो । पार्टीले एक बरिष्ठ तथा अनुभवि, मेहनति, लगनशिल तथा जुजारु नेता गुमाएकोमा उनले दुख ब्यक्त गरे ।

खड्काको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा गत शुक्रबार साँझ ५ बजेर १५ मिनेटमा निधन भएको हो । फागुन ४ गते राति ह्रदयघात भएपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना भएका खड्कालाई फागुन ६ गते उपचारका लागि एपोलो लगिएको थियो । सुरुमा अवस्था सामान्य रहे पनि विस्तारै छाती र टाउकोमा समस्या देखिएको थियो भने मृगौलाले काम गर्न छाडेको थियो ।

 

खड्काको ३० महिनाअघि एपोलोमै मृगौला प्रत्यारोपण गरिएको थियो । खड्काको स्वास्थ्य जटिल भएपछि कांग्रेसले रमेश लेखक, शंकर भण्डारी लगायतका नेतालाई स्वास्थ्य अवस्था बुझ्न दिल्ली पठाएको थियो । बिहिबारमात्रै स्वदेश फर्किएका ती नेताले कांग्रेस केन्द्रीय समितिको आजको बैठकमा स्वास्थ्य अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।

प्रकाशित मिति : २०७४ चैत्र १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस